दुई अर्ब १५ करोडको लगानीमा ‘फुटपाथ’ मर्मत गर्दै काठमाडौं महानगर

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा रु. दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ। यसका लागि सबैजसो सडकखण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भई काम सुरु पनि भइसकेको महानगरको सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईले जानकारी दिए।

हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ।

महानगरका अनुसार हाल वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु. चार करोड ५५ लाखमा काम भइरहेको छ। वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर २ को लाजिम्पाट, वडा नम्बर ३ को महाराजगन्ज हुँदै चक्रपथसम्मको खण्डका लागि रु. १० करोडमा सम्झौता भइसकेको छ।

साथै वडा नम्बर २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत रु. तीन करोड ७८ लाख रहेको छ । वडा नम्बर ११ को त्रिपुरेश्वरदेखि वडा नम्बर २२ सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै वडा नम्बर २६ को लैनचौरसम्मको सडकखण्डका लागि निर्माण पक्षसँग रु. १८ करोडमा सम्झौता भइसकेको निर्देशक राईको भनाइ छ।

महानगरको वडा नम्बर ४ को बालुवाटार सडकखण्डमा निर्माणका लागि रु. ६ करोड ३५ लाखमा सम्झौता भएको छ ।  वडा नम्बर ३२ को तीनकुनेदेखि वडा नम्बर ९ सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै वडा नम्बर ८ को गौशालासम्मका लागि रु. ६ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा नम्बर १० नयाँ बानेश्वरदेखि वडा नम्बर ९ पुरानो बानेश्वरसम्मका लागि रु. तीन करोड २३ लाख बजेट विनियोजन गरिएको छ । 

वडा नम्बर २८ को बागबजारदेखि वडा नम्बर २९ चारखाल, वडा नम्बर ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नम्बर ९ को पुरानो बानेश्वर, वडा नम्बर ३१ को भीमसेनगोला हुँदै वडा नम्बर ९ को सिनामंगल सडकखण्डका लागि रु. १० करोड बजेट छुट्याइएको छ।

साथै वडा नम्बर १३ को कालिमाटीदेखि सोल्टीमोड हुँदै वडा नम्बर १४ को कलंकीसम्म, वडा नम्बर ८ को गौशालादेखि वडा नम्बर ७ को चाबहिलसम्म, वडा नम्बर ८ गौशालादेखि वडा नम्बर ९ रातो पुलसम्मको सडकखण्डलाई  १० करोड खर्च हुने अनुमान गरिएको छ।

अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जनाएको छ। चालू आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु. सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ।

सुझावित समाचार