सिटिइभिटीको ४१औँ समीक्षा गोष्ठी : भित्र शिक्षामन्त्री, बाहिर प्रशिक्षकहरूको आन्दोलन

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ४१औँ व्यवस्थापन समीक्षा गोष्ठी काभ्रेमा जारी छ। 

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको प्रमुख आतिथ्यतामा भएको समीक्षा गोष्ठी उद्घाटन समारोह चलिराख्दा बाहिर भने सोही परिषद्को विभिन्न शिक्षालयहरूका प्रशिक्षक बाहिर प्लेकार्ड लिएर आन्दोलन गरिरहेका छन्। 

बनेपा नगरपालिका– ५ स्थित बनेपा बहुप्राविधिक शिक्षालयको सभाहलभित्र मन्त्री राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भइरहेको थियो भने बाहिर प्रशिक्षकहरू प्लेकार्ड बोकेर आन्दोलन गरिरहेका छन्। करार प्रशिक्षकलाई परिषद्को परिभाषाभन्दा बाहिर राखेर हेपेको प्रशिक्षकहरूको भनाइ छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् करार संघर्ष समितिका केन्द्रीय संयोजक राजेन्द्रप्रसाद भट्टका अनुसार धेरै वर्षदेखि काममा लगाएको, तर कर्मचारीको परिभाषाभन्दा बाहिर राखेर हेपाहा प्रवृत्ति परिषद्ले देखाएको बताए। 

करारका प्रशिक्षकहरूलाई पनि कि स्थायी गर्नुपर्ने कि कर्मचारीको परिभाषाभित्र राख्नुपर्ने उनले बताएका छन्। 

‘कामचाहिँ स्थायीले भन्दा बढी गर्नुपर्ने, तर सेवा–सुविधामा हामीलाई कम गर्ने र कर्मचारी हाेइन भनेर हेप्ने काम गरेको छ,’ भट्टले भने, ‘हामीले १२ वर्षदेखि माग गरिरहेका छौँ। तर, सुनुवाइ भएको छैन। त्यसकारण यसरी कार्यक्रमको वेलामा पनि आन्दोलन गर्नुपरेकाे हाे।’ 

मागको सुनुवाइ नभएसम्म हामी निरन्तर संघर्षमा रहने उनको भनाइ छ।
देशभरि परिषद्को एक हजार आठ सयभन्दा बढी करारका कर्मचारी तथा प्रशिक्षक रहेको भट्टले बताए। अझै सुनुवाइ नभएमा देशभरिका प्रशिक्षकहरू उतारेर कडा संघर्ष गर्ने उनले बताए।

सुझावित समाचार