अज्ञात समूहद्वारा गाउँपालिकाको एक्स्काभेटर तोडफोड

बुधबार, ८ कार्तिक, २०८०
डिजिटल संस्करण

अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्स्काभेटर तोडफोड गरेकाे छ । 

डिलाशैनी– ६ को वडा कार्यालयअगाडि राखिएको बा. प्र.०१–००४क १२१६ नम्बरको एक्स्काभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उक्त एक्स्काभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ । ढुंगा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ । 

तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  साथै, घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । (रासस)

सुझावित समाचार