केही महिनाअघि भारतको उत्तर प्रदेशकी एक शिक्षिकाले आफ्ना विद्यार्थीलाई एक सात वर्षीय विद्यार्थीलाई पिट्न निर्देशन दिएको भिडियो इन्टरनेटमा सार्वजनिक भएको थियो । बालकले गुणन तालिकामा गल्ती गरे पनि उसको वास्तविक गल्ती ऊ भारतीय मुसलमान हुनु रहेको थियो । भारत कुनैवेला धर्म निरपेक्ष गणतन्त्र हुने गथ्र्यो, तर भारतका वर्तमान प्रधानमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीले भारतको विपरीत काल्पनिकी प्रस्तुत गरिरहेका छन् ।
मोदी भारतलाई हिन्दू राष्ट्र बनाउन चाहन्छन्, जहाँ भारतका धार्मिक अल्पसंख्यक (जनसंख्याको २० प्रतिशत) लाई दोस्रो दर्जाको नागरिकमा झारिएको छ र विशेषतः मुसलमान (जनसंख्याको १४ प्रतिशत हिस्सा) लाई बढ्दो बहुसंख्यकवादी हिंसा स्विकार्न बाध्य बनाइँदै छ । हालैका वर्षमा मोदीको नेतृत्वमा भारतमा भारतीय मुसलमानविरुद्ध हिंसाका घटनामा चिन्ताजनक वृद्धि भएका छन् । विभिन्न मानवअधिकार संगठनले यो बढ्दो हिंसाको निरन्तर अभिलेखीकरण गर्दै आएका छन् । फ्रिडम हाउस र भि–डेमजस्ता अन्तर्राष्ट्रिय समूहले भारतलाई ‘आंशिक स्वतन्त्र’का रूपमा वर्गीकृत गरेका छन् र मानव एवं नागरिक अधिकारमा उल्लेखनीय गिरावटका कारणले भारतलाई ‘चुनावी निरंकुश व्यवस्था’का रूपमा चित्रण गरिएको छ ।
भाजपाले मुसलमानलाई हिन्दूका तुलनामा कम भारतीय मान्दै आएको छ । भाजपा सन् १९८० मा स्थापित भएको थियो र यो पार्टी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को राजनीतिक शाखाका रूपमा चिनिन्छ । अर्धसैनिक संरचना भएको आरएसएस सन् १९२५ मा स्थापना भएको पुरुष मात्रै हुने संगठन हो र यसले मुसोलिनीको ब्ल्याकसर्टजस्ता फासीवादी संगठनबाट प्रेरणा लिएको थियो ।
भाजपा र आरएसएसले भारतलाई हिन्दू मात्रको राष्ट्रका रूपमा हेर्छन् । यी दुवैले ऐतिहासिक रूपमा विविध र लचिलो रहेको हिन्दू पहिचानलाई एक बनाउने प्रयास गर्छन् । सुरुवाती चरणकै हिन्दू राष्ट्रवादी नेताले मुसलमानविरुद्ध हिंसाको पैरवी गरेका थिए । उदाहरणका लागि यहुदी नरसंहारको पहिलो घटना ‘क्रिस्टलनाख्त’ भएको सात दिनमै अर्थात् डिसेम्बर १९३८ मा हिन्दू राष्ट्रवादी नेता सावरकरले हिन्दू स्वार्थविरुद्ध जाने मुसलमानले ‘जर्मन यहुदीको हैसियत व्यहोर्नुपर्ने’ घोषणा गरेका थिए । आरएसएसका दोस्रा नेता गोलवालकरले स्पष्ट रूपमा जर्मनीमा भएको यहुदीको सफायाबाट ‘हिन्दुस्तानले सिक्नुपर्ने र यसबाट लाभ लिनुपर्ने’ भनेका थिए । आज पनि हिंसाको आह्वान जारी नै छ । सन् २०२१ मा एक हिन्दू राष्ट्रवादी नेताले करोडौँको संख्यामा रहेका भारतीय मुसलमानको हत्याको आह्वान गरेका थिए । जेनोसाइड वाच र अर्ली वार्निङलगायत पर्यवेक्षक समूहले भारतमा नरसंहारको प्रारम्भिक संकेत देखिएको जनाएका थिए ।
पाठ्यपुस्तकमा हुने सम्पादनले धेरै भारतीय बालबालिकालाई मुगलको बहुसांस्कृतिक साम्राज्यबारे अनभिज्ञ बनाउँछ
आजीवन आरएसएस सदस्य रहेका मोदी सन् २००२ मा गुजरातको मुख्यमन्त्री हुँदाको साम्प्रदायिक दंगामा एक हजारभन्दा बढी मानिस (मुख्यतया मुसलमान) मारिएका थिए । नतिजा मोदीलाई सन् २००५ मा अमेरिकी यात्रामा प्रतिबन्ध लाग्यो र उनले अन्तर्राष्ट्रिय निन्दा व्यहोरे । र, मोदी मुलुकभित्र मुसलमानविरोधी दबंगाई नेताका रूपमा चर्चित भए । यही प्रतिष्ठाका कारण उनी र उनको पार्टी भाजपालाई सन् २०१४ को लोकसभा चुनावमा विजय हासिल भयो । त्यसपछिका पाँच वर्षमा हिन्दू राष्ट्रवादी हिंसामा भएको बढोत्तरीले सन् २०१९ को लोकसभा चुनावमा फेरि मोदी र भाजपाले विजय हासिल गरे । उसो त कैयौँ भारतीय र हिन्दू भारतीयसमेतले भाजपाको विरोध गर्छन्, तथापि भारतको रुपरेखा परिवर्तन गर्ने मामिलामा भाजपाले अभूतपूर्व शक्ति हासिल गरेको छ ।
पाठ्यपुस्तकको युद्ध : भाजपाको एजेन्डाको एक महत्वपूर्ण हिस्सा भनेको मुसलमानलाई नकारात्मक रूपमा चित्रण गर्दै इतिहासलाई विकृत गर्नु हो । हिन्दू राष्ट्रवादी प्रायः मुगल शासकमा केन्द्रित हुन्छन् । मुगल शासकले उत्तरी र मध्यभारतका हिस्सामा करिब सन् १५६० देखि १७२० सम्म शासन गरेका थिए । हिन्दू राष्ट्रवादीले मुगल शासकले हिन्दू–मुसलमान द्वन्द्व सुरु गरेको दाबी गर्छन् । यो दाबी बेलायती औपनिवेशिक शासनकालमा अर्थात् सन् १७५७ देखि १९४७ सम्म चल्दै आएको थियो । समकालीन हिन्दू राष्ट्रवादी भारतीय इतिहासका मामिलामा बेलायती औपनिवेशिक विचारलाई पछ्याउने मात्रै नभई मुगल शासकलाई थप आक्रमण गर्छन् । कतिपय हिन्दू राष्ट्रवादी मुगल शासकले नरसंहार मच्चाएको झुटा आरोपसमेत लगाउने गर्छन् ।
हिन्दू राष्ट्रवादीले ताजमहललाई शिव मन्दिर भएको दाबी गर्ने गरेका छन् र मुगल इतिहास मेटाउन विद्यालयका पाठ्यपुस्तक पनि सम्पादन गरेका छन् । यो सम्पादनले धेरै भारतीय बालबालिकालाई मुगलको बहुसांस्कृतिक साम्राज्य र राजपूत भनेर चिनिने हिन्दू अभिजात वर्गसँगको मुगलको साझेदारीबारे अनभिज्ञ बनाउँछ ।
हिन्दू राष्ट्रवादीले ऐतिहासिक मस्जिद भत्काएका छन् । त्यसमा १६औँ शताब्दीको अयोध्यामा रहेको मुगल मस्जिदलाई हिन्दूत्ववादी भिडले अवैधानिक ढंगले भत्काएको थियो । पछि मोदीले सो मस्जिदको भग्नावशेषमाथि राम मन्दिरको शिलान्यास गरेका थिए । यो मन्दिरको पूर्णताले मुसलमानविरोधी संरचनाभञ्जन र हिन्दू विजय झल्काउँछ ।
विद्यार्थीले आफ्नो सात वर्षीय मुसलमान सहपाठीलाई हिर्काएपछि उत्तर प्रदेशकी भारतीय शिक्षिकाले ‘मलाई मेरो काममा पछुतो छैन, जनता मेरो साथमा छन्’ भनेकी थिइन् । एक दशकयता भारतीय मुसलमान भारतको हिन्दू बहुसंख्यकबाट प्रार्थना गर्दा, अन्तरधार्मिक विवाह गर्दा, बिदा मनाउँदा, गौमांस सेवन गर्दा, सरकारी नीतिको विरोध गर्दा, हिन्दू राष्ट्रवादबारे समाचार लेख्दा र अन्य विषयका लागि हिंसात्मक र प्रायः घातक आक्रमणको सिकार भएका छन् । धेरैले ‘भारत भनेको मोदी होइन’ भनी सान्त्वना लिने गर्थे, तर यो एक स्वैरकल्पना मात्रै थियो । भाजपाको एजेन्डा जारी रहँदा लोकतन्त्र स्खलित भइरहनेछ अर्थात् मुसलमानलगायत अल्पसंख्यकमाथि आक्रमण भइरहनेछन् ।
(ट्रुस्च्के रुट्जर्स विश्वविद्यालयकी दक्षिण एसियाली इतिहासकी प्राध्यापक हुन्) टाइमबाट