छुट्टी मकै भुट्टी’ भन्नेबित्तिकै धेरैलाई स्कुले जीवनको याद आउँछ । स्कुल पढ्दाताका छुट्टी हुनेबित्तिकै यो वाक्य प्रयोग गरेको धेरैलाई स्मरण पनि होला । यसको अर्थ हो–बिदा हुँदा स्वतन्त्रसँग रमाउन पाइन्छ, पढाइको तनाव हुँदैन, होमवर्कको भार हुँदैन, घरमा मकै भुटेर, खेलेर र खाएर रमाइलो गर्न पाइन्छ ।
आजभोलि स्कुल तहमा पढ्ने विद्यार्थी बिदामा बढी रमाउन खोज्छन् । अझ चाडबाडका वेला भएको बिदालाई उनीहरू निकै रोचक र रमणीय मान्छन् । किनभने यो बिदा अलि लामो हुन्छ । सधैँ किताब र पठनपाठनमा तल्लीन शिक्षक र विद्यार्थी यस बिदामा आआफ्नै तालमा रमाउँछन् । कोही आफ्ना नयाँ योजनाका काम गर्छन् । कोही घुम्न हिँड्छन् । कोही चंगा उडाउँछन् । कोही मामाघर जान्छन् । कोही अघिल्ला, सँगै र नयाँ पुस्तासँग नयाँ कुरा सिक्दै रमाउँछन्, कोही नयाँ परिकार खान्छन् ।
अझ दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्व निकै रमाइला पर्व हुन् । सरकारले यी पर्वका वेला लामो बिदा दिन्छ । यसपटक २८ असोजदेखि अधिकांश विद्यालयले दसैँ बिदा दिँदै छन् । चाडबाडको यति लामो बिदाले विद्यार्थी र शिक्षकलाई विशेष अवसर दिन्छ । यो बिदामा विद्यार्थीले आआफ्नो परम्परा र संस्कृति अनुसरण गर्न पाउँछन् । किताबीबाहेक समाज र संस्कृतिसँग घुलमिल हुन सक्छन् । विभिन्न समुदायका विविध सांस्कृतिक पर्व थाहा पाउँछन् र एकापसमा मिलेर सद्भावपूर्ण तरिकाले दसैँ–तिहार मनाउँछन् ।
सधैँ स्कुल गइराख्नुपर्ने, नियमित होमवर्क गर्नुपर्ने हुँदा विद्यार्थीहरू हैरान पनि हुन्छन् । तर, दसँै–तिहारलगायत अन्य पर्वमा पाइने बिदा उनीहरूका लागि रिफ्रेसमेन्ट हुने समय पनि हो । उनीहरू आफूले इच्छाएको काम गर्छन्, सिक्छन् र घुम्छन् । त्यसो त धेरै चाडबाडमध्ये दसैँ हरेकका लागि बढी रौनक पर्व पनि मानिन्छ । यस वर्षको अवसरमा कसैले मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्छन् भने कतिपय यही दसैँ–तिहार बिदाको जमर्को छोपेर रमाइलो र आफ्ना इच्छाका काम पूरा गर्नतिर लाग्छन् । देशभरका अधिकांश विद्यालय तथा क्याम्पसमा दसैँ–तिहार, नेपाल संवत् छठलगायत पर्वका वेला पठनपाठन नहुने भएकाले चाडबाडलक्षित गृहकार्यमा विद्यार्थीलाई सरिक गराउँछन् ।
यसपटकको दसैँ–तिहार, छठलगायत पर्वमा लगातार करिब ढेड महिनासम्म बिदा हुन्छ । शिक्षक विद्यार्थी सबैले आआफ्नै पाराले सेलिब्रेसन गरेर स्मरणीय बनाउने योजना अघि सारेका छन् । दसैँ–तिहारजस्ता मुख्य चाडपर्वको अवसरमा विद्यार्थीलाई फरक–फरक गृहकार्य र सिकाइ विद्यालयले गराउँदै छन् । यस बिदालाई विद्यार्थी निकै खुसीका साथ मनाउने योजनामा रहेको विद्यार्थीहरू बताउँछन् ।
ललितपुरको फुल्चोकी माविमा कक्षा ९ मा अध्ययनरत कृतिका देसार यसपटकको दसैँ बिदा हुनासाथ मामाघर जाने योजना बनाएकी छिन् । ‘बिदा भएपछि म सर्वप्रथम त मेरो मामाघर जान्छु, त्यहाँ हुनुभएको हजुरआमाको हातबाट टीका लगाएर आशीर्वाद लिन्छु,’ उनले आफ्नो दसैँ योजना सुनाइन्, ‘मामाघरबाट फर्किएपछि दिदी र दाइसँग घुम्न जान्छु, घुम्न जाँदा मिठा–मिठा खानेकुरा खान्छु, अन्त्यमा गृहकार्य गरेर दसैँ–तिहार बिदा सकाउँछु ।’ सोही स्कुलमा कक्षा पाँचमा अध्ययनरत छात्रा ज्योति गुरुङ पनि यसपटकको दसैँमा नयाँ लुगा किन्ने, मामाघर जाने, दसैँको टीका थाप्नेलगायत योजना बनाएकी छिन् । ‘टीका–जमरा लगाउँदै ठूलाबडाको आशीर्वाद लिन्छु,’ उनले सुनाइन्, ‘धार्मिक र पर्यटकीय ठाउँ घुम्छु, सबै पिर भुलेर परिवारसँग रमाउँदै रमझममा मग्न हुनेछु ।’
यसपटक २८ असोजदेखि देशभरका अधिकांश सरकारी तथा निजी विद्यालयले दसैँ बिदा दिँदै छन्, जसका कारण विद्यालयका कक्षाकोठामा भेटिने शिक्षक र विद्यार्थी अध्ययन–अध्यापन बिर्सेर निस्फिक्री दसैँमा रमाउने योजनामा छन् ।
फुल्चोकी माविमै कक्षा ९ मा अध्ययनरत करुणाकुमारी बानुले पनि यसपटकको दसैँमा थुप्रै योजना बनाएकी छन् । दुर्गामाता र लक्ष्मी, सरस्वतीको पूजाआजा गर्ने, दसैँको टीका र जमरा लगाउने, धार्मिक स्थलको सरसफाइ गर्ने, गरिब र दुःखीहरूलाई सहयोग गर्ने, दुर्गामाताका लागि कपडा किनेर ल्याउनेलगायत योजना बनाएकी छिन् । ‘दसँै–तिहार, नेपाल संवत्, छठलगायत चाडबाड मलाई निकै मनपर्छ, त्यसैले पनि मैले धेरै योजना बनाएकी छु,’ उनले सुनाइन्, ‘यो बिदामा जीवनका लागि चाहिने सामाजिक कुरा पनि सिक्न पाइन्छ ।’
बौद्धस्थित जनकल्याण माविमा कक्षा १ मा पढ्ने एलिसिवा परियारले मामाघर र गाउँ गएर दसैँ मनाउने सुनाइन् । ‘मलाई दसैँमा गाउँ जान र मामाघर जान मनपर्छ,’ उनले सुनाइन्, ‘दसैँमा मिठो–मिठो खानेकुरा खान्छु ।’ सोही स्कुलमा कक्षा पाँचमा पढ्ने मनीषा आचार्यले दसैँमा पिङ खेलेर र ठूलाबडाको आशीर्वाद लिएर मनाउने योजना बनाएको बताइन् । ‘दसैँ–तिहार हाम्रो महान् चाड हो, यो बिदामा म गाउँ जान्छु, आमाबुबाले गरेको काम सिक्छु,’ उनले सुनाइन्, ‘गहृकार्य पनि गर्छु ।’
विद्यार्थीलाई चाडबाड सिकाउँदै वागेश्वरी
भक्तपुरमा रहेको वागेश्वरी माविले दसैँ–तिहार र नेपाल संवत्को अवसरमा चाडबाडसँग सम्बन्धित बृहत् साहित्य सम्मेलन गर्दै छ । जसमा विद्यार्थी, अभिभावक र शिक्षकहरू सहभागी हुनेछन् । दसैँको द्वादशी र त्रयोदशीका दिन साहित्य गीत प्रस्तुत गर्ने र टोल–टोलमा मौलिक बाजागाजा गरिनेछ । त्यसमा विद्यार्थीहरू पनि सहभागी हुनेछन् । विद्यालयले दसैँ–तिहारमा लामो बिदा हुने भएकाले यस बिदामा विद्यार्थीको पढ्ने बानी नहटोस् भनेर नयाँ–नयाँ किताब अध्ययन गर्न सिफारिस गरेको छ भने गृहकार्य पनि दिएको विद्यालयका कक्षा ११ र १२ संयोजक ज्ञानसागर प्रजापति बताउँछन् । ‘दसैँ–तिहार, नेपाल संवत्, छठलगायत पर्वका वेला विद्यार्थीलाई सांस्कृतिक कुराहरू सिकाउँछौँ,’ उनी भन्छन्, ‘नयाँ–नयाँ किताब पढ्न उत्साहित गर्छौं ।’
शिक्षकको दसैँ योजना र सिकाइ
बौद्धस्थित जनकल्याण माविका शिक्षकले यसपटक दसैँ–तिहारको बिदालाई पर्यटकीय तथा धार्मिक स्थल घुमेर मनाउने मुख्य योजना अघि सारेका छन् । नेपालसँगै भारतका ऐतिहासिक, रमणीय र पर्यटकीय क्षेत्र घुम्ने योजना शिक्षकहरूले अघि सारेका छन् । ‘यो समयमा चाडबाड मनाउनुको साथै समयको व्यवस्थापन गरेर घुमघाम पनि गर्ने योजना बनाएका छौँ,’ जनकल्याण माविमा कक्षा ११ र १२ मा सामाजिक विषयकी शिक्षिका भगवती कार्कीले सुनाइन्, ‘यो बिदालाई सदुपयोग गर्ने हो भने धेरै कुरा सिक्न र रमाइलो गर्न पाइन्छ ।’
दसैँ–तिहार, लोसार, छठ, नेपाल संवत्लगायत पर्व र चाडमा विज्ञान छ भनेर सिकाउनु अहिलेको आवश्यकता हो । नयाँ पुस्ताले हरेक कुरामा विज्ञान खोज्छ र त्यसमा सिकाउने र बुझाउने दायित्व हाम्रो हो । नेपालमा पुस्ता र दक्षताको हस्तान्तरण भएको छैन ।
सोही विद्यालयकी प्रअ कुमारीकमला राईले पनि चाडबाडका वेला अलि धेरै बिदाको समय हुने भएकाले यसलाई व्यवस्थापन गरेर पनि आफ्ना रहर पूरा गर्न सकिने बताइन् । ‘परिवार र साथीभाइसँग रमाइलो गर्ने, घुम्ने, नयाँ–नयाँ ठाउँहरूको अवलोकन गर्नेलगायत इच्छा दसैँ–तिहारको बिदामा पूरा गर्न पाइन्छ,’ उनले भनिन्, ‘सिकाइ र विद्यालय शिक्षाका सुधार ल्याउन सिक्षकको अवलोकन र अनुभव पनि महत्वपूर्ण पक्ष हो ।’
उनले बिदालाई सही सदुपयोग गर्ने हो भने यसबाट जीवनोपयोगी शिक्षा लिन सकिने बताइन् । फुल्चोकी माविका शिक्षक नवराज सञ्जेलले यसपटकको बिदामा के–के गर्ने भनेर कार्य विभाजन गरेका छन् । ‘मूलतः यो दसैँ–तिहार, नेपाल संवत् छठलगायत पर्वको अवसरमा हुने बिदाका दिन मैले प्राज्ञिक लेखनमा समर्पित गर्ने योजना बनाएको छु,’ उनले आफ्नो दसँै योजना सुनाए, ‘दर्शनशास्त्रबारे अध्ययन गर्ने, सिर्जनात्मक लेखनलाई निरन्तरता दिने, यसबाहेक परिवार र साथीसँग चाडबाडको रौनक र शुभकामना आदानप्रदान पनि भइहाल्छ ।’
वागेश्वरी मावि भक्तपुरका शिक्षकहरू यसपटक कोही भ्रमण, कोही सांस्कृतिक र सामाजिक कार्य गर्ने योजनामा छन् । ‘यस बिदामा कति शिक्षक घुम्न जानुहुन्छ, उहाँहरू घुमेपछि नियात्रा लेख्न लगाउँछौँ र वागेश्वरी पत्रिकामा नियात्रा प्रकाशन गर्छौं,’ कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले भने, ‘आआफ्नो संस्कारअनुसार पर्व मनाउनेबारे अनुभव आदानप्रदान गर्छौं, भक्तपुरमा म्हःपूजाको दिन सांस्कृतिक र्याली हुन्छ, यसमा विद्यार्थी र शिक्षक पनि सहभागी हुन्छन् ।’
बल्खुस्थित जनविकास माविकी प्रअ सीताकुमारी ढकालले दसैँ–तिहार, छठ, ल्होसार, नेपाल संवत्जस्ता मुख्य चाडपर्वबारे विद्यार्थीलाई सिकाउन आवश्यक हुने बताइन् । ‘हामीले पाठ्यपुस्तकसँगै विद्यार्थीलाई हाम्रो समाज, रीतिरिवाज, धर्म, संस्कृति र परम्पराबारे पनि सिकाउनुपर्छ,’ उनले सुनाइन्, ‘यो पनि एक प्रकारको सिकाइ हो, दसैँ बिदामा शिक्षकहरूले विभिन्न क्षेत्रको भ्रमण, अध्ययन र अनुभव बटुल्नुहुन्छ, यसलाई एकआपसमा आदानप्रदान गर्छौं ।’