गैरआवासीय नेपाली संघ (एनआरएन)को ११औँ महाधिवेशन नजिकिँदै गर्दा काठमाडौंको माहोल तातेको छ । ३० असोजदेखि सुरु हुने संघको महाधिवेशनमा सहभागी हुन विश्वभरका नेपालीहरू काठमाडौं आउने क्रम जारी छ । २ कात्तिकमा हुने निर्वाचनका लागि एक सय नौजनाले उम्मेदवारी दर्ता गरेको संघका निर्वाचन आयुक्त चिरञ्जीवी ढकालले बताए । सोमबार उम्मेदवारी दर्ता बन्द हुँदासम्म अध्यक्षका पदका लागि चारजनाले उम्मेदवारी दिएका छन् । संघका वर्तमान अध्यक्षद्वय डा. बद्री केसी, रबिना थापा र उपाध्यक्षद्वय राजेन्द्रकुमार शर्मा (आरके) र महेश श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, ६ जना उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दिएका छन् । एकजना महासचिवका लागि दुईजना गौरीराज जोशी र बुद्धिप्रसाद सुवेदीले उम्मेदवारी दिएका हुन् । उपमहासचिवममा दुईजना रहन पाउने व्यवस्था छ । तर, संघका पाँचजनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, ६ जना सचिव पदका लागि भने १५ जनाले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्ष एक र युवा उपाध्यक्ष एक रहन पाउने व्यवस्था छ, जसमा दुई–दुईजनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी शुल्क आधा घटाइयो
अध्यक्षको उम्मेदवारी शुल्क पाँच लाख र उपाध्यक्षको तीन लाख ५० हजार तोकिएको छ । यो रकम अघिल्लोपटकको भन्दा ५० प्रतिशत कम हो । संघले चुनावलाई मितव्ययी बनाउन उम्मेदवारी शुल्क पनि घटाएको हो । महासचिवका लागि तीन लाख रुपैयाँ, उपमहासचिवका लागि दुई लाख ७५ हजार रुपैयाँ, सचिवका लागि दुई लाख ५० हजार रुपैयाँ, कोषाध्यक्ष पदका लागि दुई लाख ५० हजार, सहकोषाध्यक्षका लागि दुई लाख, क्षेत्रीय संयोजकका लागि ८७ हजार पाँच सय, क्षेत्रीय उपसंयोजकका लागि एक लाख २५ हजार तोकिएको छ ।
त्यस्तै, महिला र युवा उपाध्यक्षका लागि एक लाख ७५ हजार रुपैयाँ, महिला सचिव पदका लागि एक लाख २५ हजार रुपैयाँ, महिला सहकोषाध्यक्षका लागि एक लाख रुपैयाँ, महिला र युवा संयोजकका लागि ८७ हजार पाँच सय, क्षेत्रीय महिला संयोजकका लागि ६२ हजार पाँच सय, क्षेत्रीय महिला उपसंयोजकका लागि ५० हजार, क्षेत्रीय युवा संयोजकका लागि ६२ हजार पाँच सय, क्षेत्रीय युवा उपसंयोजकका लागि ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकका लागि पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । महिला र युवाका लागि संघ उम्मेदवारी शुल्क ७५ प्रतिशत छुट गरेको संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले बताएका छन् ।
प्यानल बनाउँदै अध्यक्षका प्रत्याशी
निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका प्रत्याशीहरूले आ–आफ्नो प्यानल बनाउन थालेका छन् । अध्यक्षका प्रत्याशी आरके शर्माको समूहमा उपाध्यक्षमा जापानका रोबिन्द श्रेष्ठ, मलेसियाका खगेन्द्र न्यौपाने, कतारका राज रेग्मी, अमेरिका अभिमानसिंह बस्नेत, नेदरल्यान्डका शशिकान्त पौडेल, जर्मनीका विजय मोक्तान, युवा उपाध्यक्षमा युएईका अब्बदुल वासिद रहेका छन् । त्यस्तै, उपमहासचिव कतारका प्रबिन गुरुङ, सचिवमा युएईका मनोज श्रेष्ठ र कोषाध्यक्षमा युएईका ठाकुर ढुंगानाको नाम अगाडि सारिएको छ ।
अध्यक्षका प्रत्याशी महेश श्रेष्ठको टिममा उपाध्यक्षमा अमेरिकाका डा. केशव पौडेल, अमेरिकाकै सुनील शाह, बेल्जियमका गंगाधर गौतम, नेदरल्यान्डका नारायणप्रसाद आचार्य, युवा उपाध्यक्षमा क्यानडाका विमल सापकोटा र महिला उपाध्यक्षमा बेलायतबाट रोजिन प्रधान राई रहेका छन् । त्यस्तै, महासचिव बुद्धिसागर सुवेदी अमेरिका, उपहासचिव सोम सापकोटा युके, सचिवमा कृष्णजीवी पन्त अमेरिका, दयानिधि सापकोटा युके, भीम केसी पोर्चुगलको नाम अगाडि सारिएको छ भने महिला संयोजक अनुजा प्रधान बेल्जियमको नाम टुंग्याइएको छ ।
डा. केसीको टिममा भने उपाध्यक्षमा बेलायतका डा. हेमराज शर्मा, जापानका रोबिन शेरचन, अष्ट्रेलियाका धर्मराज अधिकारी, बेलायतबाट रामशरण सिंखडा, महिला उपाध्यक्षमा साउदी अरबबाट यास्मिन बेगमको नाम टुंग्याइएको छ । त्यस्तै, महासचिव अमेरिकाबाट गौरीराज जोशी र कोषाध्यक्षमा जापानबाट सुदन थापा निश्चित गरिएको छ । त्यस्तै, अध्यक्षकी प्रत्याशी रबिनाले थापा र विनय अधिकारीबीच सहमति भएको छ । विनय अधिकारीले रबिना थापालाई समर्थन गर्ने प्रतिबद्धतासहित चुनावी मैदानबाट बाहिरिएका छन् । रबिना थापाले औपचारिक रूपमा आफ्नो प्यानल भने सार्वजनिक गरेकी छैनन् । थापाले आफू स्वच्छ निर्वाचन प्रणालीमा विश्वास राख्ने बताउँछिन् ।
संघको विधानमा प्यानल बनाउन नपाइने व्यवस्था छ । तर, उम्मेदवारहरूले भने सामाजिक सञ्जालमा सामूहिक तस्बिर सार्वजनिक गरेका छन् । अध्यक्षका प्रत्याशी डा. बद्री केसीले भने आफूले औपचारिक रूपमा कुनै पनि प्यानल नबनाएको बताए । आफ्नो एजेन्डासँग मेल खाने उम्मेदवारबीच सामञ्जस्यता बढे पनि प्यानल नभएको बताए । ‘निर्वाचित भएर आउने सबै साथीहरू मेरै प्यानल हुन्,’ उनले भने ।
त्यस्तै, अध्यक्षका प्रत्याशी आरके शर्माले पनि औपचारिक रूपमा प्यानल नै नबनाएको बताए । शुभचिन्तक उम्मेदवारले हौसला बढाउन सामूहिक तस्बिर र सूची सार्वजनिक गरेको हुन सक्ने उनले बताए । तर, अध्यक्ष प्रत्याशी महेश श्रेष्ठले भने निर्वाचन प्रणालीमा नै त्रुटि भएको बताए । ‘विधान नै संशोधन गर्नुपर्छ,’ उनले भने ।
महिला र युवा उम्मेदवारको उत्साहजनक सहभागिता
गैरआवासीय नेपाली संघ नेतृत्व तहमा महिला र युवा पुस्ताको उपस्थिति पनि बढ्न थालेको छ । आगामी निर्वाचनका लागि दुई दर्जनभन्दा बढी महिलाले उम्मेदवारी दिएका छन् । संघको अध्यक्षका वर्तमान कार्यसमिति अध्यक्ष रबिना थापाले नै उम्मेदवारी दिएकी छिन् । त्यस्तै, उपाध्यक्षमा साउदी अरबबाट यास्मिन बेगम र बेलायतबाट रोजिन प्रधान राईले उम्मेदवारी दिएका छन् ।
सचिव हङकङकी टीका गुरुङले उम्मेदवारी दिएकी छिन् । महिला सहकोषाध्यक्षमा अमृता थापाले उम्मेदवारी दिएकी छिन् । तृष्णा शर्माले पनि महिला सहकोषाध्यक्षको पदमा उम्मेदवारी दिएकी छिन् । त्यस्तै, कतारकी सरिता भण्डारी पौडेलले मध्यपूर्व महिला उपसंयोजकमा उम्मेदवारी दिएकी छिन् । बेल्जियमबाट अन्जु प्रधानले महिला संयोजकका लागि उम्मेदवारी दिएकी छिन् । देविका केसीले पनि महिला संयोजकका लागि उम्मेदवारी दिएकी छिन् ।
त्यस्तै, युवा पुस्ताको पनि उतिकै सहभागिता रहेको छ । आगामी निर्वाचन युवा पुस्ताबाट स्वतन्त्र प्रताप शाहले सचिव पदका लागि उम्मेदवारी दिएका छन् । त्यस्तै, जापानका रोशन थापाले युवा उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । बेल्जियमबाट भीमसेन थापाले युरोप क्षेत्र उपसंयोजक पदका लागि उम्मेदवारी दिएका छन् ।
आजदेखि गैरआवासीय नेपाली संघको महाधिवेशन सुरु
गैरआवासीय नेपाली संघको ११औँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुने भएको छ । संघले ‘नेपालीका लागि नेपाली’ र ‘ज्ञान र रूपान्तरण समृद्धिको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने संघले जनाएको छ ।
३ कात्तिकमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मेलनको समापन हुनेछ । त्यसबीचमा विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष सत्रको आयोजना गरिएको छ । यसैगरी, २ कात्तिकमा संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ ।
संघको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेसनमार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ । नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ ।