विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक रूपमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताए ।
‘मौसम बिस्तारै सुधार हुँदै गएको छ। देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि बिस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किमआसपास र बंगलादेशतिर यसले असर गर्ने देखिन्छ,’ उनले भने ।
मौसमविद् झाका अनुसार कोशी प्रदेशमा आज बाक्लो बादल लागेको छ। अन्य भेगमा सामान्यतया मौसम सफा छ। अबको दुई–तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरे ।
महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्डआसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसका कारण देशका केही भागमा थोरै असर रहे पनि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।