१९औँ एसियाड : नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हरायो

आइतबार, १४ असोज, २०८०
डिजिटल संस्करण
१९औँ एसियाड : नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हरायो

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका (हाङझाउ)

समूह ‘ए’को विजेता हुँदै नेपाल क्वार्टरफाइनलमा प्रवेश

१९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत नेपालले आइतबार माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । समूह ‘ए’को विजेता हुँदै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १२ रन जोड्यो । प्रत्युत्तरमा माल्दिभ्सले १९.४ ओभरमा ७४ रन मात्र बनायो ।  नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले २७ बलमा समान तीन चौका र छक्काको मद्दतमा ५२ रन जोडे ।

यसैगरी, अलराउन्डर गुल्सन झाले २१ बलमा ३५ रन बटुले । उनले एक चौका र तीन छक्का प्रहार गरे । अघिल्लो खेलमा मंगोलियाविरुद्ध शतकीय रूपमा विश्वकीर्तिमान बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले २० बलमा समान तीन चौका र  छक्का हिर्काएका थिए । 

नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लुको धरापमा पर्नुअघि १८ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन जोडे । ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए । लामो समयपछि नेपाली टोलीमा स्थान बनाएका विनोद भण्डारीले १५ बलमा १३ रन बनाए । यसैगरी, सन्दीप जोरा पाँच रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।

नेपालको ब्याटिङमा पहिलो विकेटका लागि २.३ ओभरमा २० रनको साझेदारी भएको थियो । यसैगरी, दोस्रो विकेटका लागि ३४ रनको साझेदारी भयो । चौथो विकेटका निमित्त ६७ रन र छैटाैँ विकेटका लागि ६० रनको साझेदारी भयो । 

बलिङमा नजवान इमैलले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । यसैगरी, मोहमद रायाले १२ रनमा एक विकेट हात पारे । सिमर नासेर इमैलले तीन ओभरमा २३ रन खर्चेर एक विकेट लिए । मोहमद मिभानले ४२ रन खर्चेर एक विकेट लिए । 

सुझावित समाचार