मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका नामले परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो । ६ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन् । पछिल्लो समय भने त्रिविको आफ्नै भविष्य अन्योलमा परेको देखिएको छ । राजनीतिक हस्तक्षेप र अन्य व्यवस्थापकीय कमजोरीले गर्दा त्रिविको साख दिनप्रतिदिन गिर्दै गएको छ ।
यसैको पछिल्लो उदाहरण हालै टाइम्स हायर एजुकेसनले सार्वजनिक गरेको विश्वभरका विश्वविद्यालयको वरीयतामा त्रिविको स्थानले समेत झल्काएको छ । विश्व वरीयतामा पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको छ । टाइम्स हाइएर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो ।
विश्वभरका विश्वविद्यालयको वरीयताक्रममा विगतका वर्षमा भन्दा खस्किएपछि त्रिविले आगामी दिनमा सुधारका योजना तथा कार्यक्रम सार्वजनिक गर्ने आशा गरिएको थियो । तर, यसविपरीत विश्व वरीयता क्रममा जालझेल गरेर त्रिविलाई खस्केको देखाउन खोजिएको भन्ने आशय झल्किने विज्ञप्ति निकाल्नु ‘अधोमति, अधोगति’को लक्षण हो । विश्वविद्यालय, जनसम्पर्क महाशाखाले प्रेस विज्ञप्ति जारी गर्दै टाइम्स हाइएर एजुकेसनले विश्वविद्यालय स्तर मापनमा केही मापदण्ड परिवर्तन गरेकाले त्रिवि पछि परेको दाबी गरेको छ ।
विगत वर्षमा ३० प्रतिशत अनुसन्धान प्रतिवेदन, ३० प्रतिशत पढाइलेखाइ, ३० प्रतिशत अनुसन्धान बजेट र १० प्रतिशत अन्तर्राष्ट्रिय प्रभावका आधारमा मूल्यांकन हुने गरेकामा यस वर्ष मापदण्ड परिवर्तन गरिएको त्रिविको वक्तव्यमा उल्लेख छ । अहिले त्यो मापदण्ड परिवर्तन गरी अनुसन्धान साइटेसनको अंक ३० प्रतिशतबाट कटौती गरेर १५ प्रतिशतमा झारिएको छ । जुन त्रिविको सबैभन्दा राम्रो सूचक रहेको तर अंकभार कम भएकाले वरीयताक्रममा प्रतिकूल प्रभाव परेको दाबी गरिएको छ । परिमार्जित मापदण्डमा अन्तर्राष्ट्रिय प्राध्यापक संख्या अनुपात, अन्तर्राष्ट्रिय कर्मचारी संख्या अनुपात, अन्तर्राष्ट्रिय विद्यार्थी संख्या अनुपातजस्ता अव्यावहारिक तथा कानुनले निषेध गरेका सूचकसमेत थपिएकाले त्रिविलगायत भारत तथा चीनका अधिकांश विश्वविद्यालयसमेत पछाडि परेको त्रिविले दाबी गरेको छ ।
सन् २००४ देखि विश्वभरका विश्वविद्यालयको वरीयताक्रम प्रकाशित गर्दै आएको टाइम्स हाइएर एजुकेसनले हालै २०औँ संस्करणको वरीयताक्रम प्रकाशित गरेको छ । विश्वभरका १०८ देशका एक हजार नौ सय चार विश्वविद्यालयको वरीयता क्रम प्रकाशित गरेको हाइएर एजुकेसनले पठनपाठन तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न सूचकलाई मापनको आधार बनाएको छ । वरीयता मापक सूचकलाई मुख्यतया पाँच भागमा वर्गीकृत गरिएको देखिन्छ । वर्गीकृत गरिएका सूचकमा शैक्षिक वातावरण, अनुसन्धानको वातावरण, अनुसन्धानको गुणस्तर, उद्योग र उत्पादन र अन्तर्राष्ट्रिय दृष्टिकोणलाई क्रमशः २९.५, २९, ३०, ४ र ७.५ प्रतिशतको अंकभार दिँदै कुल १०० मा गणना गरिएको थियो । प्रत्येक सूचकलाई औसतमा सयबराबरले गणना गरी विश्वविद्यालयले प्राप्त गरेको प्राप्तांकका आधारमा स्तर मापन गरिएको छ ।
त्रिविलाई विश्व वरीयतामा पाँच सयभित्र पार्ने लक्ष्य र योजना लिएको घोषणा गरेका पदाधिकारीले त्रिविको स्तर सोचेभन्दा बढी नै खस्केको अवस्थामा अरूलाई दोष दिएर उम्किन खोज्नुभन्दा आफ्ना समस्याको समाधानतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ
नेपालको त्रिविले शैक्षिक वातावरणमा ११.३, अनुसन्धानको वातावरणमा ८.२, अनुसन्धान गुणस्तरमा ४९.५, उद्योग र उत्पादनमा १५.९ र अन्तर्राष्ट्रिय दृष्टिकोणमा ४६.७ अंक प्राप्त गरेको छ । समग्रमा नेपालको औसत अंक २२.८ देखि २८.२ सम्म प्राप्त गरी वरीयतामा १२ सयदेखि १५ सयको सूचीमा पर्न गएको हो । त्रिविको सबैभन्दा नाजुक अवस्था अनुसन्धानको वातावरणमा देखिएको छ । यसले मुलुकमा अझै पनि परम्परागत शैक्षिक प्रणाली हाबी रहेको पुष्टि गरेको छ ।
अनुसन्धानमा आधारित शिक्षाको विकास र विस्तार हुन नसकेको अवस्थालाई यो प्राप्तांकले चित्रण गरेको छ । विभिन्न राजनीतिक दलका भ्रातृ संगठनका रूपमा रहेका विद्यार्थी संगठन र त्रिविकै असन्तुष्ट कर्मचारीले वेलाबखत गरेका बन्द, हडताल तथा तालाबन्दीले शैक्षिक वातावरणमा परेको प्रतिकूल प्रभावलाई सर्वेक्षणले समेत उजागर गरेको छ ।
अनुसन्धानको वातावरणपछि त्रिविको दोस्रो ठूलो कमजोरीका रूपमा शैक्षिक वातावरण देखिएको छ । विगत तीन वर्षमा करिब तीन सय दिन त्रिविको मुख्य प्रशासकीय कक्षमा ताला लागेको थियो । उत्पादन तथा उत्पादकत्वका मामिलामा समेत त्रिवि कमजोर देखिएको छ । एकातिर अध्ययन अनुसन्धान पर्याप्त मात्रामा हुन नसकेको देखिन्छ भने अर्कातर्फ अनुसन्धानबाट प्राप्त परिणामलाई व्यावसायीकरणमा रूपान्तरण गर्न नसक्दा त्रिवि आर्थिक रूपले समेत अशक्त हुँदै गएको देखिएको छ । यसैकारण उद्योग आय र पेटेन्टसँग सम्बन्धित क्रियाकलापमा समेत प्रगति गर्न नसेकेको देखिएको छ ।
त्रिविले निकालेको प्रेस विज्ञप्तिमा टाइम्स हाइएर एजुकेसनले मापदण्ड परिवर्तन गरेका कारण त्रिविको वरीयता क्रम खस्केको भनेर दाबी गरे पनि यसलाई पुष्टि गर्ने बलियो आधार भने देखिँदैन । विज्ञप्तिमा अनुसन्धान साइटेसनको अंक ३० प्रतिशतबाट कटौती गरेर १५ प्रतिशतमा झारिएकोमा असन्तुष्टि व्यक्त गरिएको छ । वास्तवमा साइटेसन अनुसन्धान गुणस्तर सूचकभित्र पर्छ ।
अहिले परिमार्जित गरिएको मापदण्डमा अनुसन्धानको गुणस्तर वृद्धिका लागि साइटेसनलाई १५, अनुसन्धानको क्षमतालाई पाँच, अनुसन्धानको उत्कृष्टतालाई पाँच र अनुसन्धानको प्रभावकारितालाई पाँच अंकभार गरी कुल ३० प्रतिशत नै राखिएको छ । यसैकारण उत्कृष्ट अनुसन्धान दिन सकेको खण्डमा यो परिमार्जनले कुनै असर पर्ने देखिँदैन । यसै पनि यो सूचकमा त्रिविको तुलनात्मक रूपमा अन्य सूचकभन्दा सन्तोषजनक अवस्था देखिन्छ । अर्कातर्फ, अन्तर्राष्ट्रिय प्राध्यापक, कर्मचारी, विद्यार्थी संख्या अनुपातजस्ता अव्यावहारिक सूचक थपिएकाले त्रिविको वरीयता घटेको भन्ने भनाइसमेत तर्कसंगत देखिँदैन । अन्य परिसूचकको तुलनामा अन्तर्राष्ट्रिय दृष्टिकोणसमेत सन्तोषजनक देखिएको छ ।
त्रिवि आफ्ना कमजोरी स्विकार्न तयार देखिँदैन । विश्व वरीयताक्रममा स्तर घटेपछि विभिन्न बहाना देखाएर आफू अब्बल नै रहेको भन्ने आशय बोकेका विज्ञप्ति सार्वजनिक हुने क्रम जारी नै देखिन्छ । यसैकारण त्रिवि सुध्रिन नचाहेको प्रस्ट हुन्छ । केही समयअघिसम्म त्रिविका पदाधिकारीले त्रिविलाई विश्व वरीयतामा पाँच सयभित्र पार्ने लक्ष्य र योजना लिएको घोषणा गर्दै आएका थिए । तर, त्रिविको स्तर सोचेभन्दा बढी नै खस्केको छ ।
यस्तो अवस्थामा अरूलाई दोष दिएर उम्किन खोज्नुभन्दा आफ्ना समस्याको समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । टाइम्स हाइएर एजुकेसनको सर्वेक्षणले प्रस्तुत गरेका धेरैजसो आँकडा वास्तविकतासँग मेल खाने खालका देखिन्छन् । विगतका वर्षमा भन्दा त्रिविको स्तर दिन–प्रतिदिन खस्किने क्रम बढ्दो छ ।
नियमित पठनपाठन हुन नसक्नु, समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशित गर्न नसक्नु, अनुसन्धानात्मक क्रियाकलापमा ध्यान दिन नसक्नु, दक्ष एवम् प्राविधिक जनशक्ति उत्पादन गर्न नसक्नुलगायत कारण त्रिविप्रति विद्यार्थीको आकर्षण घट्दै गएको देखिन्छ । यसैगरी राजनीतिक हस्तक्षेप र भागबन्डाको खेलले त्रिवि राजनीतिक दलहरूको क्रीडास्थल बनेको छ । उपकुलपति, रेक्टर, रजिस्ट्रार, क्याम्पस प्रमुख, विभागीय प्रमुखजस्ता नेतृत्वदायी पदमा नियुक्त गर्दा कार्यकुशलता र विज्ञतालाई भन्दा राजनीतिक आस्थालाई पहिलो प्राथमिकता दिएको पाइन्छ । यसले गर्दा त्रिविमा बेथिति मौलाउँदै गएको छ ।
टाइम्स हाइएर एजुकेसनको विश्व वरीयताको पहिलो स्थनमा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड पर्न सफल भएको छ । अक्सफोर्डले शैक्षिक वातावरण, अनुसन्धानको वातावरण, अनुसन्धान गुणस्तर, उद्योग र उत्पादन तथा अन्तर्राष्ट्रिय दृष्टिकोणमा क्रमशः ९६.६, १००, ९९, ९८.७ र ९७.५ गरी समग्रमा ९८.५ औसत अंक प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।
सन् २०२३ मा पनि अक्सफोर्ड नै पहिलो ठहरिएको थियो । वरीयताक्रमको उत्कृष्ट दोस्रोमा अमेरिकाको स्ट्यानफोर्ड, तेस्रोमा म्यासचुएट्स इन्स्टिच्युट अफ टेक्नोलोजी अमेरिका परेको छ भने, हार्वर्ड युनिभर्सिटी यसपालि चौथो श्रेणीमा परेको छ । यसैगरी युनिभर्सिटी अफ क्याम्ब्रिज पाँचौँमा छ ।
गत वर्ष उत्कृष्ट दशभित्र पर्न सफल विश्वविद्यालय यस वर्ष पनि सोही श्रेणीमा पर्न सफल भएका छन् । यिनको १०औँ भित्रको वरीयताक्रम मात्र तलमाथि परेको छ । यदि मापदण्डमा भएको परिवर्तनले वरीयता क्रममा असर पार्ने भए यसमा समेत फरक पर्ने थियो । तर, उत्कृष्ट दशमा कुनै असर परेको देखिँदैन । संसारका उत्कृष्ट विश्वविद्यालयले आफ्नो स्थान सुरक्षित नै राखेका छन् । यसैकारण त्रिविले मात्र मापदण्डमा भएको परिवर्तनले आफ्नो स्थान खस्केको हो भन्ने तर्कलाई सजिलै स्विकार्न सकिने अवस्था देखिँदैन ।
हाल त्रिविमा करिब चार लाख विद्यार्थी अध्ययनरत छन् । त्रिविले नौवटा अध्ययन संस्थान÷संकाय र चार अनुसन्धान केन्द्रका माध्यमबाट अनुसन्धान र अध्ययनका गतिविधि सञ्चालन गरिँदै आएको जनाएको छ । तथापि, राजनीतिक हस्तक्षेप, पदाधिकारी, प्राध्यापकको मनोमानी, भागबन्डा, विद्यार्थीको तालाबन्दी/आन्दोलन, शैक्षिक अव्यवस्था, जीर्ण भौतिक संरचना र स्रोतसाधनको दुरुपयोगले त्रिविको छवि दिन–प्रतिदिन धमिलिँदै गएको छ । यसैकारण बर्सेनि लाखौँ विद्यार्थी उच्च शिक्षाका लागि भनेर बिदेसिने गरेका छन् । यसको रोकथामका लागि त्रिविले आवश्यक कदम चाल्नुपर्ने समय आएको छ ।
संसारका उत्कृष्ट विश्वविद्यालयले अवलम्बन गरेका पठनपाठन शैली, अनुसन्धानको वातावरण तथा गुणस्तरको विस्तृत अध्ययन गरी अनुकूलताका आधारमा अवलम्बन गर्न सकिने क्षेत्र त्रिविले पहिल्याउनुपर्ने आवश्यकता देखिएको छ । आफू कमजोर रहेको क्षेत्रमा आवश्यक सुधारका लागि नीति तथा कार्यक्रमको तर्जुमा गरी अगाडि बढ्न तयार हुनुपर्ने देखिन्छ । यसका लागि त्रिविलाई सर्वप्रथम राजनीतिक हस्तक्षेपबाट टाढा राख्नु आवश्यक छ । त्रिविलाई राजनीतीकरणको चंगुलबाट निकालेर अनुसन्धान, सिर्जनशीलता र जीवनोपयोगी शिक्षासँग सम्बन्धित पक्षमा ध्यान दिन आवश्यक छ ।
त्रिविका उच्च पदमा दलीय भागबन्डामा नभई खुला प्रतिस्पर्धाबाट सक्षम र प्रतिभाशाली व्यक्तित्वलाई जिम्मेवारी दिनुपर्ने हुन्छ । त्रिविले आफ्नो उपयुक्त शैक्षिक क्यालेन्डर निर्माण गरी कक्षा सञ्चालन, परीक्षा मितिदेखि परीक्षाफल प्रकाशनसम्मका गतिविधि शैक्षिकसत्र सुरु हुनुआगाडि नै निश्चित गर्नु जरुरी छ । विश्वविद्यालयले मुलुकको समग्र विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्छ । जसले कुनै समस्याको विश्लेषण गर्ने, तर्क गर्ने, प्रस्तुत गर्ने र समाधान खोज्ने सामथ्र्य राखेको हुन्छ । अनि मात्र त्रिविको छवि मुलुकभित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत्मा समेत सकारात्मक देखिनेछ । यसका लागि त्रिविले विगतका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।