प्रधानमन्त्री कार्यालयमा सचिवहरू किन बस्न चाहँदैनन् ?
अन्य मन्त्रालयमा रहँदा आफ्नो छुट्टै कार्यक्षेत्र हुन्छ । प्रधानमन्त्री कार्यालयमा रहँदा त्यस्तो हुँदैन । तर, प्रधानमन्त्री कार्यालयले अनुगमन, निरीक्षण र समन्वयको काम गर्ने हुनाले निश्चित कार्यक्षेत्र भएको मन्त्रालयको सचिवको भन्दा प्रधानमन्त्री कार्यालयको सचिवको बढी महत्व हुन्छ । मैले पनि अर्थ र राजस्व सचिव भइसकेपछि प्रधानमन्त्री कार्यालयमा रहेर पनि एक वर्ष काम गरेँ । त्यस अवधिमा राजधानीको सडक विस्तार, हेलो सरकार, क्षतिपूर्तिसहितको नागरिक बडापत्रलगायत थुप्रै महŒवपूर्ण काम गर्ने मौका पाएँ । त्यसैले, प्रधानमन्त्री कार्यालयको सचिव हुन पाउनु गर्वको विषय हो भन्ने लाग्छ ।
सचिवहरूले काम देखाउन नसकेका हुन् कि त्यहाँ कामै हुँदैन ?
मुख्य सचिव नै कार्यालय प्रमुख रहने हुनाले त्यहाँ झट्ट हेर्दा काम हुँदैन कि, छायामा परिन्छ कि जस्तो लाग्न सक्छ । तर, देशभरिको प्रशासनबीच समन्वय गराउने, शासकीय सुधारमा भूमिका खेल्ने, बेरुजु घटाउने, राज्यको सेवालाई प्रभावकारी बनाउने, पुँजीगत खर्च बढाउनेजस्ता कार्यमा प्रधानमन्त्री कार्यालयका सचिवको भूमिका हुन्छ । उसले नेपालभरिका प्रशासन हाँक्न पाउने हुनाले काम नहुने भन्ने हुँदैन ।
प्रधानमन्त्री कार्यालयलाई चुस्त र प्रभावकारी बनाउन त्यहाँका सचिवको कस्तो भूमिका हुन्छ ?
संसदीय प्रणालीमा जब मिलिजुली सरकार बन्छ, तब प्रधानमन्त्री कमजोर हुन्छन् । जब प्रधानमन्त्री कमजोर हुन्छन्, तब प्रधानमन्त्री कार्यालय स्वतः कमजोर हुन्छ । तैपनि, प्रशासन संयन्त्रमा एकरूपता ल्याउन, सेवा प्रवाहमा गुणस्तरीयता कायम गराउन, निजामती सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयका सचिवले धेरै काम गर्न सक्छन् ।