नयाँ लाउने, मिठो खाने

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

दसैँ आउन अब केही दिन मात्र बाँकी रहँदा सहरबजारमा भिड बढ्न थालेको छ । चाडपर्व नजिकिँदै गर्दा नुनदेखि सुनसम्मको पसलमा मानिसहरूको लागेको हो । यतिवेला उपत्यकाका बजारमा सामानको किनमेल गर्ने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । 

राम्रो लगाउने, मिठो खाने विभिन्न खेल खेलेर मनोरञ्जन लिने परम्पराकै कारण यो समयमा मानिसले खाद्य सामग्रीदेखि लत्ताकपडासम्म किन्ने गरेका छन् । व्यापारीहरूको पनि वर्षभरिको तुलनामा अलि बढी दसैँमा कमाइ हुने गरेको छ । जसकारण महान् चाडलाई मानेर बिक्री बढाउनका लागि अनेक उपाय लगाउँछन् । यो समयमा अन्य समयमा भन्दा दोब्बरतेब्बर व्यापार हुने व्यापारीहरू बताउँछन् ।

व्यवसायीले बिक्री परिमाण बढाउन विभिन्न छुटको अफर ल्याउने, धेरै सामानको खरिदमा अर्को सामान निःशुल्क दिने, विभिन्न स्थानमा भ्रमणको प्याकेज ल्याउनेलगायतका गतिविधि गर्ने गरेका छन् । यसपटकको दसैँलाई पनि उमंगका साथ मनाउने वातावरण तयार गर्न व्यवसायीहरूले पसल तथा सपिङ मलमा ग्राहकलाई आकर्षित गर्नका लागि दसैँलाई लक्षित गरेर विभिन्न छुटसहितको अफरको योजना सार्वजनिक गरिरहेका छन् ।

सडकदेखि विभिन्न मल तथा सपिङ सेन्टरहरूमा समेत मानिसको चहलपहल यतिवेला बढेको छ । उपत्यकाका मुख्य व्यापारिक क्षेत्र– असन, न्युरोड, भृकुटीमण्डप, भाटभटेनी सुपरमार्केटलगायत सजावटले भरिनुका साथै उपभोक्ताको भिड बढिरहेको छ । दसैँ मनाउनका लागि उपत्यकाबाहिर जाने मानिसहरूले आफ्ना परिवारका सदस्यका लागि केही न केही नयाँ सामान उपहार लाने हुनाले पनि बजारमा सामान अत्यधिक मात्रामा बिक्री हुने गर्छ ।

राम्रो लगाउने, मिठो खाने विभिन्न खेल खेलेर मनोरञ्जन लिने परम्पराकै कारण यो समयमा मानिसले किनमेल धेरै गर्छन्

दसैँ हुँदा खाने र हुनेखानेका लागि बराबरी भएकाले योग्यता र क्षमताअनुसारको दसैँ मान्ने चलन छ । दसैँमा ऋण गरेरै भए पनि राम्रो लगाउने र मीठो खाने गरेका छन् । खाद्यान्न लत्ताकपडा मात्र नभएर दसैँको समयमा तरकारी बजार, दूध डेरी, मिठाई पसलहरूमा पनि अत्यधिक भिड लाग्छ । साबिकको मूल्यभन्दा केही महँगो हुने र कालोबजारी र अखाद्य मिसावट सामानमा कैफियत हुने हुँदा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले बजार अनुगमनलाई पनि तीव्रता दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि साबिकभन्दा धेरै टोली खटाएर अनुगमनसमेत गरेको छ । 

विगत तीन वर्षअघिको भन्दा यस वर्षको दसैँ फरक देखिएको छ । कोरोना भाइरस संक्रमणको कारणले चलपहल घटेको बजारमा यस वर्ष संक्रमणको संकट टरेसँगै खुलेर किनमेल गर्न पाएका छन्, सहरमा भिडभाड झनै बढेको छ ।मिठो खाने र राम्रो लगाउनका लागि खर्चको जोहो गर्न थालेका छन् ।

उपभोक्ताको सहजताका लागि सरकारी निकायले सहुलियत पसल, र खसी, बोका र च्यांग्रालगायतको व्यवस्था पनि गरिदिएको छ । विभिन्न छुटमा अन्य पसलभन्दा सस्तो पाइने हुँदा भिड लागेको छ । दसैँ भन्नेबित्तिकै सानो बालकदेखि वृद्धसम्म नयाँ लगाउने, मिठो खाने र रमाइलो गर्ने परम्परा विगतदेखि नै चलिआएको चलनलाई उत्साहपूर्वक मनाउने परम्पराले एकअर्कोको भाइचारा सम्बन्धलाई समुधर बनाउने हुँदा एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ ।

दसैँमा महँगी, रोगको संक्रमण, विपत् परिस्थितिलाई पनि बिर्सिएर खुसी मनाउने चलन छ । यस समयमा व्यापारीहरू उपभोक्तालाई लुगा, कपडालगायत दसैँमा खपत हुने विभिन्न वस्तुमा अफर ल्याउने गर्छन् । कोभिडपछि घटेको दसैँ किनमेल यस वर्ष करिब ३० प्रतिशतले बढेको व्यापारीहरू बताउँछन् ।

व्यवसायीले बिक्री परिमाण बढाउन विभिन्न छुटको अफर ल्याउने, धेरै सामानको खरिदमा अर्को सामान निःशुल्क दिने, विभिन्न स्थानमा भ्रमणको प्याकेज ल्याउनेलगायतका गतिविधि गर्ने गरेका छन्

नेपाल राष्ट्रिय व्यापार व्यवसायी महासंघको संस्थापक अध्यक्ष नरेश कटुवालले कोभिडको समयभन्दा यसपटक किनमेल होलसेलमा ४० प्रतिशतले बढेको र खुद्रा व्यापारमा चहलपहल पनि बिस्तारै भिड लाग्न थालेको बताए । उनले भने, ‘अघिल्ला केही वर्ष कोभिडले निराश बनाएको बजारमा यस वर्ष मन्दीकै बीच पनि केही चहलपहल देखिएको छ, व्यापारको समय अझै छ ।’

विदेशी उत्पादनले भन्दा यस वर्ष नेपाली उत्पादनले बजार पाएको उनको भनाइ छ ।यसपटक चीन, भारतको भन्दा नेपाली उत्पादनको जुत्ता, चप्पल र नेपाली कपडाको व्यापार देखिएको कटुवालले बताए । उनले भने, ‘विदेशी सामानमा भन्सार महँगो हुँदा सामान महँगो भएको छ, स्वदेशी केही सस्तो पनि छ, त्यसैले उपभोक्ता नेपाली सामानतिर बढी आकर्षित छन् ।’

विगतको भन्दा यसपटक ५० प्रतिशतले व्यापार घटेको नेपाल समुद्रपार व्यापार संघका अध्यक्ष विनोद के सेठियाले बताए । उनले भने, ‘यसपटक व्यापार कम हुन्छ भन्ने पहिला नै अनुमान थियो, त्यसमा पनि आर्थिक मन्दीले व्यापार नहुँदा त्यति उत्साहित हुन सकिएको छैन ।’

दसैँका लागि २० करोडको फलफूल
दसैँका लागि यस वर्ष २० करोड रुपैयाँको फलफूल आउने भएको छ । गत वर्ष २५ करोड रुपैयाँको फलफूल खपत भएको नेपाल फलफूल व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए । उनले भने, ‘यसपटक व्यापार घटेको छ, उपभोक्ता चाप पनि छैन, त्यसैले कम फलफूल आइरहेको छ ।’

स्वदेशी केरा र मुस्ताङको स्याउ गरी करिब ४ करोड, विदेशी १६ करोड गरी २० करोड रुपैयाँबराबरको खपत हुने अनुमान गरेको उनको भनाइ छ । दसैँको समयमा विशेषगरी चकलेटी स्याउ, केरा, नरिवललगायत मिठाईहरू सबैभन्दा बढी बिक्री हुने गर्दछ । अन्य समयको भन्दा दसैँको समयमा दोब्बर व्यापार हुने उनको भनाइ छ । उनले भने, ‘दैनिक उपभोग्य वस्तु हो, तर दसैँमा दोब्बरतेब्बर व्यापार हुन्छ ।’

सुझावित समाचार