एमसिसी कार्यान्वयनमा देखिएका समस्या बुझ्न आएकी हुँ : सिइओ अलब्राइट

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

नेपालमा एमसिसी आयोजना कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले बताएकी छिन् । एमसिसी परियोजना कार्यान्वयनमा प्रवेश गरेको अवसरमा नेपाल आएकी उनले मंगलबार भएको अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटवार्तामा यस्तो बताएकी हुन् । छलफलमा उनले एमसिसी कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र यसलाई सफल बनाउन एमसिसी कटिबद्ध रहेको बताइन् ।  

भेटघाटमा अर्थमन्त्री महतले एमसिसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको बताए । साथै, निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरूप कार्यान्वयन हुन सके मात्र विगतका सन्देहहरूको अन्त्य हुने उनले बताए । साथै, मन्त्री महतले एमसिसी कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसिए नेपाललाई निर्देशनसमेत दिएका छन् ।

एमसिसी परियोजना गत ३० अगस्टबाट कार्यान्वयनमा प्रवेश गरेको छ । यसअन्तर्गत ४ प्रसारणलाइन, तीन सबस्टेसन र ७७ किमि सडक मर्मत हुँदै छ । पूर्व सम्झौताअनुसार कार्यान्वयन सुरु भएको पाँच वर्षमा उक्त आयोजनाहरू बनिसक्नुपर्छ । तर, कार्यान्वयन सुरु हुनासाथ विभिन्न झमेला देखापरेका छन् । त्यो अवस्थामा उनको नेपाल आगमनलाई महŒवका साथ हेरिएको छ । उनले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटवार्ता गरिसकेकी छिन् । भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसिसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका थिए ।  

यस्तै, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले एमसिसीअन्तर्गत बन्ने प्रसारणलाइनमा सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए । सो परियोजनाले नेपालको ऊर्जाक्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयनमा लगिने उनको भनाइ छ । 

सुझावित समाचार