पछिल्लो समय नेपालको राजनीतिमा ‘स्ट्रङ म्यान’को आवश्यकतासम्बन्धी भाष्य निर्माण भइरहेको छ । अंग्रेजी शब्द ‘स्ट्रङ म्यान’को नेपाली शब्दकोशमा ‘बलियो मान्छे’ भन्ने अर्थ बुझिन्छ । गाउँदेखि सहर, चिया पसलदेखि विद्यालय कलेज, बस स्टेसनदेखि एरपोर्टसम्म, बाटो, होटेल जताततै आमनेपालीले चर्चा गर्ने ‘स्ट्रङ म्यान’ भौतिक रूपमा भन्दा पनि राजनीतिक रूपमा बलियो भन्ने सहज अनुमान लगाउन सकिन्छ ।
नेपालको विद्यमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाले ‘स्ट्रङ म्यान’को आवश्यकता खोजेको हो कि होइन ? बहस त होला, तर जताततै सुनिने र हालसम्म नदेखिएको ‘स्ट्रङ म्यान’को भाष्य भने जबर्जस्त रूपमा उठिसकेको सबैले अनुभूति गरेको हुनुपर्छ । स्ट्रङ म्यानको भाष्य निर्माणको अन्तर्य हाम्रा अहिलेका राजनीतिक नेतृत्वको विकल्पको खोजी पनि हो कि भन्ने अनुमान गर्न सकिन्छ । हुन त विश्व इतिहासमा ठुल्ठूला राजनीतिक र आर्थिक संकटको समयमा स्ट्रङ म्यानहरूको उदय भएको पाइन्छ । जसका विषयमा यस आलेखमा अलिक पछि चर्चा गरिनेछ ।
नेपालमै पनि प्रजातान्त्रिक नेताहरू बिपी कोइराला, मदन भण्डारीलगायत एकतन्त्रीय राणाशासनको सुरुवात गर्ने जंगबहादुर राणादेखि एकदलीय निरंकुश पञ्चायती व्यवस्थाको बीजारोपण गर्ने राजा महेन्द्रलाई पनि नेपाली जनताले स्ट्रङ म्यानकै दर्जामा राखेको पाइन्छ । तथापि को, कति र कस्तो स्ट्रङ रह्यो इतिहास र नेपाली जनताले मूल्यांकन गरेकै होलान् । यस आलेखमा भने हाल नेपाली जनताले खोजेको ‘स्ट्रङ म्यान’को विनिर्माण गर्ने कोसिस गरिनेछ ।
सुरु गरौँ, आमनेपाली आज किन स्ट्रङ म्यानको खोजीमा पुगे त ? भन्ने प्रसंगबाट । विभिन्न अध्ययन अनुसन्धानअनुसार शीतयुद्धपश्चात् जति पनि प्रजातान्त्रिक मुलुक राजनीतिक संकटमा फसे, त्यसको मुख्य कारक तिनै मुलुकको नेतृत्व लिएका प्रजातान्त्रिक नेताहरूको क्रियाकलापलाई जिम्मेवार ठहर्याइएको छ ।
भेनेजुएला, बोलिभिया, इक्वेडर, पेरु, चिली, हंगेरी, रसिया, पाकिस्तानलगायत कतिपय मुलुकमा प्रजातान्त्रिक नेतृत्व आफ्नो पदबाट बलात च्युत हुनेदेखि लिएर कतिपय प्रजातान्त्रिक मुलुक हेर्दाहेर्दै निरंकुशतन्त्रमा परिणत भएकोसम्म पाइन्छ । सुरक्षा निकाय, न्यायालय, कर्मचारीजस्ता राज्यका महत्वपूर्ण निकायप्रति जनताको विश्वास शून्यप्रायः हुनेदेखि बेरोजगारी, गरिबी, असुरक्षा, भ्रष्टाचार, नातावाद/कृपावादजस्ता मिल्दाजुल्दा विषय नै यी मुलुकको संकटका कारण भेटिन्छन् ।
वास्तवमा कुनै प्रजातान्त्रिक मुलुक किन र कसरी राजनीतिक संकट हुँदै निरंकुशतामा परिणत हुन्छ ? भनेर अमेरिकाको येल विश्वविद्यालयका प्राध्यापक प्रोफेसर युआन लिंजले आफ्नो प्राध्यापनको लामो समयसम्म धेरै गहिरो अध्ययन गरे । उनले आफ्नो निष्कर्षसहित सन् १९७८ मा ‘प्रजातान्त्रिक शासनहरूको असफलता’ नामको पुस्तकसमेत प्रकाशित गरे । पुस्तकमा उनले कुनै पनि प्रजातान्त्रिक मुलुक गहिरो राजनीतिक संकट हुँदै निरंकुशतामा परिणत हुनुमा मुख्य भूमिका त्यही मुलुकको प्रजातान्त्रिक नेतृत्वकै हुने बताए । उनले प्रजातान्त्रिक मुलुक असफलता वा निरंकुशताको खतरामा जाने चारवटा संकेत बताएका छन् ।
ती चारवटा संकेतमध्ये उनले कुनै पनि प्रजातान्त्रिक नेतृत्वले प्रजातान्त्रिक नियम/पद्धतिको विकास नगर्नुलाई खतराको मुख्य संकेत भनेका छन् । उनका अनुसार कुनै पनि प्रजातान्त्रिक नेतृत्वले प्रजातन्त्रलाई बलियो र जीवन्त राख्न न्यायालय, निर्वाचन आयोग, सुरक्षालगायत सुशासन कायम गर्न स्थापित निकाय स्वतन्त्र र अराजनीतिक राख्नुपर्छ । यदि यस्ता निकाय स्वतन्त्र रहेनन् भने प्रजातन्त्रमाथि खतराको घन्टी सुरु हुन्छ भन्ने उनले उल्लेख गरेका छन् । अन्य संकेतमा भने नागरिक समाजप्रतिको अनादर, स्वतन्त्र सञ्चारमाथि धाबा, हिंसालाई प्रश्रयलगायतलाई बताएका छन् । प्रजातान्त्रिक नेतृत्वको गलत निर्णय र व्यवहारले प्रजातन्त्रमा संकट आउने र मुलुकमा राजनीतिक, आर्थिक संकट उत्पन्न भएर निरंकुशता आउन सक्ने उल्लेख गरेका छन् ।
हाम्रा न्यायालयदेखि सुरक्षा निकाय, भ्रष्टाचारलगायत अख्तियारको दुरुपयोग भए–नभएको छानबिन गरी सुशासन कायम गर्ने निकाय, शैक्षिक संस्थानलगायत सम्पूर्ण निकाय राजनीतिक दलहरूको भागबन्डामा परेकाले त्यसलाई सच्याएर सुशासन कायम गर्न सक्ने ‘स्ट्रङ म्यान’ आजको आवश्यकता हो
अब हेरौँ हाम्रा प्रजातान्त्रिक नेतृत्वबाट हाम्रो प्रजातन्त्रमा खतराको संकेत आयो कि आएन भनेर । सन् १९९० मा प्रजातन्त्र पुनस्र्थापनापश्चात् स्वतन्त्र रहनुपर्ने र सुशासन कायम गर्नुपर्ने सम्पूर्ण निकायमा भएका नियुक्तिलाई मात्रै हेर्ने हो भने यी निकायको राजनीतिक नेतृत्वबाट जानेर वा नजानेर हुर्मत लिएको देखिन्छ । न्यायालयदेखि सुरक्षा निकाय, भ्रष्टाचारलगायत अख्तियारको दुरुपयोग भएको छानबिन गरी सुशासन कायम गर्ने निकाय, शैक्षिक संस्थानलगायत सम्पूर्ण निकाय राजनीतिक दलहरूको भागबन्डामा परे । अझ कतिपय सार्वजनिक पद त राजनीतिक दल तथा तिनका नेताले बिक्री गरेको भन्नेसम्म सार्वजनिक बहस तथा छलफलमा सुनियो ।
कुनै अमुक राजनीतिक दलको निगाहमा नियुक्त भएको व्यक्तिले गर्ने निर्णय र प्रदान गर्ने न्याय कसरी निष्पक्ष होला ? यस्ता कैयौँ उदाहरण छन्, जहाँ सुशासन कायम गर्नुपर्ने र स्वतन्त्र न्याय प्रदान गर्नुपर्ने निकायबाट पक्षपातपूर्ण व्यवहार र निर्णय भएका छन्, जसको परिणाम आज आमजनता यी सम्पूर्ण महत्वपूर्ण प्रजातान्त्रिक संस्था र निकायप्रति रत्तिभर विश्वास नगर्ने अवस्थामा पुगेका छन् ।
यो संरचनागत बेथितिलाई बेरोजगारी, गरिबी, महंगीजस्ता विषयले तीव्रता दिएका छन् । जसका कारण आमनेपाली प्रजातन्त्र र राजनीतिप्रति विकर्षित तथा प्रजातान्त्रिक नेतृत्वप्रति आक्रोशित देखिन्छन् । यही अवस्थामा नेपालमा भविष्य छैन भन्ने निष्कर्षमा पुगेका उच्च र मध्यमवर्गीय युवा लाखौँ खर्चेर अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता विकसित मुलुकतिर दौडेका छन् भने निम्नमध्यम र निम्नवर्गीय हजारौँ युवा आफ्नो भविष्य खोज्न खाडी मुलुक छिरेका छन् । यो पुस्ता नै हो, आजको राजनीतिक नेतृत्वप्रति चरम निराश र आक्रोशित भएको । किनकि, यो पुस्ताले आजको मुलुकको सम्पूर्ण बेथितिको मुख्य कारक हाम्रा राजनीतिक नेतृत्व र उक्त नेतृत्वसँग जोडिएका अन्य राजनीतिक नेतालाई नै ठान्छ । त्यसैले यो पुस्ता एउटा ‘स्ट्रङ म्यान’को खोजीमा रहेको सहजै अनुमान गर्न सकिन्छ ।
कस्ता कस्ता स्ट्रङ म्यान : अब छोटो चर्चा गरौँ, विगतमा विश्व राजनीतिमा कस्ता–कस्ता स्ट्रङ म्यानहरूको उदय भयो ? बेनिटो मुसोलिनी रोमका राजा भिक्टर इम्मानुएल तेस्रोको अनुरोधमा मिलानमा अक्टोबर ३०, १९२२ मा स्ट्रङ म्यानका रूपमा आएका थिए । त्यसवेलाको रोम राजनीतिक, सामाजिक र आर्थिक रूपमा अस्तव्यस्त थियो । तत्कालीन राजाले परिस्थितिलाई सम्हाल्न नसकेपछि अब स्ट्रङ म्यानले मात्र रोम बचाउन सक्छ भनेर मुसोलिनीलाई प्रधानमन्त्रीका रूपमा ल्याएका थिए ।
चाखलाग्दो विषय त रोममा कुनै समय जनताका आदर्श र आदरणीय मानिएका ठूला प्रजातान्त्रिक नेतृत्वहरूले समेत मुसोलिनीलाई स्ट्रङ म्यानका रूपमा प्रशंसा गरे । मुसोलिनीले प्रधानमन्त्री हुनासाथ ‘सेक्रेट पोलिस’ स्थापना गरेर सम्पूर्ण राजनीतिक प्रतिद्वन्द्वी, न्यायालय, सुरक्षाजस्ता स्वतन्त्र निकायलाई सखाप पारे । अन्ततः उनी एउटा तानाशाहका रूपमा स्थापित भए ।
इतिहासका अर्का स्ट्रङ म्यान हिटलर पनि जनवरी १९३३ मा जर्मनीमा तात्कालीन राष्ट्रपति पल भन हिन्डेनबर्गको अनुरोधमा चान्सलरका रूपमा नियुक्त भएका थिए । त्यसवेलाको जर्मनीको राजनीतिक अवस्था पनि असाध्यै चुनौतीपूर्ण थियो । विश्व आर्थिक मन्दीको कारण बेरोजगारी र गरिबी बढिरहेको थियो । यस्तो चुनौती सामना गर्नकै लागि तात्कालीन राष्ट्रपतिले उनलाई स्ट्रङ म्यान ठानेर चान्सलरमा नियुक्त गरेका थिए । तर, चान्सलर नियुक्त भएको तीन वर्षभित्र उनका विरोधी दल, दलका नेता र संस्था कोही बाँकी रहेनन् र उनी पनि एउटा तानाशाहका रूपमा उदय भए ।
भर्खरैको इतिहासमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वान १९९८ मा लोकतान्त्रिक प्रजातान्त्रिक नेताका रूपमा प्रधानमन्त्री चुनिए र २००२ सम्म पदमा रहे । तर, २०१० देखि उनै ओर्बान एक प्रजातान्त्रिक निरंकुश शासकका रूपमा पुनः उदय भए ।
त्यस्तै, अमेरिकाका ३२औँ राष्ट्रपति रुजवेल्ट (जो १९३३ देखि १९४५ सम्म राष्ट्रपति रहे) लाई पनि स्ट्रङ म्यानका रूपमा चिनिन्छ । किनकि, २०औँ शताब्दीका ठूला संकटका रूपमा चिनिने ठूलो विश्व आर्थिक मन्दी र दोस्रो विश्वयुद्धले संसारलाई चुनौती दिइरहेको अवस्थामा त्यसवेलाको शक्तिशाली राष्ट्र अमेरिकाको नेतृत्व रुजवेल्टको हातमा थियो । आन्तरिक र बाह्य राजनीति तथा आर्थिक अवस्था अत्यन्तै चुनौतीपूर्ण भए पनि रुजवेल्टले अमेरिकालाई लोकतान्त्रिक मुलुककै रूपमा कायम राखे र असफल हुनबाट बचाए ।
उनको सफलताको मुख्य भूमिका तात्कालीन कोलम्बिया विश्वविद्यालयका तीनजना प्रोफेसरलाई जान्छ । ती प्रोफेसर रुजवेल्टका मुख्य सल्लाहकार टोलीको नेतृत्व गर्थे, जसलाई इतिहासमा ‘ब्रेन ट्रस्ट’का रूपमा पनि चिनिन्छ । उनीहरूले रुजवेल्टलाई बलिया लोकतान्त्रिक संस्था निर्माण गर्न र दीर्घकालीन महत्व राख्ने सुधारका काम गर्न प्रेरित गरे र रुजवेल्टले पनि त्यसैअनुसार कार्य अघि बढाए ।
कठिन राजनीति र आर्थिक अवस्थामा सन् १९४० देखि १९४५ सम्म र पुनः १९५१ देखि १९५५ सम्म बेलायतका प्रधानमन्त्री भएका विन्स्टन चर्चिललाई पनि विश्व राजनीतिक इतिहासमा स्ट्रङ म्यानका रूपमा चिनिन्छ । उनले पनि दोस्रो विश्वयुद्धको कठिन घडी र विश्व आर्थिक मन्दीको चपेटाबाट बेलायतलाई जोगाए । उनलाई लोकतान्त्रिक प्रजातन्त्र जोगाएर राखेकामा ठूलो श्रेय जान्छ । दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, जो कालाजातिका पहिलो राष्ट्रपतिका रूपमा सन् १९९४ मा निर्वाचित भए र १९९९ सम्म पदमा बसे । सन् १९९९ पछि मन्डेलाले आफ्नो दल ‘अफ्रिकी नेसनल कंग्रेस’ र सम्पूर्ण राजनीतिबाट अलग भएको घोषणा गर्दै शक्ति र सत्ताभन्दा माथि उठेर एउटा आदर्श राजनीतिज्ञको उदाहरण विश्वसामु प्रस्तुत गरे ।
यसैगरी, सिंगापुरका प्रथम निर्वाचित प्रधानमन्त्री ली क्वान यु, जो सन् १९५९ देखि १९९० सम्म शासनसत्तामा रहे, उनलाई पनि इतिहासमा स्ट्रङ म्यानकै रूपमा चिनिन्छ । भर्खरै बेलायती साम्राज्यबाट मुक्त अस्तव्यस्त, गरिब पूर्वी एसियाको टापु देश सिंगापुरलाई छोटो समयमै आर्थिक रूपले एक सम्पन्न मुलुकका रूपमा स्थापित गराउने श्रेय उनैलाई जान्छ ।
हामीले खोजेको स्ट्रङ म्यान : नेपालीले अहिले खोजिरहेको स्ट्रङ म्यान कस्तो होला ? भन्ने कुतूहल सबैमा छ, तर यसको स्पष्ट उत्तर कसैसँग छैन । कुरैकुरामा उनीहरू भन्छन्– यस्तो मान्छे नेतृत्वमा आओस्, जसले सम्पूर्ण भ्रष्टाचारीलाई पाता फर्काएर जेलमा कोचोस्, मुलुकमा रोजगारी सिर्जना गरोस्, उद्योगधन्दा स्थापना गरोस्, सबैलाई न्याय दिन सकोस् र मुलुकमा अमनचैन कायम गर्न सकोस् । सत्य कुरा बोल्न र गर्न कोहीसँग नडराउने, नझुक्ने बलियो मान्छे । । समष्टिमा भन्नुपर्दा, नेपालीले राजनीतिक र सामाजिक रूपमा लोकतान्त्रिक तर आर्थिक रूपमा निरंकुश नेतृत्वको खोजी गरेका छन् । अब एकछिन सोचौँ त, यस्तो व्यक्ति को हुन सक्ला ?