स्पिनर दीपेश कँडेलले ९.५ ओभरमा चार रन खर्चिएर ६ विकेट लिएपछि नेपालले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बहराइनलाई सात विकेटले हराएको छ । मलेसियाको बायोमास ओभलमा बहराइनलाई ७७ रनको योगफलमा सीमित पार्ने क्रममा दीपेशले करिअरकै उत्कृष्ट बलिङ गरेका थिए । खेलका प्लेयर अफ दी म्याच दीपेशले ९.५ ओभरमा आठ मेडन राखे । उनले ५९ बलमा ५७ बल डट फ्याँकेका थिए । गत फागुनमा उनले संयुक्त अरब इमिरेट्सविरुद्धको फाइनलमा ह्याट्रिक विकेट लिएका थिए ।
उनको उत्कृष्ट प्रदर्शनसँगै नेपाल सात वर्षपछि यू–१९ विश्वकप क्रिकेट प्रतियोतिगामा स्थान बनाउन सफल भएको थियो । बायुमासमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमै अलआउट भएको थियो । बहराइनविरुद्ध नेपालका कप्तान देव खनालले दीपेशलाई दोस्रो ओभरमा बलिङ गर्न लगाएका थिए । पाँच खेलाडी शून्यमा आउट भएका थिए । मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाएका थिए । उनले ७७ बलमा दुई चौका र दुई छक्का हिर्काएका थिए ।
नेपाल शीर्ष स्थानमा
प्रतियोगितामा लगातार दोस्रो जितपछि नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले हराएको थियो । कप्तान देवले शतकीय इनिङ्स खेलेका थिए । अब अन्तिम खेल बिहीबार साउदी अरेबियासँग खेल्ने तालिका छ । समूहमा साउदीको पनि चार अंक छ । नेट रनरेटमा नेपाल शीर्ष स्थानमा छ । लगातार दुई खेलमा पराजित बहराइन र इरान प्रतियोगिताबाट बाहिरिएका छन् ।
७८ रनको लक्ष्य पछ्याएको नेपाल ११.४ ओभरमा तीन विकेट गुमाउँदै विजयी भएको थियो । नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले अविजित ३२ रनको इनिङ्स खेले । देवले २७ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । अर्जुनले ३१ बलमा पाँच चौका हिर्काएका हुन् ।