सेयर बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ। आइतबार ३५ अंकले घटेको नेप्से परिसूचक सोमबार १२.५८ अंकले घटेर एक हजार ९०८.६६ विन्दुमा झरेको छ। क वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७७ प्रतिशतले घटेको छ।
यस दिन कारोबारमा आएकामध्ये एक सय ५८ कम्पनीको सेयर मूल्य घट्दा ६६ कम्पनीको मात्रै मूल्य बढेको छ। ४३ लाख २७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब १७ एक लाख ७२ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकमसमेत संकुचित भएको छ। आइतबार एक अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
सोमबार नेप्सेका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापारबाहेक सबै समूहमा गिरावट देखिएको छ। व्यापार ०.४९ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशतले बढ्दा जीवन बिमा समूहमा सबैभन्दा धेरै एक प्रतिशतको गिरावट आएको छ।
सयपत्री हाइड्रोपावर सर्वाधिक ६.८८ प्रतिशतले र थ्री स्टार हाइड्रोपावर ४.४६ प्रतिशतले बढेका छन् भने बाराही हाइड्रोपावर र हिमालयन लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।