अल–अहली अस्पतालमाथि आक्रमण भएको अर्को दिन त्यहाँको जमिनमा नरसंहारको संकेत प्रस्ट देखिन्थ्यो । अस्पतालवरपरको ढलान र घाँसेमैदानमा रगतका टाटा, जलेका कार तथा सिसाका टुक्रा देखिन्थे । गाजाका अन्य भागमा भएका इजरायली मिसाइल आक्रमणबाट बच्न तीन हजार मानिसले सो अस्पतालमा आश्रय लिइरहेका थिए । उनीहरू अस्पतालमा आक्रमण नहुनेमा ढुक्क थिए । तर, तिनको विश्वासविपरीत मंगलबार साँझ साढे ७ बजे ठूलो विस्फोट भयो । र कम्तीमा ५०० जनाको ज्यान गयो ।
यस विस्फोटको विश्वव्यापी रूपमा आलोचना भइरहेको छ । प्यालेस्टिनी अधिकारीले बमविस्फोटमा इजरायलको हात भएको आरोप लगाएको छ । तर, इजरायलले भने सो नृशंस आक्रमण गाजामा सक्रिय सशस्त्र समूह प्यालेस्टाइन इस्लामिक जिहादमाथि गरेको भन्दै आफूलाई चोख्याउने प्रयास गरेको छ । तर, विश्व समुदायले इजरायली आरोपमा विश्वास गरेजस्तो देखिँदैन । आक्रमण अमेरिकी राष्ट्रपति जो बाइडेन तेल अभिभ उत्रनुभन्दा केही घन्टाअघि मात्र भएको थियो । यसले इजरायलको पक्षमा जनमत सिर्जना गर्ने अमेरिकी प्रयासमै धक्का लागेको छ । अस्पतालमाथिको आक्रमणसँगै विश्वभर अझ विशेष, यसअघि इजरायलप्रति सहानुभूति राख्ने पश्चिममा समेत गाजामा भइरहेको उच्च बल प्रयोगको आलोचना सुरु भएको छ ।
घटनालगत्तै इजरायली प्रधानमन्त्रीका डिजिटल सहयोगी हनान्या नेफ्तालीले एक ट्विट गर्दै ‘इजरायली हवाई फौजले गाजाको अस्पतालबाट सञ्चालित हमासको आधारमा बमबारी गरेको’ उल्लेख गरेकी थिइन् । जुन पोस्ट केहीपछि हटाइएको थियो । नेफ्तालीले अर्को ट्विटमा यसअघि ‘अस्पतालमा इजरायलले बम हानेको’ भन्ने एक ‘रोयटर्स समाचार’ ट्विट गरेकोमा क्षमा मागिन् । उता इजरायली सेनाले अस्पताल आक्रमणमा आफू नभएर प्यालेस्टिनी समूह संलग्न रहेको ‘प्रमाण’ रहेको दाबी गरेको छ ।
आक्रमणपछि इजरायलको पक्षमा जनमत सिर्जना गर्ने पश्चिमी प्रयासमै धक्का लागेको छ । अस्पतालमाथिको आक्रमणसँगै विश्वभर अझ विशेष, यसअघि इजरायलप्रति सहानुभूति राख्ने पश्चिममा समेत गाजामा भइरहेको उच्च बल प्रयोगको आलोचना सुरु भएको छ ।
सन् १८८२ मा स्थापना भएको अल–अहली गाजापट्टीमा अवस्थित सबैभन्दा पुरानो अस्पताल हो । गाजाको एक मात्र क्रिस्चियन अस्पताल र उत्तरी गाजाको २२ मध्ये एक अस्पताल अल अहलीले बर्सेनि ४५ हजार बिरामीलाई हेर्दै आएको छ । विश्व स्वास्थ्य संगठनले अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध छेडिएपछि गाजाका स्वास्थ्य केन्द्रहरूमा झन्डै ११५ आक्रमण भएको उल्लेख गरेको छ । ‘गाजाको चिकित्सकीय पूर्वाधार सुधार्न नसकिन गरी नष्ट गरिएका छन् । स्वास्थ्य सेवा प्रदायकहरू अहिले सीमित चिकित्सकीय आपूर्तिका साथ गम्भीर स्थितिमा काम गरिरहेकाले बिरामीहरूले समयमा गुणस्तरीय सेवा पाउन सकेका छैनन्,’ संयुक्त राष्ट्रसंघका अधिकारी ट्लालेङ मोफेकेङले भने ।
अरब विश्वमा ठूला प्रदर्शन
अल अहली अस्पतालमा भएको अक्रमणको सबैभन्दा विरोध अरब मुलुकमा भए । अरब मुलुकका कैयौँ सहरमा घटनाको विरोध गर्दै विशाल ¥याली निस्किएका थिए । इजरायलको छिमेकी लेबनानमा इरान समर्थित हिजबुल्लाहको आह्वानमा हजारौँ मानिस सडकमा उत्रिएका थिए । भिडले ‘अमेरिका मुर्दावाद, इजरायल मुर्दावाद’को नारा लगाएको थियो । ¥यालीलाई सम्बोधन गर्ने क्रममा हिजबुल्लाहका वरिष्ठ नेता हासेम साफिद्दिनले इजरायलले गाजाका मानिसलाई थप डर देखाएर देशबाहिर निकाल्न अस्पताल, उद्धारकर्मी, नागरिक स्वयंसेवकहरू र गाजाका बासिन्दालाई निसाना बनाउन थालेको आरोप लगाए । प्यालेस्टाइनको अर्को भाग वेस्ट बैंक(पश्चिम किनारा)का ठूला सहर रमल्लाह र नाब्लुसमा ‘स्वतन्त्र प्यालेस्टाइन’ माग गर्दै प्रदर्शन भए ।
सन् २०२० मा इजरायलसँग अब्राहम सम्झौताअन्तर्गत सम्बन्ध स्थापित गरेका अरबी मुलुक संयुक्त अरब इमिरेट्स(युएई) र बहराइनले अस्पतालमा बम विस्फोट भएपछि इजरायलको आलोचना गरेका छन् । जबकि यसअघि यी मुलुकले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण हुँदा हमासको आलोचना गरेका थिए । ‘युएई सयौँको ज्यान लिने इजरायली आक्रमणको कडा निन्दा गर्छ,’ युएईको सरकारी समाचार एजेन्सी डब्लुएएमले बुधबार बिहान भन्यो । बहराइनमा सरकारका साथै कैयौँ मानिसले राजधानी मनामामा रहेको इजरायली दूतावासअघि पुगेर घटनाको विरोध जनाएका थिए । प्रहरीले पछि भिडलाई तितरबितर बनाएको थियो ।
हिंसा भड्किएपछि इजरायलसँग सम्बन्ध सुधारका लागि गोप्य वार्ता अवरुद्ध गरेको साउदी अरेबियाले विस्फोटलाई ‘इजरायली अतिक्रमणकारी सेनाले गरेको जघन्य अपराध’ भनेको छ । हमासको सहयोगीसमेत ठानिने कतार सरकारले ‘क्रूर नरसंहार’को निन्दा गरेको छ । सन् २०२० मा इजरायललाई मान्यता दिएको अफ्रिकामा अवस्थित अरबी बहुल देश मोरक्कोले पनि आक्रमणमा इजरायल दोषी भएको आरोप लगाएको छ । जनसंख्याका आधारमा सबैभन्दा ठूलो अरबी मुलुक इजिप्टले पनि आक्रमणका लागि इजरायललाई दोषी ठहर गरेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायली बम विस्फोटको कडा शब्दमा निन्दा गरेका छन् ।
‘युद्ध अपराध’
अस्पतालमा आक्रमणपछि मुस्लिमबहुल टर्कीमा बुधबार दोस्रो दिन पनि इजरायली दूतावासअघि विरोध प्रदर्शन भयो । इस्तानबुलमा अवस्थित इजरायली वाणिज्य दूतावासबाहिर हजारौँ टर्किस नागरिकले विरोध जनाएका थिए । टर्किस राष्ट्रपति रिसेप तैयप एर्दोगानले अस्पतालमा मारिएका प्यालेस्टाइनीको सम्झनामा तीनदिने शोकको घोषणा गरेका छन् ।
उता युद्धग्रस्त यमनको इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा प्यालेस्टाइन समर्थकको ठूलो प्रदर्शन भयो । अल्जेरियाले अस्पताल आक्रमणलाई ‘अतिक्रमणकारी सेना’ले गरेको ‘बर्बर कार्य’को रूपमा निन्दा गरेको छ । त्यस्तै ट्युनिसियामा हजारौँ प्रदर्शनकारीले फ्रान्सेली दूतावासबाहिर जुलुस निकालेर इजरायलप्रतिको निःसर्त पश्चिमी समर्थनको निन्दा गरे । केहीले प्यालेस्टिनी झन्डा फहराएका थिए ।
अरूले फ्रान्सलाई पश्चिमी ‘जियोनिस्टहरूको सहयोगी’मध्ये एक भएको आरोप लगाउँदै राजदूतलाई निष्कासन गर्न माग गरेको एएफपीले लेखेको छ । उता लिबियाको त्रिपोलीमा अवस्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले अस्पतालमा भएको विस्फोटलाई ‘घृणित अपराध’ भनेको छ । त्रिपोली र अन्य लिबियाका आमनागरिकले इजरायलको आक्रमणको विरोधमा प्रदर्शन गरे ।
हमासका अधिकारी ओसामा हमदानले अरब क्षेत्रभर विरोधको आह्वान गर्दै ‘सबै अरब र इस्लामिक राजधानीमा रहेका जियोनिस्ट(उग्र यहुदी विचार) संस्थाका राजदूतलाई निष्कासन गर्न माग पनि गरेका छन् । उता इजरायलसँग सीमा जोडिएको जोर्डनमा करिब १० हजार नागरिक इजरायली दूतावासबाहिर भेला भएर इजरायलको कूटनीतिक नियोगको निष्कासनको माग गरे । आक्रमणका लागि इजरायललाई दोष दिएको इराकले गाजा हमला रोक्नको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट ‘तत्काल संकल्प’ माग गरेको छ । सिरियाको राजधानी दमास्कसमा प्यालेस्टिनी झन्डा बोकेका सयौं मानिस संसद्नजिक भेला भएका थिए । अधिकांशले राष्ट्रपति बसर अल–असदको फोटो अंकित टी–सर्ट लगाएको भिडले ‘सहादत या विजय’को ब्यानर लिएको थियो ।
देशका अतिरिक्त अरबी संगठनहरूले पनि आक्रमणको विरोध गरेका छन् । अर्गनाइजेसन अफ द इस्लामिक कन्फरेन्सले घटना इजरायलले घटाएको अरोप लगाउँदै यसलाई ‘युद्ध अपराध, मानवताविरुद्धको अपराध र संगठित राज्य आतंकवाद’को संज्ञा दिएको । त्यस्तै खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अल्बुदाइवीले पछिल्लो अस्पताल आक्रमण ‘इजरायली अतिक्रमणकारी सेनाले गरेको गम्भीर उल्लंघनको स्पष्ट प्रमाण’ भएको बताए । अरब लीगका प्रमुख अहमद अबूल घितले मंगलबार विश्व नेताहरूलाई ‘यस त्रासदीलाई तुरुन्तै रोक्न’ आह्वान गरे ।
– एएफपी