भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित
चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो ।
नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक पक्का गरेको हो । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।

यसअघि नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो भने दोस्रो खेलमा मंगलबार इरानसित १९–४३ अंकले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए ।