नेकपा एमालेकाे जारी गण्डकी अधिवेशन प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
नयाँ नेतृत्व चयनका लागि नाै सय सातजना प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि भोटिङ मेसिन प्रयोग गरिएको छ। मतदाताले ३३ वटा भोटिङ मेसिनमार्फत मतदान गरिरहेका छन्। मतदानको समय ५ बजेसम्मलाई तोकिएको छ।
नेताहरूले बाहिर सहमतिमा जोड दिए पनि गुटगत केन्द्रीय नेता नै गुट बनाउन लागेपछि प्रदेशकाे नेतृत्व छान्न मतदानमा गएकाे हो। निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव महिला गरी पाँचजना पदाधिकारी र एक सय ५७ जना सदस्य निर्वाचित हुनेछन्।
सदस्यहरूमा प्रदेश खुलातर्फ ५८, प्रदेश खुला समावेशीतर्फ १३, संघीय निर्वाचन क्षेत्रतर्फ १८, जिल्ला भूगोलतर्फ ६१ र लेखा समितिमा सात गरी पदाधिकारीसँगै एक सय ६२ जना निर्वाचित हुनेछन्। निर्वाचित नयाँ समितिले १० प्रतिशत सदस्य मनोनयन गर्नेछ।
एक सय ६२ पदका लागि हुन लागेको निर्वाचनमा तीन सय ८२ जनाले मनोनयन दर्ता गराएका छ्न्। उनीहरूमध्ये पाँच पदाधिकारीका लागि ११ जना छन्। सदस्यमध्ये आदिवासी जनजाति महिला, अल्पसंख्यक महिलासँगै भूगोल र संघीय निर्वाचनलगायतका क्षेत्रका गरी २७ जना निर्विरोध भएका छन्।
केन्द्रीय नेताहरू नै गुट बनाउन व्यस्त
१५ गते भएको अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि थिए पार्टीका महासचिव शंकर पोखरेल। उनले सम्बोधनका क्रममा भनेका थिए– गण्डकीले नेतृत्वमा सर्वसम्मत गरेर नयाँ सन्देश दिनेछ।
उनले सहमतिमा नेतृत्व चयन गर्न उपस्थित नेता–कार्यकर्तालाई आग्रह गरेका थिए। उद्घाटन समारोहमा सहमतिमा नेतृत्व चयन गर्न जोड दिएका महासचिव पोखरेल त्यसको केही घन्टापछि आफूनिकटका नेताहरूलाई भेला पारेर गुट बनाउनतर्फ लागेका थिए।
विशेष गरी गण्डकीमा पार्टीका उपमहासचिव लम्जुङका पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य कास्कीका खगराज अधिकारी पक्ष गुटको लडाइँ छ। दुवैजना पार्टी अध्यक्ष ओली निकट हन्। केन्द्रमा सम्बन्ध राम्रोजस्तो देखिए पनि प्रदेशमा भने उनीहरूले आफनो स्वार्थअनुकूल आफ्नो शक्ति देखाउने थलोको रूपमा पार्टीलाई लिँदै र प्रयोग गर्दै आएका छन् ।
हाल गुरुङ गुटलाई पार्टीका उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने अधिकारी गुटलाई महासचिव पोखरेलको । गुरुङ र अधिकारी पक्षसँगै गण्डकीको निर्वाचनमा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल र किरण गुरुङको भूमिका पनि महत्वपूर्ण छ। दुवै गुटले उनीहरूलाई आ–आफ्नो पक्षमा तान्न प्रयास गरिरहेका छन् । तर, उनीहरू कसकाे पक्षमा खुल्छन् भन्ने यकिन छैन।
हाल विष्ट, अर्याल र गुरुङ भने प्रस्ट रूपमा कुनै गुटमा भने खुलेका छैनन्। निर्वाचनमा होमिएका दुई गुटमध्ये यी तीनजनाको समर्थन जता हुन्छ सोही गुटले बाजी मार्ने आकलन गरिएको छ। हालको अवस्था हेर्दा कसकाे पक्ष भारी छ भन्ने आकलन गर्न सक्ने अवस्था भने छैन। तर, दुवै गुटले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन्।