डिजिटल पेमेन्टमा ‘मोबाइल बैंकिङ’को हिस्सा ३३ प्रतिशत : महिनामै साढे दुई खर्बको कारोबार

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण

विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) गर्न मोबाइल बैंकिङको प्रयोग सबैभन्दा धेरै हुने गरेको देखिएको छ । चालु आवको पहिलो महिनामा विद्युतीय भुक्तानीसम्बन्धी कारोबार संख्यामा मोबाइल बैंकिङको हिस्सा झन्डै ३३ प्रतिशत देखिएको छ । विद्युतीय भुक्तानीका लागि मोबाइल बैंकिङ, वालेट, क्युआर, कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, आइपिएसलगायतका उपकरण (सेवाप्रदायक) प्रचलित छन्, त्यसमा मोबाइल बैंकिङको प्रयोग सबैभन्दा बढी हुने गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

राष्ट्र बैंकले बिभिन्न १५ शीर्षका छुट्टयाएको विद्युतीय भुक्तानीबाट साउनमा कुल नौ करोड ६१ लाख ६२ हजार पाँच सय ६३ पटक कारोबार भएको छ । त्यसमा मोबाइल बैंकिङबाट मात्रै ३ करोड १२ लाख ८१ हजार पाँच सय ४६ पटकको कारोबारमा दुई खर्ब ४२ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल डिजिटल भुक्तानीको मापनमा मोबाइल बैंकिङ प्रमुख आधार बनाइएको छ । 

सन् २००४ देखि नेपालमा मोबाइल बैंकिङ सेवाको सुरुवात भएदेखि हालसम्म मोबाइल बैंकिङ सेवाको दायरा निकै फराकिलो बनेको छ । जसकारण विद्युतीय भुक्तानीमा मोबाइल बैंकिङको प्रयोग बढ्दै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेल बताउँछन् । विशेष गरी कोरोनाकालपछि नेपालले डिजिटल भुक्तानीमा फड्को मारेको छ । साथै, राष्ट्र बैंकले पनि यसको विस्तारमा जोड दिएको छ । फलतः नेपालमा पछिल्लो समय डिजिटल भुक्तानी बढ्दै छ, त्यसमा मोबाइल बैंकिङको प्रयोग उच्च छ । 

०७८ को जनगणनाअनुसार ७३ प्रतिशत नेपालीले स्मार्ट फोन प्रयोग गर्छन् । साथै, अधिकांश नेपालीसँग बैंक खाता पनि छ ।  अहिले नेपालमा पाँच करोड ११ लाख ७७ हजारभन्दा बढी बैंक बचत खाता छन् । त्यसमा दुई करोड १६ लाख ९१ हजार खातामा मोबाइल बैंकिङ खाता रहेका छन् ।  यसरी पूर्वाधारहरूको पहुँचले पनि मोबाइल बैंकिङको  प्रयोग बढ्दो क्रममा रहेको जानकारवाला बताउँछन् । 

समग्रमा ग्राहकमैत्री र सुविधाजनक विशेषताका कारण मोबाइल बैंकिङको प्रयोग बढी भएको कार्यकारी निर्देशक पौडेल बताउँछन् । ‘भुक्तानीका अन्य माध्यमको तुलनामा मोबाइल बैंकिङ धेरै सजिलो छ । साथै, यसमा कारोबार सीमा पनि बढी छ । त्यसमाथि अहिले अधिकांश नेपालीसँग स्मार्ट फोन छ,’ उनले भने, ‘साथै, आमग्राहकमा डिजिटल वित्तीय साक्षरतासमेत बढ्दै गएको छ । यी यस्ता कारण मोबाइल बैंकिङको प्रयोग बढ्दै गएको छ ।’

नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी अधिकृत तथा फिनटेक एलाइन्स नेपालका अध्यक्ष सञ्जीव सुब्बा पनि डिजिटल पेमेन्टमा मोबाइल बैंकिङको प्रयोग बढी हुने गरेको बताउँछन् । छिटो, छरितो र सरल रूपमा भुक्तानी गर्न सकिने हुँदा यसको प्रयो बढी भएको उनको भनाइ छ ।

 सुविधा छैनन् पर्याप्त
यसरी पछिल्लो समय डिजिटल भुक्तानीमा मोबाइल बैंकिङको प्रयोग बढ्दै गएको छ । तर, अन्तर्राष्ट्रिय बजारको तुलनामा यसको सुविधा भने निकै कम भएको फिनटेक एलाइन्सका अध्यक्ष सुब्बा बताउँछन् । डिजिटल वित्तीय सेवामा नेपालमा प्रारम्भिक चरणमा रहेको उनको भनाइ छ । ‘यसै पनि डिजिटल पेमेन्टमा मोबाइल बैंकिङ भन्ने शब्द नै पुरानो भइसक्यो । त्यसमाथि पनि यसमा सुविधा निकै कम छ । अब सबै सुविधा एकै ठाउँमा भएको उपकरण ल्याउन नेपाल अघि बढ्नुपर्छ,’ उनले बताए । साथै, यसको सेवा विस्तारमा पनि जोड दिनुपर्ने उनको भनाइ छ । 

नेपालको मोबाइल बैंकिङको सुविधा भुक्तानीसम्बन्धी कार्यमा मात्रै सीमित छ । तर, अब सबै सुविधा एकै ठाउँमा भएको अर्थात् एग्रिगेटर रूपमा ‘सुप्पर एप’, ओम्नी च्यानलजस्ता उपकरण सञ्चालनमा आउनुपर्ने सुब्बा बताउँछन् । ‘उदाहरणका लागि एउटै एपबाट कुनै अस्पतालको डाक्टरको टिकट (समय) बुक गर्ने, त्यसबाटै निजको शुल्क पेमेन्ट गर्ने, त्यसमै मेडिकल रिपोर्ट आउने, त्यसमै औषधिको विवरण आउनेलगायतका सम्पूर्ण काम गर्न सक्ने हुनुपर्छ,’ उनले भने, ‘अहिले कुनै एक अनलाइन प्लेटफर्मको एप तथा वेबबाट सामान अर्डर गरिन्छ । तर, त्यसको भुक्तानी गर्न अर्काे एप्स (मोबाइल बैंक, वालेटलगायत) प्रयोग गर्नुपर्छ । यसरी त कहिलेसम्म चल्छ ? सबै सुविधा एकै ठाउँमा भएको डिजिटल उपकरण अब आउनुपर्छ ।’ साथै, त्यो समावेशी हुनुपर्ने पनि उनले बताए । 

 बढ्दै छ क्युआर बेस्ड पेमेन्ट
पछिल्लो समय क्युआरमा आधारित भुक्तानीको संख्या पनि पनि उच्च दरमा बढ्दै गएको छ । एक वर्षअघिसम्म अन्यको तुलनामा क्युआरमा आधारित भुक्तानी संख्या निकै पछि थियो । तर, पछिल्लो समय यस्तो भुक्तानी संख्या उच्च दरमा बढेको छ । साउनमा मात्रै क्युआरमा आधारित एक करोड १२ लाख ५७ हजार तीन सय ८८ वटा भुक्तानी भएको छ । कुल विद्युतीय कारोबारमा यसको स्थान चौथो नम्बरमा छ । गत आवको साउनमा ४६ लाख ७२ हजार ५६ वटा यस्तो कारोबार भएको थियो । 

जोखिम पनि छ 
गुरुप्रसाद पौडेल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

पछिल्लो समय मोबाइल बैंकिङजस्ता डिजिटल पेमेन्ट उपकरणको प्रयोग बढ्दै गएको छ । तर, त्यसमा जोखिम पनि बढ्दै गएको छ । ह्याक गर्ने, ठगी गर्ने गिरोहले गर्दा आमग्राहकको पैसा लुटिएको पनि छ । तसर्थ, यसमा ग्राहक सचेत हुनुपर्छ । साथै, त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले पनि सक्दो प्रयास गरिरहेको छ ।

अझै धेरै गर्न बाँकी छ
सञ्जीव सुब्बा, अध्यक्ष फिनटेक एलाइन्स नेपाल

डिजिटल भुक्तानीसम्बन्धी उपकरणको विकास द्रुत गतिमा भएको जस्तो देखिन्छ । तर, त्यो भ्रम हो । हामी यसको प्रारम्भिक चरणमा छौँ । तसर्थ, अझै थुप्रै काम गर्न बाँकी छ । यसको सेवा पनि सीमित नै छन् । नयाँ आयामहरूमा हामी जान सकेका छैनाैँ । यसमै रमाएका छौँ । साथै, यसले सबै वर्ग, पेसा, उमेर समूह र क्षमताका व्यक्तिलाई समावेश गर्न सकेको छैन । अब यस्तो सेवालाई विविधीकरण गर्ने, समावेशी र इन्नोभेटिभ बनाउने काम गर्नैपर्छ । आशा छ, हुन्छ पनि ।

सुझावित समाचार