स्वच्छ ऊर्जामा लगानी गर्न ग्लोबल आइएमईले २५ मिलियन डलर ऋण लिँदै

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जिसिपिएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । ऋण लिनेसम्बन्धी सहमतिपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको हो ।  उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवद्र्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनामा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ ।

जिसिपिएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको बैैंकले जनाएको छ । वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने बैंकले विश्वास व्यक्त गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका अनुसार जिसिपिएफले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरूमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको छ । उक्त संस्थासँगको सहकार्य तथा प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र ऊर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने उनले बताए ।  

नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, ऊर्जा क्षेत्रमा प्रभावकारिता एवं दक्षता वृद्धि गर्न तथा नवीकरणीय ऊर्जा परियोजनामा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पुर्याउने दुवै पक्षले विश्वास लिएको जनाइएको छ ।

बैंकले देशका ७७ वटै जिल्लामा कुल तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर का साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार