प्रेरक प्रसंग : भित्तालाई एक कप कफी !

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

जापानको टोकियो सहरनजिकको एक गाउँ आफ्नो खुसियालीका लागि प्रसिद्ध थियो । एकपटक एक पत्रकार त्यस गाउँको खुसियालीको कारण बुझ्न बिहानै गाउँमा पुगे । गाउँमा उनले एक कफी सप देखे । उनले मनमनै सोचे– यही कफी सपमा चुपचाप बसेर मानिसका गतिविधि नियाल्नुप¥यो । उनी कफी सपको एक कुर्सीमा बसे र एक कप कफी अर्डर गरे । 

कफी सप सहरका रेस्टुरेन्टजस्तै झकिझकाउ देखिन्थ्यो । तर, त्यहाँ आउने मानिसका कतिपय गतिविधि भने उनलाई अनौठा लागे । उनी पसेको केही समयपछि एकजना मानिस त्यहाँ आए । उनले दुई कप कफीको पैसा तिर्दै भने– दुई कप कफी ! एक कप मेरा लागि र एक कप त्यो भित्ताका लागि । पत्रकारले भित्तातिर हेरे, तर त्यहाँ कोही पनि थिएन । वेटरले ती आगन्तुकलाई कफी दिए र कागजको एउटा टुक्रा लिएर त्यही भित्तामा टाँसिदिए । जसमा लेखिएको थियो– एक कप कफी ! 

त्यहाँ के भइरहेको छ भनेर पत्रकारले बुझ्न सकेनन् । उनी थप केहीबेर बसेर यसको रहस्य बुझ्ने कोसिसमा लागे । केहीबेर पछि एक गरिब मजदुर त्यहाँ आइपुगे । फाटेका थोत्रा लुगा लगाएका भए पनि उनी आत्मविश्वाससाथ कफी सपमा पसे र आरामसाथ एक कुर्सीमा बसे । यसरी मजदुरले कफी सपमा बसेर पैसा बर्बाद गर्नु पत्रकारलाई ठिक लागेन । तर, उनले कुनै प्रतिक्रिया जनाएनन् । एकैछिनमा वेटर अर्डर लिन मजदुरनजिक पुगे । मजदुरले भने– भित्ताबाट एक कप कफी ! वेटरले पैसा नलिईकनै मजदुरलाई एक कप कफी दिए र भित्ताबाट ‘एक कप कफी’ लेखेको टुक्रा निकालेर डस्टबिनमा फालिदिए । 

यो सब देखेपछि बल्ल पत्रकारले यथार्थ बुझे । गाउँका मानिसको गरिब र अभावग्रस्त मानिसप्रतिको यो सद्भाव देख्दा उनी भावविभोर भए । गाउँलेले अरूलाई सहयोग गर्न जुन तरिका अपनाएका थिए, त्यसले गाउँका गरिब तथा अभावग्रस्त गाउँलेलाई पनि आत्मसम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गरेको थियो । यो सब देखिसकेपछि पत्रकारलाई गाउँको खुसियालीको रहस्यबोध भयो । र, उनी खुसीसाथ सहर फर्किए ।

सुझावित समाचार