प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार भएको भेटमा सरकारको प्रभावकारिता, समाजवादी मोर्चाको अभियान, मुलुकको अर्थतन्त्र, संसद्को चालू अधिवेशन तथा संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमणलगायत विषयमा कुराकानी भएको थियो।
भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारलाई प्रभावकारी बनाउनेलगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिए। ‘सत्तारुढ दलहरूको बैठक बसेर सरकारलाई प्रभावकारी बनाउने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न विज्ञसँग छलफल गर्ने विषयमा कुराकानी भयो,’ उनले भने।
सत्तागठबन्धनको बैठक बसेर दलका बीचमा विभिन्न मुद्दामा समान धारणा बनाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए। दुई पार्टीबीचका सम्बन्धलाई घनीभूत र बलियो बनाउने विषयमा पनि गम्भीर कुराकानी भएको उनको भनाइ छ।
भेटमा सरकारका विभिन्न निकायमा हुने नियुक्तिका बारेमा पनि कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिए। मन्त्री, नीति तथा आयोग एवं राजनीतिक नियुक्तिका सम्बन्धमा दलहरूबीच भएको सहमति पालना नभएकामा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।