कांग्रेस ठूलो परिवार भएकाले प्रश्न उठ्नु जायज हो : प्रवक्ता डा. महत

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस पार्टी एउटा ठूलो विस्तारित परिवार भएको बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्तासमेत रहेका महतले भने, ‘विस्तारित परिवारमा समस्या आउँछ, प्रश्न उठ्छ, एक–अर्काप्रति असन्तुष्टि उत्पन्न हुन्छ, तर परिवारभित्रको विवाद मिलाउँदै अगाडि बढ्नुपर्छ ।’

मन्त्री डा. महतले अहिले आफूहरू संघर्षको नभई सत्ता राजनीतिमा रहेको बताए । ‘संघर्षको राजनीतिमा एउटै लक्ष्य दिने मात्र हुन्छ, सत्ताको राजनीतिमा दिने र लिने दुवै हुन्छ । मैले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने राजनीतिमा आज हामी छौँ । संख्या ठूलो भएपछि सबैले जिम्मेवारी पाउँदैनन्,’ उनले भने ।

उनले ०४६ सालअघि सुनौलो जमाना रहेकाे र अहिले नेताले देश बिगारे भन्ने भाष्य सामाजिक सञ्जालमा जबर्जस्ती स्थापित गराउने प्रयास भइरहेको बताए । मन्त्री महतले भने, ‘नयाँ पिँढी जो सामाजिक सञ्जालमा अभ्यस्त छ, तर बाहिर के भइरहेको छ भनेर जानकारी लिइरहेको हुन्छ, तर हामी कुन परिस्थितिबाट गुज्रियौँ, जनताको जीवनस्तर कस्तो थियो भन्ने विषय उनीहरूलाई थाहा छैन ।’

उनले नागरिकको अधिकार डिरेल गर्नेहरू मौकाको खोजीमा रहेको जिकिर गरे । नागरिकको अधिकार खोसियो भने, खोसिन थाल्यो भने, ठूलो कुरा गरेर आउनेहरू एक दिन पनि नटिक्ने मन्त्री डा. महतको भनाइ थियो ।

सुझावित समाचार