आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराएको छ । भारतको बेंग्लोरमा अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी नौ विकेटको नौक्सानीमा तीन सय ६७ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पाकिस्तानले ४५.३ ओभरमा तीन सय पाँच रन बनाएको थियो ।
पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनरद्वय डेभिड वार्नर र मिचेल मासले शतकीय योगदान दिएका थिए । वार्नरले १२४ बलमा एक सय ६३ रनको योगदान दिए । उनले १४ चौका र नौ छक्का प्रहार गरे ।
मासले १०८ बलमा एक सय २१ रन बनाए । उनले १० चौका र नौ छक्का प्रहार गरे । वार्नर र मासले पहिलो विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका थिए । पाकिस्तानका साहिन साह अफ्रिदीले ५४ रनमा पाँच विकेट लिए ।
प्रत्युत्तरमा पाकिस्तानले उत्कृष्ट सुरुवात गर्यो । ओपनर अब्दुल्लाह साफिक र इमान उलहकले पहिलो विकेटका लागि २१.१ ओभरमा एक सय ३४ रनको साझेदारी गरे । अब्दुल्लाहले ६१ बलमा ६४ रन जोडे । इमानले ७१ बलमा ७० रन जोडे । मोहमद रिजवानले ४० बलमा ४६ रन बनाए ।