जनकपुरमा नेपाल लाइफ क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले जनकपुरमा लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको जनाएको छ । धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले लगानीका क्षेत्र र सेयर बजारको महत्वबारे प्रशिक्षण दिएको जनाइएको छ । उनले निम्न आय भएका व्यक्तिले सेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएको उल्लेख छ । 

कोष प्रबन्धक नवराज सिलवालले लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन विषयमा प्रस्तुतीकरण दिएको जनाइएको छ । उनले सेयर बजारको महत्व, यसले काम गर्ने तरिका, लगानीका थप क्षेत्रहरूलगायतका बारेमा प्रकाश पारेको कम्पनीले जनाएको छ ।  

क्यापिटलका अधिकृत विज्ञान नेपालले सहभागीका जिज्ञासाको जवाफ दिँदै डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी प्रदान गरेको जनाइएको छ । सर्वेक्षणमा करिब ७० प्रतिशत सहभागीहरू आइपिओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि सेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको पाइएको कम्पनीले जनाएको छ । 
 

सुझावित समाचार