कोशीबाट नयाँ दाउपेच सुरु

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

कोशी हुँदै सातदलीय गठबन्धन भत्काएर केन्द्रको सत्ता राजनीतिमा ‘कम ब्याक’ गर्ने एमालेको रणनीति, प्रदेशमा पहल गुमेपछि समीकरण सुरक्षित गर्ने योजनामा सत्तागठबन्धनका शीर्ष नेता

कोशीको बहाव अझै असन्तुलित 

- केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेको समर्थन लिएका कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग गठबन्धन कायमै राख्ने सहमति गरेर दुवै पक्षलाई राखे ‘इंगेज’
- कार्की कुन पक्षबाट मुख्यमन्त्री हुन् भन्ने  मन्त्रिपरिषद् गठनले गर्नेछ छिनोफानो 
- मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै काठमाडौं आएका कार्की मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा कांग्रेस र एमालेका नेताहरूसँग परामर्शमा
- कार्कीलाई विश्वासको मत दिन्छौँ, गठबन्धनलाई झनै बलियो बनाएर जान्छौँ : पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
- गठबन्धन टुटिसक्यो, एमालेको समर्थनमा बनेको सरकारमा सहभागी हुन्छौँ : पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव, एमाले
- दुवै पक्षले विश्वास र शंका गरेको अवस्था छ, पर्ख र हेरकै रणनीतिमा छौँ : मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख, कांग्रेस

केदार कार्की कोशीका आठौँ मुख्यमन्त्री
कोशीका प्रदेश प्रमुख परशुराम खापुङ शनिबार नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै । नियुक्त भएलगत्तै कार्कीले भने, ‘असमयको मध्यावधि निर्वाचन रोकेर संघीयताको रक्षाका लागि सांसदहरूले मलाई मुख्यमन्त्री बनाएका छन् । अब मन्त्री एमालेबाट हुन्छन् कि गठबन्धनबाट अझै यकिन भइसकेको छैन ।’

कोशी प्रदेशको मुुख्यमन्त्रीमा कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका आठ गरी ४७ प्रदेश सभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । तर, सत्तागठबन्धनले पनि उनलाई स्वीकार गर्ने र विश्वासको मत दिने निर्णय लिएपछि कोशीको राजनीतिमा नयाँ दाउपेच सुरु भएको छ । 

आफ्नो समूहका नेतालाई मुख्यमन्त्री बनाउन एमालेका प्रदेश सभा सांसदहरूको समर्थन लिएका कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग गठबन्धन कायमै राख्ने सहमति गरेर दुवै पक्षलाई ‘इंगेज’ राखेका छन् । त्यसैले प्रश्न कायमै छ– कोशीको मुख्यमन्त्री कार्की डा. कोइराला–एमाले पक्षका वा गठबन्धन कसका हुन् ? 

एमाले नेताहरूले पुरानो गठबन्धन भत्किएर कोशीमा नयाँ समीकरण बनेको र त्यहीअनुसार मन्त्रिपरिषद् गठन हुने बताएका छन् भने प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूले डा. कोइरालासँगको सहमतिले गठबन्धनलाई कायमै राखेको दाबी गरेका छन् । कार्कीलाई विश्वासको मत दिने निर्णय लिए पनि मन्त्रिपरिषद्मा सहभागी हुनेबारे गठबन्धनले केही निर्णय गरेको छैन ।

शुक्रबार रातिसम्म कार्कीको उम्मेदवारी फिर्ताको प्रयास असफल भएपछि गठबन्धनका नेताहरूबीच कार्कीलाई गठबन्धनको मुख्यमन्त्रीमा स्विकार्ने र केन्द्रमा रहेको गठबन्धन कायम गर्ने सहमति बनेको हो । सत्तागठबन्धनमा गठबन्धन जोगाउन कोशीमा कार्कीलाई मुख्यमन्त्री स्विकार्ने रणनीति लिए पनि एमालेको समर्थनमा बनेको सरकारलाई कसरी समर्थन गर्ने भन्ने अन्योल कायमै छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता डा. कोइरालाबीच कोशीका कारण सत्तागठबन्धन टुट्न नदिने र थप बलियो बनाएर जाने सहमति भएको थियो । ‘हामी वर्तमान सत्तागठबन्धनप्रति दृढ र स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौँ,’ प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र नेता कोइरालाले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ ।

मुख्यमन्त्रीमा नियुक्तिपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वको सरकार हुने प्रतिक्रिया दिएका छन् । चितवनको भरतपुर विमानथस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै देउवा र नेता कोइरालासँग लिखित सहमति भइसकेकाले कार्कीलाई केन्द्रको गठबन्धनले पनि विश्वासको मत दिने बताए ।

उनले कोशीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउने, तर सर्वपक्षीय सरकारको सम्भावना नभएको बताएका थिए । ‘वास्तवमा एउटा समस्या थियो, तर त्यसलाई सेटलमेन्टमा लगिएको छ । यसले अन्ततः गठबन्धन बलियो हुने ठाउँतिर नै अगाडि बढ्छ । म, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच गठबन्धन अझै दृढ बनाउन स्पष्ट छौँ र कुनै पनि हालतमा गठबन्धनलाई कमजोर बनाउने नदिने समझदारी बनाएका छौँ । अब कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ, उहाँ हामी सबैको मुख्यमन्त्री हुनुभएको छ । समस्याको सेफ ल्यान्डिङ गरिएको छ । कोशीमा कार्कीलाई विश्वासको मत दिन्छौँ, गठबन्धनलाई झनै बलियो बनाएर जान्छौँे,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । 

कांग्रेस संस्थापनले तत्काल गठबन्धन जोगाउन शंकासहित कार्कीलाई मुख्यमन्त्री स्विकार्ने सहमति बनेको जिकिर गरेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तिम अवस्थामा पार्टीको असन्तुष्टि व्यवस्थापन गरेर गठबन्धन जोगाउने गरी सहमति बनेको बताए । उनले सरकारमा सहभागिता र समर्थनलगायत विषयमा घटनाक्रमका आधारमा निर्णय लिइने बताए । 

‘तत्कालका लागि गठबन्धनमा उत्पन्न परिस्थिति र पार्टीको टुटफुटलाई जोगाउने गरी डा. शेखर कोइराला सहमत हुनुभएको हो । हामीले गठबन्धनको मुख्यमन्त्रीका रूपमा स्वीकार गरेका छौँ । मुख्यमन्त्री नियुक्तिमा हामीले कुनै बाधा अवरोध गरेनौँ,’ विश्वकर्माले भने, ‘एमालेले समर्थन गरेकाले उहाँहरूबीच छलफल होला । त्यसपछिका घटनाक्रमका आधारमा सरकारमा सहभागि हुने–नहुने लगायत विषय टुंगो लाग्छन् । दुवैले विश्वास पनि गरेको अवस्था छ, दुवैले शंका पनि गरेको अवस्था छ । यसपछिका पर्ख र हेरकै रणनीतिमा छौँ ।’ 

अर्कोतर्फ एमालेले आफ्नो समर्थनमा कांग्रेस नेृतत्वमा सरकार बनेसँगै पुरानो गठबन्धन तोडिएको दाबी गरेको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धन टुटिसकेकाले एमाले र कांग्रेसबाट विद्रोह गरेकालाई समेटेर मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे । ‘उहाँहरूले गठबन्धन जोगायौँ भनेर भन्दैमा हुँदैन, गठबन्धन टुटिसक्यो । एमालेको समर्थनमा बनेको सरकार हो, एमाले सरकारमा सहभागी नहुने भन्ने हुँदैन, आइतबार शपथपछि सानो आकारको मन्त्रिपरिषद् बन्छ । एमाले र कांग्रेसबाट समर्थन गरेका साथीहरूमध्येबाट मन्त्री बन्नुहुन्छ । को–को सहभागी हुने भन्ने छलफलकै क्रममा छ,’ गुरुङले नयाँ पत्रिकासँग भने । 

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ठोस निष्कर्षमा नपुगेको र पार्टीमा पर्याप्त छलफलबाट टुंगो लाग्ने बताए । ‘केन्द्रमा गठबन्धन जोगाउने तीन नेताबीच सहमति भएको छ । मुख्यमन्त्री पनि नियुक्त भइसक्नुभएको छ । तर, त्यसपछिको परिस्थितिको विश्लेषण हुन बाँकी छ । सरकारमा सहभागी हुने–नहुने या के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले पार्टीमा छलफल हुन बाँकी रहेको बताए । ‘हामी छलफल गरेर टुंगो लगाउँछौँ,’ उनले भने । मुख्यमन्त्री नियुक्त भएलगत्तै शनिबार नै कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । 

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेश सभा सदस्यले प्रदेश प्रमुखको कार्यालयमा गएर हस्ताक्षर सनाखत गरेका थिए । काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले डा. कोइरालासँग सहमति गरेपछि सनाखतमा गठबन्धनका इन्द्रबहादुर आङ्बो पक्षका सांसदहरू उपस्थित भएनन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि कोशी प्रदेश सभा सदस्य कार्कीले र माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७–४७ सांसदको हस्ताक्षर बुझाएका थिए । त्यसमा आठजना कांग्रेस सांसदको दुवैतिर हस्ताक्षर थियो । सोही कारण प्रमुख खापुङले प्रमाण खुल्ने प्रमाणपत्रसहित सशरीर कार्यालयमा उपस्थित भई सनाखत गराउने निर्णय लिएका थिए । यस्तो सनाखतमा कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शमशेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका थिए । 

कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । उनले विश्वासको मत नपाए प्रदेशमा मध्यावधिमा जाने एक मात्र विकल्प रहनेछ ।

आज शपथ, एमाले र कांग्रेसको कोइराला समूहबाट मन्त्री नियुक्तिको तयारी, दसैँअघि विश्वासको मत
नवनियुक्त मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिनेछन् । लगत्तै मन्त्रिपरिषद् गठन गर्ने उनको तयारी छ । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै काठमाडौं आएका कार्की मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा पार्टी नेताहरूसँग परामर्शमा जुटेका छन् ।

कार्कीलाई समर्थन गर्नेमध्येका कांग्रेस सांसद शमशेर राईका अनुसार आइतबार एमाले र कांग्रेसबाट एक–एकजना विनाविभागीय मन्त्री बनाउने तयारी छ । मुख्यमन्त्री कार्कीले दसैँअघि नै विश्वासको मत लिने मनसाय राखेको सांसद राईले बताए ।

‘मुख्यमन्त्री काठमाडौंमा नेताहरूसँग छलफल गरिरहनुभएको छ । केन्द्रमा सहमतिका आधारमा बाँकी विषय टुंगो लाग्ला । तर, आइतबार शपथपछि एमाले र कांग्रेसबाट एक–एकजना विनाविभागीय मन्त्री बनाउने तयारी छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘दसैँअघि नै विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।’ 

काठमाडौंमा सहमति, विराटनगरमा सनाखत
शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता डा. कोइरालाबीच कोशीका कारण सत्तागठबन्धन टुट्न नदिने र थप बलियो बनाएर जाने सहमति भएको थियो ।

‘हामी वर्तमान सत्तागठबन्धनप्रति दृढ र स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौँ,’ प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र नेता कोइरालाले हस्ताक्षर गरेको सहमतिपत्रमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले डा. कोइरालासँग सहमति गरेपछि सनाखतमा गठबन्धनका इन्द्रबहादुर आङ्बो पक्षका सांसदहरू उपस्थित भएनन् ।

शेखर समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसदले प्रदेश प्रमुखको कार्यालयमा गएर सनाखत गरे । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरे । कोशीको सरकारको स्वामित्वलाई लिएर दुई पक्षबीच आ–आफ्नो दाउपेच सुरु भएको छ ।

सुझावित समाचार