संखुवासभाको खाँदबारी र तुम्लिङटारमा लाग्दै आएको साप्ताहिक हाटबजार खाँदबारी नगरपालिकाको सक्रियतामा व्यवस्थित गरिएको छ । सदरमुकामस्थित खाँदबारीको टुँडिखेलमा शनिबार र बुधबार लाग्दै आएको हाजबजार अव्यवस्थित भएको गुनासो व्यापक भएपछि नगरपालिकाले सक्रियता देखाएको हो ।
बजारका केही बिचौलियाहरूले साताभरि नै खुला टुँडिखेलमा दोकानको त्रिपाल नहटाउने, सार्वजनिक गाडीहरू पार्किङ गर्ने र फोहोर पनि फ्याँक्ने गरिएकाले विरूप बन्दै गएको थियो । पटक–पटक ताकेता गर्दा पनि अटेरी गरेपछि फिल्डमा नै पुगेर नगरपालिकाका मेयर महेश थपलिया र उपमेयर महेश्वरा बज्राचार्य श्रेष्ठले बजार व्यवस्थित गर्न लागिपरेका हुन् ।
बजारलाई तीन भागमा वर्गीकरण गरी व्यवसायीहरूलाई सजिलो बनाएको खाँदबारी नगरपालिकाका मेयर थपलियाले बताए । उनले ठूला व्यवसायी बढी राजस्व र साना व्यवसायीलाई कम कर लगाइनेसमेत बताए । ‘बजारमा ठूलो त्रिपाल हालेर एकैजनाले ५–६ मिटर ओगटेर बस्ने गरेको पाइयो, अब २,३,४ र ५ मिटर गरी वर्गीकरण गरेर छुट्याइएको छ, व्यवसायीहरू बस्न पाउनुहुन्छ, तर त्योअनुसार कर तिर्नुपर्छ । कृषिजन्यउपज तरकारीको कर संकलन गर्दैनौँ,’ मेयर थपलियाले भने ।
बजारलाई व्यवस्थित गर्दा बुधबार र शनिबार लागेको हाटबजार निकै व्यवस्थित देखिएको छ । खाँदबारीमा बुधबार र शनिबार हाटबजार लाग्छ भने तुम्लिङटारमा शुक्रबार लाग्छ । बजार व्यवस्थित भएपछि बजार आउने अधिकांश र व्यवसायीहरूले खाँदबारी नगरपालिकाको प्रशंसासमेत गरेका छन् ।