तीव्र गतिका बलर करण केसीको घातक बलिङसामु हङकङ घुँडा टेक्न बाध्य भएपछि नेपालले जितका लागि ९५ रनको लक्ष्य पाएको छ ।
टी–२० ट्र्यांगुलर सिरिजअन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको हङकङले पूरा २० ओभर पनि खेल्न सकेन । चार ओभरमा १५ रन दिएर करणले चार विकेट लिएको म्याचमा हङकङ १९.३ ओभरमै ९४ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सोमपाल कामी र अविनाश बोहाेराले दुई–दुई तथा कुशल मल्ल र मौसम ढकालले पनि एक–एक विकेट लिए ।
मूलपानी क्रिकेट मैदानमा टस जितेपछि नेपालका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ रोज्ने निर्णय गरेका थिए । रोहितको निर्णयलाई सही साबित गर्दै करणले पहिलो बलमै सफलता दिलाए ।
उनले हङकङका कप्तान निजाकत खानलाई पहिलो बलमै बोल्ड गरेपछि हङकङको कमर तोडियो । लगत्तै आफ्नो दोस्रो ओभरमा करणले अंशुमन राथलाई सात रनको अवस्थामा आसिफ शेखको हातबाट क्याचआउट गराए ।
तेस्रो ओभरमा करणले आफनो तेस्रो विकेटका रूपमा बाबर हायातलाई सिकार बनाए । बाबर पाँच रनमा आउट भएपछि हङकङले ठूलो धक्का खायो । करणले आफ्नो चौथो ओभरमा हरुन अर्सदलाई दुई रनको अवस्थामा बोल्ड गरे ।
यस्तै, सोमपाल कामीले मार्टिन कोइटजी र एहसान खानको विकेट लिए भने अविनाश बोहाेराले यसिम मुर्तजा र अदित गोरावारालाई सिकार बनाए । दोस्रो टी–२० खेलिरहेका मौसम ढकालले जिशान अलीलाई आउट गर्दै पहिलो विकेट लिए ।
त्रिदेशीय शृंखलाको दोस्रो म्याच खेलिरहेको नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । केहीबेरमा ब्याटिङमा उत्रने नेपाललाई ९५ रनको लक्ष्य हुनेछ ।