केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ। देउवानिवास धुम्बाराहीमा बसेको बैठक भोलि बस्ने गरी सकिएको हो।
कोशी प्रदेशमा आगामी सरकार गठनबारे पार्टीका प्रदेश सांसदहरू विभाजित भएपछि देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार फेरि एकपटक शेखरसँग छलफल गरेर काेशीकाे टुंगो लगाउने निर्णय भएको छ।
उनले भने, ‘फेरि एकपटक शेखरसँग बसेर छलफल गरेर टुंगो लगाउँछौँ। भोलि बिहान बैठक बस्छ। विद्रोह गर्नेलाई के कारबाही भन्ने पछिको विषय हो। अहिले पार्टीलाई पनि मिलाउनु छ, गठबन्धन पनि जोगाउनु छ।’
कोशीमा नयाँ सरकार गठनका लागि आह्वान भएको निर्धारित समयको अन्त्यतिर सत्तागठबन्धनको निर्णयविपरीत कांग्रेस सांसद केदार कार्कीले आफ्ना सात सांसदसहित एमालेका सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ।
धुम्बाराही स्रोतका अनुसार प्रधानमन्त्रीले मिलेर आउन र केदार कार्कीको नाम फिर्ता लिएर अर्को कांग्रेसकै व्यक्तिको नाममा सहमत हुन सकिने सन्देश पठाएका छन्।