विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने : प्रधानमन्त्री

सोमबार, १ असोज, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए । 

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताए ।  

प्रधानमन्त्री प्रचण्ड आजै न्युयोर्क आएका हुन् । उनलाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गरेका छन् । महासभालाई सम्बाेधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सुझावित समाचार