काठमाडौं महानगरपालिकाभित्रका तीन स्थानका सडकमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको छ । महानगरपालिकाका ट्राफिकविज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका ती सडकलाई एकतर्फी बनाउन लागिएको हो ।
काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर पुग्ने सडकमा त्रिपुरेश्वरबाट त्यो खण्डमा प्रवेश गर्न पाइँदैन । यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पसअगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ ।
पुतलीसडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइनेछैन । यहाँदेखि महेन्द्र सालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ ।