चाडपर्वलक्षित यातायात सुधारका लागि कार्यदल गठन
दसैँ, तिहार र छठ पर्वमा हुने यात्रुको चापलाई लक्षित गरेर असोज तेस्रो सातादेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ । चाडपर्वलक्षित गरेर असोज तेस्रो साताबाट गाडीको अग्रिम टिकट बुकिङ खुलाउने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।
दसैँ, तिहार तथा छठका वेलामा अन्य समयको तुलनामा आवतजावत बढी हुने गर्छ । दसैँ मनाउनका लागि मात्रै घटस्थापनापछि काठमाडौं उपत्यकाबाट दैनिक सरदर पाँच हजार सवारीसाधन र एक लाख मानिस बाहिरिने गर्छन । सरकारले चाडपर्वलक्षित गरेर सडक पूर्वाधार सुधारदेखि यातायात व्यवस्थापनको तयारी सुरु गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्वलक्षित यातायात क्षेत्रको सुधार गर्न शुक्रबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।
उक्त कार्यदलले आवश्यक अध्ययन गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने, सडक पूर्वाधारको अवस्था र सुधार गर्ने, चाडपर्वमा हुने यातायातलाई सहज बनाउनेलगायत विषयमा आवश्यक काम गर्नेछ । उक्त कार्यदलले एक साताभित्र मन्त्रालयले प्रतिवेदन बुझाउनेछ, सोही आधारमा यसबारे निर्णय गरिनेछ ।
विभागका महानिर्देशक रिजालले असोजको तेस्रो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको बताए । ‘दसैँको यात्रालाई सहज, सरल र सुरक्षित बनाउने विषयमा शुक्रबार मेरो संयोजकत्वमा कार्यदल गठन गरिएको छ । यो कार्यदलले आइतबारदेखि नै काम सुरु गर्छ । र, सोही कार्यदलले गरेको अध्ययनका आधारमा दसैँलगायतका पर्वको यातायातलाई सहज बनाउने विषयमा उचित निर्णय गरिनेछ,’ उनले भने, ‘अहिले मोटामोटी घटस्थापना (२८ असोज)को १० दिनअघि (१८ असोज–तेस्रो साता)बाट अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको छ । यद्यपि, यातायात व्यवसायी, नेपाल प्रहरीलगायतका सरोकारवालासँग थप छलफल गरेर यसलाई टुंगोमा पुर्याउनेछौँ ।’
केन्द्रबाट काठमाडौं उपत्यकाबाट बाहिरिने र बाहिरका जिल्लाबाट उपत्यका आउने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिएको छ । अन्तरप्रदेश, प्रदेश राजधानी तथा जिल्लास्तरको टिकट बुकिङ खुला गर्ने कार्य भने प्रदेशस्तरीय निकायले गर्ने बताइएको छ । यता व्यवसायीले भने सवारीसाधनको भाडादर बढाउनुपर्ने माग गरेका छन् । गत चैतदेखि सार्वजनिक यातायातको भाडादर समायोजन भएको छैन । डिजेल र पेट्रोलको मूल्य बढ्दै गएको र सडक पनि गुणस्तरीय नभएको कारण देखाउँदै उनीहरूले भाडावृद्धिको माग गरेका हुन् । सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन गर्नुपर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।
सडक मर्मत गर्न व्यवसायीको माग
यसैबीच व्यवसायीले सडकको मर्मत गर्न पनि माग गरेका छन् । बर्खामास, मर्मतमा भएको ढिलाइलगायतका देशभरका थुप्रै सडकखण्ड कच्चीजस्तै भएका छन् । कालोपत्रे उक्किने, खाल्डो बन्नेजस्ता समस्या थुप्रै सडकखण्डमा छन् । त्यस्तो सडकलाई तत्काल मर्मत गर्नुपर्ने महासंघका अध्यक्ष स्वाँरले बताए । सर्वसाधारणले समेत अधिकांश सडक भत्किएको अवस्थामा रहेको गुनासो गर्दै आएका छन् ।
सडक छिट्टै मर्मत हुन्छ : विभाग
सडक विभागले पनि दसैँको यात्रा सुरु हुनुभन्दा अघि नै बाटो मर्मत गर्ने प्रतिबद्धता गरेको छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले अब छिट्टै मर्मत कार्य सुरु गर्ने बताए । ‘हामीले नियमित रूपमा सडक मर्मत गर्दै आएका छाैँ । दसैँलाई लक्षित गरेर अब छिट्टै थप काम पनि अघि बढाउँछौँ । अर्थ मन्त्रालयले पनि बजेटको सुनिश्चितता दिइसकेको छ,’ नयाँ पत्रिकासँग उनले भने, ‘तसर्थ, हामीलाई बजेटको पनि समस्या छैन । दसैँको यात्रा सुरु हुनुभन्दा अघि नै बाटोको खाल्डा पुर्ने, पहिरो पन्छाउने (हटाउने)लगायतका काम सम्पन्न हुन्छ ।’
चाडपर्वमा यात्रालाई सहज र व्यवस्थित बनाउँछौँ : प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री
दसैँलगायतका चाडपर्वको यात्रालाई सहज बनाउन सरकार तयार छ । साथै, दसैँमा यात्रृहरू ठगिने, बीचबाटोमा अलपत्र पर्नेजस्ता सास्ती व्यहोर्नुपर्ने अवस्था आउन नदिन नै कार्यदल बनाइएको हो । यातायात क्षेत्र चुस्त नहुँदा दसँै, तिहार र छठजस्ता पर्वमा लाखौँ यात्रुले सास्ती पाउँदै आएका छन्, यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौँ ।