अमेरिकाले ९ अक्टोबरका दिन तेस्रोपटक कोलम्बस दिवस र आदिवासी दिवस मनाइरहेको छ । सन् २०२१ मा बाइडेन प्रशासनले अक्टोबरको दोस्रो सोमबार आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । एक औपनिवेशिक–आदिवासी सम्बन्धको अध्येताका नाताले मूल निवासी अमेरिकीको इतिहास र अस्तित्वलाई स्विकार्दै आदिवासी दिवसलाई आधिकारिक रूपमा मान्यता दिनु महत्वपूर्ण हो । आदिवासी दिवस र कोलम्बस दिवसले हामीलाई उत्तरी अमेरिकामा आदिवासी समुदायले सामना गरेको हिंसात्मक इतिहासको स्मृति गराउँछ ।
अमेरिकाको न्यु इङ्ल्यान्ड क्षेत्रको मेरो अनुसन्धानले यस क्षेत्रको उपनिवेशीकरणमा मूल निवासी अमेरिकीविरुद्ध उपनिवेशकको युद्धले खेलेको महत्वपूर्ण भूमिकाको जाँच गरेको छ । यी युद्धमा प्रायः मूल निवासी अमेरिकी महिला र बालबालिका तारो बन्थे । त्यसवेला उपनिवेशक र स्थानीय सरकार मूल निवासीको शिरको छाला निकालेर ल्याउने अर्थात् ‘स्काल्पिङ’ गर्नेलाई इनाम अर्थात् ‘स्काल्प बाउन्टी’ दिने गर्थे ।
स्काल्पिङको इतिहास : स्काल्पिङ भनेको चक्कु वा अन्य विधि प्रयोग गरेर बलपूर्वक कपालसहित मानव टाउकाको छाला हिंस्रक ढंगले हटाउनु हो । यो मृतक र जीवित दुवैमा हुने गथ्र्यो । इतिहासका विभिन्न कालखण्डमा स्काल्पिङ जनतालाई आतंकित बनाउने रणनीतिक रूपमा प्रयोग गरिन्थ्यो । मूल अमेरिकीले पनि सन् १६०० को दशकमा गोरा उपनिवेशकको स्काल्पिङ गरेका थिए । यो अभ्यास मूल अमेरिकीको प्रायः लोकप्रिय संस्कृतिमा चित्रण भएको देख्न सकिन्छ । उत्तरी अमेरिकाका धेरै आदिवासी संस्कृतिमा स्काल्पिङलाई मानव ट्रफीका रूपमा अभ्यास गरिन्थ्यो (मानव शरीरका अंगलाई युद्धको जितको प्रतीकका रूपमा प्रदर्शन गर्नुलाई मानव ट्रफी भनिन्छ) । टाउकाको छालालाई युद्धको समयमा सैन्य पराक्रम प्रदर्शनका रूपमा वा औपचारिक उद्देश्यका लागि लिइन्थ्यो ।
प्रत्यक्षदर्शी अनुभवका अभिलेख, इतिहास र अमेरिकी पश्चिमाबारे बनेका कला र लोकप्रिय चलचित्रले पनि स्काल्पिङ एक विशिष्ट आदिवासी अभ्यास हो भन्ने गलत भाष्य प्रस्तुत गर्छन् । आदिवासीविरुद्ध श्वेत उपनिवेशकले गरेको स्काल्पिङको व्यापक उपयोग अपेक्षाकृत रूपमा कम सुनिएका र बुझिएका छन् । वास्तवमा मूल निवासी अमेरिकीविरुद्ध स्काल्पिङको अभ्यासलाई उपनिवेशकले बढाएको हुन सक्ने देखिन्छ । विभिन्न युरोपेली अमेरिकी उपनिवेशकले कम्तीमा १७औँ शताब्दीदेखि १९औँ शताब्दीसम्म मूल निवासी अमेरिकीलाई स्काल्पिङ गर्थे । कसैले मूल निवासी अमेरिकीलाई मारेको प्रमाणका रूपमा स्काल्पिङलाई अघि सार्थे । धेरै उत्तर अमेरिकी औपनिवेशक शक्ति अर्थात् बेलायतीदेखि स्पेनी साम्राज्यले मूल निवासी अमेरिकीको छाला नभएका खोपडी ल्याउनेलाई पुरस्कार दिन्थे ।
मिहीन ढंगबाट जाँच गर्दा आदिवासीमाथि गरिएको क्रूरताको विरासतलाई अमेरिकी संस्कृतिले निरन्तरता दिइरहेको छ
स्काल्पिङ गरेबापतको पुरस्कारको प्रचलन : अहिलेको अमेरिकामा पर्ने उपनिवेश, क्षेत्र र राज्यमा १७औँ शताब्दीदेखि १९औँ शताब्दीसम्म व्यापक रूपमा स्काल्पिङ गरेबापत पुरस्कार अर्थात् स्काल्प बाउन्टी दिइने गरिन्थ्यो । न्यू इङ्ल्यान्डका औपनिवेशिक सरकारले सन् १६८० देखि १७५० सम्म सामान्यतया उपनिवेशी र मूल अमेरिकीबीचको विभिन्न द्वन्द्वमा ६० भन्दा बढी स्काल्प बाउन्टी दिएको थियो । न्यू इङ्ल्यान्ड उपनिवेशमा सन् १७०० ताका म्यासाचुसेट्समा स्काल्प बाउन्टी अधिक चलेको थियो । म्यासाचुसेट्सका लेफ्टिनेन्ट गभर्नरले सन् १७७५ मा सबैभन्दा कुख्यात स्काल्प बाउन्टीमध्ये एक घोषणा गरेका थिए । ‘स्पेन्सर फिप्स प्रोक्लेमेसन अफ १७७५’ भनिने यस घोषणाले यो बाउन्टीको क्रूर प्रणालीले कसरी काम गथ्र्यो भन्ने झल्को दिन्छ ।
‘१२ वर्षमुनिका त्यस्ता महिला इन्डियन (आदिवासी) वा पुरुष इन्डियनको प्रत्येक टाउकाको छालालाई हत्याको प्रमाणका रूपमा ल्याउनेलाई..., १० पाउन्ड पुरस्कार’ घोषणामा उल्लेख छ । यो पुरस्कार राशिलाई अहिलेको समयमा हेर्ने हो भने १२ हजार डलरभन्दा बढी पर्न आउँछ । औपनिवेशिक युगमा यस्तो हिंसालाई मूल निवासी अमेरिकीविरोधी भावना र उपनिवेशवादीमाझ रहेको नश्लीय श्रेष्ठताको भावनाले सामान्य बनाइदिएको थियो । र, यो हिंसात्मक प्रवृत्ति लामो समयसम चलिरह्यो । धेरै इतिहासकारले औँल्याएझैँ सन् १८४६ मा क्यालिफोर्निया विजयमा मूल निवासी अमेरिकीविरुद्धको हिंसा र स्काल्पिङले पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १८०० ताका क्यालिफोर्नियालाई ‘हत्यारा राज्य’को संज्ञा दिइएको थियो किनभने गोरा उपनिवेशकले मूल अमेरिकी भूमिमा कब्जा जमाउँदा स्काल्पिङ र आमहत्यालगायत अत्याचार गरेका थिए । आमहत्यालाई सरकार र व्यापारिक बाउन्टी (पुरस्कार)ले समर्थन गरेको थियो । आजको मापदण्डअनुसार आदिवासी महिला र बालबालिकालाई तारो बनाइएको विषय नरसंहार हुन्थ्यो ।
स्मृति र हिंसा : शताब्दीयौँपछि क्यालिफोर्निया र म्यासाचुसेट्सले यी अँध्यारो इतिहासलाई लिएर फरक प्रतिक्रिया दिएका छन् । क्यालिफोर्नियाले राज्यमा आदिवासीविरुद्धको हिंसा ‘ऐतिहासिक गल्ती’ स्विकारेको छ । सन् २०१९ मा गभर्नर गेभिन न्युसमले क्यालिफोर्नियाका मूल निवासी अमेरिकीसँगको ऐतिहासिक सम्बन्धको अनुसन्धान गर्न सत्य एवं मेलमिलाप परिषद् स्थापना गरेका थिए ।
म्यासाचुसेट्समा राज्यका अधिकारी सामान्यतया यस विषयमा मौन छन् । म्यासाचुसेट्सले पूरै मुलुक अमेरिकाको प्रतिबिम्बित गर्छ । तथापि, यहाँ चार्ली बेकरको कार्यकालमा विद्यालयमा नरसंहार शिक्षामा विशेष ध्यान दिइएको छ ।
स्काल्पिङको विरासत : हिंसा र स्काल्पिङको विरासतले गहिरो गरी जरा गाडेको छ र आज अमेरिकी समाजका धेरै हिस्सामा यसलाई देख्न सकिन्छ । उदाहरणका लागि लभवेल, मेइन, स्पेन्सर, मासलगायत समुदायका नाम स्काल्प बाउन्टी सिकारीका नामबाट राखिएका हुन् । स्थानीय प्रायः यी नामपछाडिको इतिहासबारे सचेत छैनन् । त्यस्ता सहरका नाम र नामसँग जोडिएको हिंसाको इतिहास प्रायः लुकाइन्छ । मिहीन ढंगबाट जाँच गर्दा आदिवासीमाथि गरिएको क्रूरताको विरासतलाई अमेरिकी संस्कृतिले निरन्तरता दिइरहेको छ । यी क्रूरतालाई पाँच शताब्दी पुरानो युरो–अमेरिकी उपनिवेशकको लेखनीदेखि अमेरिकी साहित्य, लोकप्रिय खेलकुद मस्कट र राज्य एवं सहरको छापसम्म देख्न सकिन्छ ।
(स्ट्रोबेल युमास लोबेल इतिहासका प्राध्यापक एवं इतिहास विभागका प्रमुख हुन्) द कन्भर्सेसनबाट