नेपालले पायो दुई सय तीन रनको लक्ष्य

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण
नेपालले पायो दुई सय तीन रनको लक्ष्य

तस्बिर : ज्ञानेन्द्र कार्की

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपालले भारतसँगको प्रतिस्पर्धामा दुई सय तीन रनको लक्ष्य पाएको छ । युनिभर्सिटी मैदानमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको थियो । भारतले २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई रनको विशाल योगफल खडा गर्यो । 

भारतका लागि रिंकु सिंह र शिभव दुबेले पाँचौँ विकेटका लागि २२ बलमा विस्फोटक ५२ रनको साझेदारी गरेका थिए । गत सिजनको इन्डियन प्रिमियर लिगमा चम्केका रिंकुले १५ बलमा ३७ रनको इनिङ्स खेले । कोलकाता नाइट राइडर्सका विस्फोटक ब्याट्सम्यानका रूपमा चिनिने रिंकुले दुई चौका र चार छक्का प्रहार गरे । शिभमले १९ बलमा दुई चौका र एक छक्का ठोके । 

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार ओभरमा ३१ रन खर्चेर दुई विकेट हात पारे । सोमपाल कामीले चार ओभरमा ३८ रन दिँदै एक विकेट लिए । यसैगरी, सन्दीप लामिछानेले तीन ओभरमा एक विकेट लिन २८ रन खर्चेका थिए । करण केसी, अभिनाश बोहाेरा र रोहित पौडेल विकेटविहीन रहे । 

दीपेन्द्रले भारतीय कप्तान ऋतुराज गायकवाडको विकेट लिए । उनी २३ बलमा चार चौकासहित २५ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि जयसवाल र गायकवाडले ९.५ ओभरमा एक सय तीन रनको शतकीय साझेदारी गरेका थिए ।

जयसवालको कीर्तिमानी शतक
भारतीय बायाँहाते युवा ब्याटसम्यान यशस्वी जयसवालले नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका थिए । उनी भारतीय टोलीका लागि कम उमेरमा अन्तर्राष्ट्रिय टी–२० खेलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ४८ बलमा आठ चौका र सात छक्का प्रहार गरेका थिए । सोमपाल कामीको १६.५ ओभरमा एक रन बटुल्दै उनले शतक पूरा गरेका थिए । 

१९.४ ओभरमा उनले छक्का प्रहार गरेको सम्झी शतकको सेलेब्रेसन गरेका थिए । अम्पायरले चौकाको संकेत गरेपछि जैसवालले ९९ रनमै रोकिए र अर्कोपटक उनले शतक पूरा गरे । जयसवालले २१ वर्ष दुई सय ७९ दिनमा शतक पूरा गरेका हुन् । 

भारतका लागि शुभमन गिलले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध २३ वर्ष एक सय ४६ दिनमा एक सय २६ रनको शतकीय इनिङ्स खेलेका थिए । 

अन्तर्राष्ट्रिय टी–२० मा फ्रान्सका गुस्तभ म्याकेओनले १८ वर्ष दुई सय ८० दिनमा स्विट्जरल्यान्डविरुद्ध शतक हानेका थिए । नेपालका  कुशल मल्लले एसियाडअन्तर्गत समूह चरणमा मंगोलियाविरुद्ध १९ वर्ष दुई सय ६ दिनमा शतक हानेका थिए । 

सुझावित समाचार