बिआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

चीनले आयोजना गर्न लागेको ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार बेइजिङ पुगेका छन् । चिनियाँ सहर छेन्दु हुँदै श्रेष्ठ साँझ बेइजिङ पुगेका हुन् । बिआरआई सम्मेलन १ र २ कात्तिकमा हुँदै छ । 

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठको भ्रमण भएको हो । उनको भ्रमणलाई चीन सरकारले द्विपक्षीय भ्रमणको ‘प्रोटोकल’मा राखेको छ । 

उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार बिहान त्यानमेन स्क्वायरमा चिनियाँ नेता माओको समाधिस्थल पुग्ने र दिउँसो नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । मंगलबार साँझ उनी चिनियाँ राष्ट्रपतिद्वारा बिआरआई सम्मेलनमा सहभागी उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित स्वागत समारोहमा सहभागी हुनेछन् । सम्मेलनमा यसपालि ४० देशका राष्ट्रप्रमुख/सरकार प्रमुख सहभागी हुने तय भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, स्वकीय सचिवद्वय सुरेशकाजी श्रेष्ठ र सुमन आचार्य रहनेछन् । 

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ मन्त्रीहरू तथा शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी १ कात्तिकमा बिआरआई सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुँदै छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने सम्मेलनको उद्घाटनपछि उपप्रधानमन्त्री श्रेष्ठ सोही दिन आयोजित ग्रिन डेभलपमेन्ट हाई लेभल फोरम अफ बिआरआई समिटमा सहभागी हुनेछन् । उक्त कार्यक्रमका मुख्य वक्ताका रूपमा श्रेष्ठले बिआरआईबारे नेपालको धारणा राख्ने कार्यक्रम छ । 

उपप्रधानमन्त्री श्रेष्ठले २ कात्तिकमा चीनको आपतकालीन व्यवस्थापन मामिलामन्त्री वाङ सियाङ्चीसँग भेटवार्ता गर्नेछन् । दुई देशबीच विपद् व्यवस्थापनमा गर्न सकिने सहकार्यका विषयमा छलफल हुनेछ । चीनले नेपाललाई गर्न सक्ने सहयोगका विषयमा एजेन्डा नै लिएर नेपाली प्रतिनिधिमण्डल गएको छ । 

यसैगरी, उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियाङचाउ र समकक्षी वाङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । सबै भेटवार्ताहरू प्रधानमन्त्री प्रचण्डको पछिल्लो चीन भ्रमणमा भएका सहमति कार्यान्वयनमा केन्द्रित हुनेछन् ।  

सुझावित समाचार