सुरक्षित यात्राको कामना

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

अघिपछिभन्दा दसैँमा सार्वजनिक यातायातमा यात्रुको चाप बढी हुन्छ । यसवेला सवारीसाधनकै आवतजावत पनि बढी हुने गर्छ । तर, अघिपछिको भन्दा जोखिमपूर्ण यात्रा पनि यतिवेलालाई नै मानिन्छ । सवारीसाधनले बढी यात्रु बोक्ने र बढी टिप गर्न द्रुत गतिमा कुद्नेलगायतका कारणले दसैँ यात्रा जोखिमपूर्ण पनि मानिन्छ । साथै, यही मौकामा चोरी गर्ने, अवैध सामानको ओसारपसार गर्ने सम्भावना पनि बढ्छ । त्यसमाथि सडकको अवस्था पनि राम्रो छैन ।

थुप्रै सडकमा खाल्डाखुल्डी छन् भने कालोपत्रे पनि उक्किएको छ । यद्यपि, जोखिमका बाबजुद दसैँकेन्द्रित सवारी यात्रालाई सुरक्षित, सहज र भरपर्दाे बनाउन आवश्यक छ ।यो अवस्थामा सुरक्षाको विषयलाई ध्यान दिएर मात्रै यात्रा गर्नुपर्ने विज्ञहरू बताउँछन् । सडकको अवस्था, सवारीचालकको बानीबेहोरा, सवारीसाधनको प्राविधिक अवस्थाजस्ता आधारभूत पक्षहरू विश्लेषण गरेर यात्रा सुरु गर्नुपर्ने विज्ञहरूको भनाइ छ । 

यसपालिको दसैँ आगामी ७ कात्तिकमा छ । दसैँ नजिकिएसँगै अहिले सवारीसाधनको आवातजावत बढ्दै गएको छ । २८ असोजमा रहेको घटस्थापनापछि यस्तो चाप झन् बढ्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, राष्ट्रिय यातायात व्यवसायी महासंघलगायतका सरोकारवालाहरू यात्रालाई सहज र सुरक्षित बनाउन अग्रसर भएका छन् । यद्यपि, यसपालि त्यसमा चुनौती पनि देखिएको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २६ असोजदेखि ११ कात्तिकसम्म रुट परमिट खुला गरिएको छ । योसँगै सार्वजनिक यातायात कुनै पनि रुटमा गुड्न पाउनेछन् । यसले सवारीसाधनको व्यवस्थापन सहज हुनेछ ।

व्यवसाय, रोजगारी, अध्ययनलगायतका उद्देश्यसहित लाखौँ सर्वसाधारण परिवारबाट छुट्टिएर संघीय राजधानी काठमाडौंलगायतका ठूला सहरमा बस्दै आएका छन् । जब दसैँ, तिहार तथा छठजस्ता ठूला पर्व आउँछन्, त्यसपछि भने उनीहरू आफ्नै परिवारसँग चाडपर्व मनाउन आफ्नै घर जान्छन् । त्यसले गर्दा यो वेला सवारीसाधन र यात्रुको आवतजावत बढी हुने गर्छ । दसैँ मनाउन काठमाडौंबाट मात्रै १८ लाख हाराहारी यात्रु बाहिरिन्छन् । त्यसमाथि यसपालि यात्रुको चाप बढी देखिएको छ । 

२६ असोजबाट रुट परमिट खुला
यसपालि दसैँमा यात्रुको चाप बढी हुने देखिएपछि सरकारले घटस्थापनाभन्दा दुई दिनअघि अर्थात् २६ असोजदेखि नै सवारीसाधनको रुट परमिट खुला गर्ने निर्णय गरेको छ । पहिलाका दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म यस्तो परमिट खुला गरिन्थ्यो । त्योअनुसार २८ असोजबाट यस्तो परमिट खुला हुनुपर्ने हो । तर, यसपालि २६ असोजदेखि ११ कात्तिकसम्म रुट परमिट खुला गरिएको छ । योसँगै २६ असोजदेखि सार्वजनिक यातायात कुनै पनि रुटमा गुड्न पाउनेछन् ।

यसले सवारीसाधनको व्यवस्थापन सहज हुने विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । यसैगरी, सोही अवधिका लागि ठूला मालवाहक गाडीलाई नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको छ । त्यस अवधिमा खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने ठूला सवारीसाधन मात्रै सञ्चालन गर्न दिने यातायात व्यवस्था विभागले निर्णय गरिसकेको छ । दसैँको समयमा सवारी आवागमन उच्च मात्रामा हुने गर्छ । फलस्वरूप सडक जाम हुनेलगायतका समस्या पनि देखिन्छन् । सोही अवस्थालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको हो । 
हेल्थ चेकदेखि भाडादरको सुनुवाइ 
यातायात व्यवस्था विभागले नै दसैँ यात्रालाई सुरक्षित बनाउन सार्वजनिक सवारीसाधनको हेल्थ चेक (कन्डिसन चेकचाँच) गर्नुपर्ने नीति पनि ल्याएको छ । यो वेला गाडीको आवश्यकता बढी हुन्छ । त्यो माग पूर्ति गर्न कतिपय व्यवसायीले कन्डिसन राम्रो नभएका गाडी पनि सञ्चालनमा ल्याउँछन् । त्यसले दुर्घटनाको जोखिम निम्त्याउँछ । त्यसैले गाडीको कन्डिसन चेकजाँच गर्ने नीति पनि ल्याइएको छ । यात्राका क्रममा प्रहरीले नै यसबारे पनि चेकचाँज गर्नेछ । साथै, यात्रुलाई ठगिनबाट बचाउन अधिकांश टिकट काउन्टरमा भाडादरबारे जानकारी दिने बोर्ड राखिएको छ । यो वेला गाडीहरूले बढी भाडा लिने गरेको पनि पाइन्छ । त्यसबाट बच्न विभागले अधिकांश बसपार्क तथा काउन्टरमा उक्त बोर्ड राखेको छ । 

प्रहरीले गर्दै छ यी काम
दसैँकेन्द्रित यात्रालाई सुरक्षित बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीले पनि अनुमगनसम्बन्धी कार्यलाई अघि बढाएका छन् । दसैँ नजिकिएसँगै प्रहरीले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ । यसैगरी, ‘यात्रुसँग एक मिनेट’ भन्ने कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । त्यसक्रममा प्रहरीले चालकले रक्सी सेवन गरे÷नगरेको, सवारीसाधनको गतिको अवस्था, भाडादरको विषयमा यात्रुसँग जानकारी लिनेछन् । यसैगरी, लामो र छोटा दूरीका गाडीलाई आवश्यकताअनुसार ठाउँ–ठाउँमा चेकचाँज गरिनेछ । लामो दूरीका गाडीमा शौचालय भए÷नभएको पनि चेकजाँच गरिनेछ ।

सुझावित समाचार