त्रिभुवन विमानस्थलकाे कार्गो भवनमा ‘फ्ल्याप गेट’ सञ्चालन

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज बुधबारबाट कार्गो भवनमा प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ।

अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको हो। प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने ‘वाई’ पासबाहकले मात्र यो गेट पार गर्न सक्छन्। 

गत २ साउनमा कार्गो भवनबाट गाडीको ब्रेकसुभित्र लुकाइछुपाई अवैध सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको हो। 

उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि भन्सार कार्यालयले कार्गो बिल्डिङ प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको हो।

त्रिभुवन विमानस्थल प्रवेशका लागि अंग्रेजी अल्फाबेट ‘ए’देखि ‘एल’सम्मको पास उपलब्ध गराइन्छ। कार्गो भवन प्रवेशका लागि भने अंग्रेजी अल्फाबेट वाई पास उपलब्ध गराइएको हो। 

सर्वसाधारणहरू आफ्नो मालवस्तु छुटाउनका लागि भन्सार एरियामा प्रवेश गर्नु परेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ। 

हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड–अनलोड गर्ने श्रमिकलाई मात्र फोटोसहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए। 

‘यसबाट अनधिकृत व्यक्तिको प्रवेश र अवैध सामान आयात अन्त्य हुन्छ,’ पाण्डेले भने, ‘यसका लागि हामीले मापदण्ड तयार पारी यो पास वितरणलाई व्यवस्थित गरेका छौँ।’ 

भन्सार कार्यालयले यसअघि विमानस्थलको यात्रु आवागमनतर्फ बहमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो। यद्यपि, पछिल्लो समय अवैध सुन तथा मालवस्तु ल्याई दर्जनौँ व्यक्ति कानुनी कारबाहीमा पर्ने क्रम नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ।

सुझावित समाचार