कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

पुरातत्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ।
 
ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण तिलौराकोट क्षेत्रको उत्खननपछि त्यहाँ पाइएका सामग्रीका आधारमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियास्वरूप प्राप्त प्रमाणसहित दस्ताबेजको मस्यौदा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)मा पेस गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए। 

गत साता पेस गरिएको दस्ताबेजको मस्यौदा अध्ययन गरी युनेस्कोले सच्याएर पठाउन सुझाव दिने उनले बताए। युनेस्कोको सुझावका आधारमा अन्तिम दस्ताबेज आगामी माघमा पेस गर्ने गरी विभागले तयारी गरेको छ। 

नेपालका यसअघि सांस्कृतिक दुई र प्राकृतिक सम्पदा दुई गरी चार सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत छन्। सांस्कृतिक सम्पदामा काठमाडौं उपत्यका र लुम्बिनी विश्वसम्पदा सूचीमा परेका हुन्।

काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनै सहरका सांस्कृतिक सम्पदालाई एउटै हुने गरी युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको प्रवक्ता कुँवरले जानकारी दिए। प्राकृतिकमा सगरमाथा क्षेत्र र चितवन राष्ट्रिय निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएका छन्। 

तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएमा सांस्कृतिकबाट तेस्रो सम्पदा हुने विभागले जनाएको छ।

सुझावित समाचार