आइसिसी एकदिवसीय विश्वकप - २०२३ : अस्ट्रेलियाको पहिलो जित

लगातार दुई खेलमा पराजित अस्ट्रेलियाले श्रीलंकालाई पाँच विकेटले हरायो

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले पहिलो जित निकालेको छ । भारतको लखनउमा अस्ट्रेलियाले सोमबार श्रीलंकालाई पाँच विकेटले निराश बनाउँदै चालू विश्वकपमा पहिलो जित निकालेको हो । यसअघि अस्ट्रेलिया लगातार दुई खेलमा पराजित भएको थियो । जितसँगै सर्वाधिक चारपटकको विजेता अस्ट्रेलिया आठौँ स्थानमा उक्लेको छ । पहिलो ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर दुई सय नौ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ३५.२ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय १५ रन जोड्यो । 

अस्ट्रेलियालाई विजयी गराउन जोस इग्लिसले सर्वाधिक ५८ रन र मिचेल मासले ५२ रनको याेगदार दिएका थिए । मासले ५१ बलमा नौ चौकाको सहयोगमा ५२ रन जोडेका थिए । इनिङ्सको तेस्रो ओभरमा अस्ट्रेलियाले दुई विकेट गुमाएको थियो । मदुसंकाले डेभिड वार्नर (११) र स्टेभन स्मिथ (०) लाई पाँच बलको अन्तरमा आउट पार्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाए । सुरुवाती दुई विकेट गुमाएको अस्ट्रेलियाले मध्यक्रमका ब्याट्सम्यानबाट गतिलो साथ पायो । मार्नुस र जोसबीच चौथो विकेटका लागि ७७ रनको साझेदारी भएको थियो । 

यी दुवै ब्याट्सम्यानले अस्ट्रेलियालाई ८१–३ बाट १५८–४ को स्थितिमा राखे । मार्नुसले ६० बलमा ४० रन जोडे । जोसले पाँच चौका र एक छक्का प्रहार गरे । उनी आउट हुँदा अस्ट्रेलिया १९२–५ को स्थितिमा थियो । ग्लेन म्याक्सवेलले २१ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३१ रन र मार्कुस स्टोनिसले १० बलमा २० रन बनाए । यसअघि ब्याटिङ गरेको श्रीलंकाले ओपनिङ उत्कृष्ट गरेको थियो । ओपनिङबाहेक अन्य कुनै पनि विकेटका लागि गतिलो साझेदारी नहुँदा श्रीलंका मध्यम योगफलमै समेटियो । 

सुझावित समाचार