विराटनगर विमानस्थलमा मन्त्री किराँतीको आकस्मिक अनुगमन

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण
विराटनगर विमानस्थलमा मन्त्री किराँतीको आकस्मिक अनुगमन

फाइल तस्बिर

नागरिक उड्डयन तथा संस्कृतिमन्त्री सुदन किराँतीले विराटनगर विमानस्थलको आकस्मिक अनुगमन गर्दै कालोबजारी नियन्त्रण गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन दिएका छन्। 

आज विराटनगर विमानस्थलको चमेनागृह र अन्य स्थानहरूको स्थलगत निरीक्षण गरेपछि मन्त्री किराँतीले उपभोग्य वस्तुहरूको चार गुणा मूल्य लिएर बिक्री गरेको पाइएपछि उड्डयन प्राधिकरणका उच्चस्तरीय कर्मचारीहरूलाई निर्देशन दिँदै तुरुन्त कालोबजारी नियन्त्रण गरेर कारबाही गर्न निर्देशन दिएका हुन्।

उनले काठमाडौंबाहेकका सबै विमानस्थलहरूमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न र नियमनकारी निकाय उपभोक्ता हित तथा वाणिज्य कार्यालयमार्फत नियमित अनुगमन गरेर दोषीलाई कारबाहीका लागि पत्राचार गर्न पनि प्राधिकरणका केन्द्रीय अधिकारीहरूलाई निर्देशन दिए। 

उनका अनुसार विराटनगर विमानस्थलमा तोकिएको मूल्य–सूची र सामग्रीको अधिकतम मूल्यभन्दा चार गुणाभन्दा बढी रहेको पाइएको छ। 

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘विराटनगर विमानस्थलमा चार दोब्बर मूल्य लिएर खाद्य र उपभोग्य सामग्रीहरू बिक्री गरेको पाइयो। यसैले तपाईंहरूले यसलाई तुरुन्त नियन्त्रण गर्न र अनुमनका लागि नियमनकारी निकायलाई पत्राचार गर्न निर्देशन दिएको छु।’

मन्त्री किराँतीले पार्टीले तीनमहिने अभियानमा दिएको जिम्मेवारीअनुसार काठमाडौंबाट मोरङको बेलबारी आउने क्रममा आज बिहान विराटनगर विमानस्थलको आकस्मिक अनुगमन गरेको बताए। 
 

सुझावित समाचार