बडादसैँको अवसर पारी आयोजना गरिएको ३५ वर्षमाथिका पुरुष भेट्रान्स कप भलिबलको उपाधि पोखरा– १९ को चनौटेले जितेको छ।
पोखरा– १६ बाटुलेचौरस्थित राजपँधेरा टोल विकास संस्थाले आयोजना गरेको दोस्रो संस्करणको प्रतियोगिताको फाइनलमा लामाचौरलाई सोझो सेटमा पाखा लगाउँदै चनौटेले उपाधिसँगै च्याङ्ग्रा, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पायो।
उपविजेता लामाचौरले भेडा, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। कार्यक्रममा ह्यान्ड बलकी अन्तर्राष्ट्रिय खेलाडी विमला भुजेललाई मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
१० टिमले सहभागिता जनाएको प्रतियागिताका विजेता टिमलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, आयोजक संस्थाका अध्यक्ष एवं प्रतियोगिता संयोजक मीनबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।