विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा धेरै छन् । ०७२ सालको भूकम्पले क्षति पुर्याएका अधिकांश सम्पदा पुनर्निर्माण भए पनि केही भने अझै पुनर्निर्माणको पर्खाइमा छन् ।
पुनर्निर्माणका लागि अन्योलमा रहेका जीर्ण सम्पदाहरू अझै पनि त्रिपालमुनि रहेका छन् । जीर्ण रहेका कतिपय सम्पदा कहिले र कसले पुनर्निर्माणको जिम्मा लिने भन्ने विषयमा अन्योल छ । पाटन दरबार क्षेत्रका कतिपय सम्पदाहरूलाई गुठी संस्थानले व्यक्तिगत व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । स्थानीयहरूले भाडा तिरेर वर्षौँदेखि सम्पदालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गरेका छन् । ऐतिहासिक रूपमा रहेका सम्पदाहरू बर्सातको समयमा पानी चुहिने भएकाले छानामा त्रिपाल राखेको देखिन्छ ।
पाटन दरबार क्षेत्रको ऐतिहासिक तलेजु मन्दिरलाई पनि भूकम्पले क्षति पुर्याएको थियो । अन्य सम्पदा भूकम्पपछि पुनर्निर्माण भए पनि तलेजु मन्दिरको पुनर्निर्माण अझै सकिएको छैन । निर्माण थालनी भएको तलेजु मन्दिर पनि कामको ढिलासुस्तीका कारण त्रिपालमुनि रहेको छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी शारदा सिवाकोटीले अब काम चाँडै सकिने बताए ।
पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक लामपाटी पनि जीर्ण अवस्थामा छ । लामपाटीको एकातिरको छाना पूरै त्रिपालले छोपिएको छ । ऐतिहासिक महत्वको लामपाटीलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक प्रयोजनका लागि व्यक्तिलाई भाडामा दिएको छ । त्यहाँ एउटा होटेल र अन्य व्यवसाय सञ्चालन भइरहेको छ ।
लामपाटीको पनि पुनर्निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका सूचना अधिकारी सिवाकोटीले बताए । उनका अनुसार ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुनेछ । पाटन दरबार संग्रहालय छेउमा रहेको ऐतिहासिक अदालत भवनमा पनि घाँस उम्रेको छ । घाँसले पुरिन आँटेको जीर्ण भवनको पुनर्निर्माण भारतीय राजदूतावासले जिम्मा लिएको छ । रासस