चिनीका लागि पसल चहार्दै उपभोक्ता

कोक र पेप्सीको मौज्दात चिनी खरिद वा सापट लिएर बजारमा पठाउने सरकारी प्रयास

शुक्रबार, २६ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौंको लोलाङ हाइटमा बस्ने विमला न्यौपानेले बुधबार दिनभर किराना पसल चहार्दा पनि चिनी पाउन सकिनन् । दसैँका लागि आवश्यक चिनी नपाएपछि आत्तिएकी उनले आठदेखि १० वटा पसलको दौडधुपपछि तीन किलो चिनी लिएर गइन्, त्यो पनि प्रतिकिलो एक सय ३५ रुपैयाँ हालेर । उनले भनिन्, ‘दसैँको मुखमा चिनी पाउन पनि दिन नै माया मार्नुपर्ने, त्यो पनि किलोको एक सय ३५ रुपैयाँ हालेर बल्ल–बल्ल पाइयो ।’

विमला न्यौपाने मात्र नभएर काठमाडौंको ढुंगेधारा बस्ने मुकेश पुडासैनी पनि चिनी पाउनै मुस्किल भएको बताउँछन् । उनका अनुसार पाँच किलो चिनी लिन खोज्दा पसलेले दुई किलो मात्र दिन सकिने बताए । उनले भने, ‘पसलेले नै बजारमा चिनी छैन, माग धेरै छ, दुई किलो मात्र दिन सकिन्छ भनेपछि त्यही भए पनि ल्याएँ, साबिकको मूल्यभन्दा झन्डै ४० रुपैयाँ हालेर ।’

विमला न्यौपाने र मुकेश यतिवेला प्रतिनिधि पात्र उपभोक्ता मात्र हुन् । पछिल्लो समय सरकारको आधिकारिक विक्रेता खाद्य व्यवस्था तथा व्यापार कम्पनी र नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनसँगै यतिवेला चिनीको हाहाकार छ । दसैँका लागि सहुलियत पसलमार्फत उपभोक्तालाई राहत दिनुपर्नेमा सरकारका दुई आधिकारिक कम्पनीमै चिनीको हाहाकार भएपछि प्रत्येक एक परिवारलाई दुई किलो दरले चिनी वितरण गरिएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक बज्रेश झाले यतिवेला चिनीको मौज्दात निकै न्यून रहेको बताए । उनले भने, ‘यतिवेला चिनीको कुरै सुन्न मन लाग्दैन, हामीसँग मौज्दात निकै कम छ, सरकारले हामीलाई चिनी खरिद गर्न नदिएको तीन वर्ष भइसक्यो, चिनीको व्यवस्था सरकारले पहल गर्नुपर्छ ।’

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पनि सीमित समयका लागि मात्र चिनी मौज्दात रहेको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले बताइन् । उनले भनिन्, ‘साल्ट ट्रेडिङसँग भएको थोरै चिनी ल्याएर बिक्री गरेका छौँ, कति दिनसम्म वितरण गर्न सकिन्छ, त्यतिन्जेलसम्म बाँड्छौँ ।’

चिनी खरिदका लागि आह्वान गरेको भए पनि तत्काल चिनी आउन सम्भव नभएको उनको भनाइ छ । उनले भनिन्, ‘तत्काल चिनी ल्याउन हामीबाट सम्भव छैन, पक्रिया अघि बढाएका छौँ, अहिले जति भएको छ, त्यही बिक्री गरेका  हौँ ।’नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले कोकाकोला र पेप्सीसँग भएको मौज्दात चिनी दिन सकारात्मक भए पनि अझै ठोस निर्णय नभएको बताए । उनले भने, ‘हामीले उहाँहरूसँग पटक–पटक छलफल गरेका छौँ, संकटका वेला सरकारलाई सहयोग गर्न भनेका छौँ, तर ठोस निर्णय अझै आएको छैन ।’

उनका अनुसार कोकाकोला र पेप्सीले बेच्न चाहेमा साल्ट ट्रेडिङले किन्ने तथा सापटी पाए सापटी लिने तयारी छ । ठाकुरले भने, ‘अब धेरै कुरा छन्, कुन मूल्यमा दिने भन्ने कुरा दोस्रो पाटो भयो, तर पहिला चिनी दिन तयार हुनुप¥यो, अहिले यति भन्न सकिन्छ उनीहरू सकारात्मक छन् ।’

मन्त्रालय स्रोतका अनुसार आफूसँग रहेको चिनी दिन पेप्सीको लचकता भए पनि पेय पदार्थको कच्चा पदार्थ रहेको चिनी बजारमा पठाउन सहज नहुने र आफूलाई घाटा लाग्ने भन्दै कोकले आनाकानी जनाएको बताए । 

 १० बजे खुलेर पाँचै बजे बन्द हुन्छ सहुलियत पसल 
बालाजुको माछापोखरी बस्ने सकिना पोखरेल पाँच बजे कार्यालयको काम सकेर चिनी किन्न साल्ट टे«डिङ पुग्दा ढोका लागिसकेको थियो । ‘हतार–हतार काम सकेर आएको बन्द पो भइसकेछ,’ निराश हुँदै उनले भनिन्, ‘अफिस पाँच बजे छुट्टी हुन्छ, यहाँ आइपुग्दा बन्द पो भइसकेछ ।’

त्यस्तै, काठमाडौंको तिनकुने बस्ने रविना बस्नेत कार्यालय सहयोगीको काम गर्छिन् । पाँच बजे छुट्टी उनको दैनिक रुटिङ हो । सहुलियत पसलमा केही सस्तो पाइन्छ भनेर हतार–हतार साल्ड ट्रेडिङ पुगेकी उनी रित्तो हात फर्किइन् । उनले भनिन्, ‘पाँचे बन्द हुँदो रहेछ मलाई थाहा नै भएन, हतार–हतार दौडिर आएको काम लागेन ।’

खाद्य व्यापार कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले विगतमा पनि यही अभ्यास थियो, यसपटक पनि यही अभ्यास गरिएको बताइन् । उनले भनिन्, ‘बिहानैदेखि सञ्चालन गर्न पनि कर्मचारीको अभाव छ, अहिले भएकै समयमा पनि सेवा दिइरहेका छौँ, चाप बढ्दै गए ६ बजेसम्म सञ्चालन गर्नेछौँ ।’

 चिनी अभावबारे संसद्मा उठ्यो प्रश्न 
बजारमा भइरहेको चिनी अभावलाई लिएर सांसदहरूले प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रश्न सरकारसमक्ष प्रश्न उठाएका छन् । एमाले सांसद पदम गिरीले बजारमा चिनीमा कालोबजारी भइरहेको भन्दै सरकारलाई उपभोक्ताको अधिकार कुण्ठित नगर्न आग्रह गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले चाडपर्वको समयमा मूल्य नियन्त्रण हुनुपर्नेमा झनै बढेको र सरकारलाई मूल्य नियन्त्रण गर्न थप आग्रह गरेका छन् । सांसद प्रतिमा गौतमले बजारमा मूल्य नियन्त्रण गर्न सरकारले थप पहलकदमी लिनुपर्ने बताइन् ।

See More On

सुझावित समाचार