अशान्त अवस्थाको इजरायलबाट मंगलबार १८ जना नेपालीलाई उद्धार गरिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्तिमार्फत तेलअभिभस्थित बेन गुरिन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत सरकारको सहयोगमा नेपालीको उद्धार भएको जनाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले २६८ जना भारतीय नागरिकसँगै १८ जना नेपालीको उद्धार भएको ट्विटरमा उल्लेख गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदले पनि उनीहरूको उद्धार भएको पुष्टि गरेका छन् ।
स्पाइस जेट एयरलाइन्सको उडान नम्बर एसजी ९९९६ बाट १८ जना नेपाली दिल्ली हुँदै बुधबार बिहान नेपाल आइपुग्नेछन् । उद्धारमा पर्नेमा नेपालीमध्ये चार विद्यार्थी, १३ कामदार र एक पर्यटक छन् । शुक्रबार नेपाल सरकारले २५३ जनाको उद्धार गरी काठमाडौं ल्याएको थियो ।
‘उनीहरूलाई तेलअभिभस्थित भारतीय दूतावाससँगको समन्वयमा भारतको राजधानी नयाँदिल्लीसम्म र त्यहाँबाट नयाँदिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पु¥याउने गरी व्यवस्था गरिएको छ,’ इजरायलस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दूतावासले आवश्यकताअनुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्नेछ ।’
परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार उद्धार भएका नागरिकहरूमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ छन् ।
दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर एवं नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार नेपालीहरूलाई बसमा गड्डाचौकी हुँदै स्वदेश फर्किने व्यवस्था भएको छ । ‘उहाँहरू बुधबार बिहान नेपालको सीमामा पुग्ने व्यवस्था भएको छ,’ चतुर्वेदीले दिल्लीबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने ।
दुई–तीन दिनभित्रै नेपाली विद्यार्थीको शव स्वदेश ल्याउने तयारी
नेपाली दूतावासका अनुसार दुई–तीन दिनभित्रै नेपाली विद्यार्थीको शव स्वदेश ल्याउने तयारी छ । ‘घटनामा परी निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी दुई–तीन दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ,’ दूतावासले भनेको छ, ‘अन्य शवको पहिचानको काम भइरहेको छ ।’
कैलाली घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, दार्चुलाको मल्लिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम गाउँपालिका– ५ दीपेशराज विष्ट र कैलाली बौनियाँका आशिष चौधरीको शव नेपाली दूतावासलाई प्राप्त भएको छ । डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा, सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह र सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको शव भने प्राप्त हुन बाँकी छ ।
हमासको आक्रमणमा घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । यीमध्ये एकजना नेपाल आइसकेका छन् भने एकजना नेपाली दूतावासको हेरचाहमा छन् । दुईजनाको उपचार भइरहेको छ ।
दूतावासले हराइरहेका विपिन जोशीको खोजी कार्य थप तीव्र पारिएको जनाएको छ । ‘उपलब्ध सम्पूर्ण संयन्त्र–माध्यमहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यलाई अझै तीव्र पारिएको छ,’ दूतावासले भनेको छ ।