प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असोज १६ गते बझाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प र त्यसका परकम्पबाट घरवास क्षति भई घरबाहिर बस्न बाध्य प्रभावित नागरिकहरूलाई तीनै तहको समन्वयमा एकीकृत कार्यक्रम बनाएर राहत, पुनर्निर्माण तथा पुनर्स्थापनालगायतका कार्य गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको अध्यक्षतामा बिहीबार बिहान बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १२औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि उद्धार, राहत एवं व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै छिट्टै प्रभावित स्थलको स्थलगत अवलोकन गर्ने जानकारी दिए।
प्रधानमन्त्रीले भने, ‘यो भूकम्पलाई संकेतका रूपमा लिई सुदूरपश्चिम क्षेत्रमा भविष्यमा आउन सक्ने यस्तै खालका विपत्तिको पूर्वतयारी गर्न पूर्वसूचना प्रणालीको स्थापना र सञ्चालनका लागि सरोकारवालाहरूलाई निर्देशन दिन्छु।’
प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काद्वारा जारी प्रेस नोटअनुसार बैठकले बझाङ भूकम्पको क्षतिको लेखाजोखा तथा प्रभाव मूल्यांकन गरी आवश्यकताको पहिचान गर्ने र पुनर्निर्माण तथा पुनर्लाभका कार्यक्रमहरू तय गर्न आवश्यक स्रोतको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, तीन तहका सरकारबीचको समन्वयमा एकीकृत रूपमा एकद्वार प्रणालीमार्फत कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ।
बैठकले प्राधिकरणलाई पुनर्स्थापना र पुनर्लाभको कामका लागि आवश्यक नीतिगत सहजीकरण गर्ने र त्यसका लागि नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय गरेको छ।
बैठकले भूकम्पका कारण गएको पहिरोमा परी मृत्यु भएकी जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया गुणमती धामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।