हामी दिगो विकासप्रति ओठेभक्ति देखाउँदै प्रकृति विनाशक गतिविधिलाई प्रोत्साहित गरिरहेका छौँ
एउटा पनि रुख नकाटी काठको घर बनाउन सक्यौँ भने के होला ? अन्डा उत्पादन गर्ने पोथीहरूलाई समुद्रमा नै छोड्ने गरी माछा मार्न सक्यौँ भने कसो होला ? हाम्रा व्यावसायिक रूपमा लगाइएका वनजंगल तुलनात्मक रूपमा रुखो देखिन्छन् । यदि हामीले हाम्रा वन–जंगलहरूलाई खाद्य वनस्पतिहरूको विस्तृत शृंखलाले भर्न सक्यौँ भने के होला ? असम्भवजस्तो लागे पनि यी अभ्यास सदियौँदेखि चल्दै आएका छन् । यिनले हामीलाई चाहिएजस्तो भविष्य हाम्रो अतीतमा खोज्नुपर्छ भन्ने संकेत गर्छन् ।
जलवायु परिवर्तन एउटा टाइम बम बनेको छ । अनि पृथ्वीमा अहिलेकोभन्दा सौम्य जीवनशैली विकास गर्नुपर्ने आवश्यकता अपरिहार्य बन्दै गएको छ । तर, हामी नवप्रवर्तन, प्रविधि र निर्बाध आर्थिक वृद्धिको उही पुरानो मन्त्रमा हठपूर्वक टाक्सिबसेका छौँ । हामी दिगो विकासप्रति ओठेभक्ति देखाउँदै प्रकृति विनाशक गतिविधिलाई प्रोत्साहित गरिरहेका छौँ, जसले यो ग्रहलाई तीव्र गतिमा मानव बसोवासका लागि अयोग्य बनाइरहेको छ ।
तथाकथित ‘हरित’ प्रविधिले पनि उत्पादनलाई गति नै दिन्छन्, खपतलाई बढावा नै दिन्छन् । विद्युतीय वाहन, साइकल र स्कुटरहरूलाई नै लिऔँ न । यी वस्तुहरू उत्पादन गर्न अझ बढी ऊर्जा र संसाधन चाहिन्छन् र यिनले अनिवार्य रूपमा थप उत्सर्जन र फोहोरका लागि योगदान गर्नेछन् । मैले क्यानडामा बस्दा त्यहाँका आदिवासीबाट केही कुरा सिक्ने मौका पाएको थिएँ । भ्यानकुभर टापुको उत्तरी टुप्पोमा अवस्थित पोर्ट हार्डी सहरमा माछा मार्ने स–साना डुंगाहरूले भरिएको नगरपालिकाको एउटा घाटमा मैले एकजना आदिवासी मछुवारसँग वार्तालाप गरेको थिएँ । उनले मलाई माछाको भण्डार औद्योगिकस्तरको मत्स्य व्यवसायले नरित्याउँदासम्म आफूले हलिबुट माछा मात्रै मार्ने गरेको बताए । अहिले उनी साल्मोनका लागि मात्रै माछा मार्छन् । तर, यसको भण्डार पनि रित्तिँदै गएको छ ।
युरोपियनहरू घुस्नुपूर्व संसारभरका आदिवासी हजारौँ वर्षदेखि आफ्नो आदिवासी भूमिमा बसोवास गर्दै आएका थिए । शताब्दीयौँदेखिको विस्थापनपछि समेत अझै पनि थुप्रै मानिस पृथ्वीको नजिक रहेर आजीविका चलाउँछन् । उनीहरूले पुस्तौँदेखि प्रकृतिको दोहन गर्नुको साटो सहअस्तित्वमा रहन सिकेका छन् र अत्यधिक परिष्कृत उपकरण विकास गरेका छन् । ती प्रायजसो स्थानीय सरसामग्रीबाट बनेका हुन्छन् । यी उपकरणको डिजाइन र उपयोगिताले प्राकृतिक जगत्को गहिरो ज्ञान र यसप्रतिको सम्मानलाई प्रतिबिम्बित गर्छन् । यसको तुलनामा हाम्रा आधुनिक नवप्रवर्तन अक्सर तुच्छ र गैरजिम्मेवार देखिन्छन् ।
उदाहरणका लागि माछा मार्ने सौम्य हलिबुट बल्छीलाई नै लिऔँ । औद्योगिकस्तरमा उत्पादित र केही पैसामा नै किन्न सकिने बल्छीहरू टिकाउ हुने गरी बनाएकै हुँदैनन् । यिनलाई आजका अन्य उत्पादनसरह प्रयोग गर र फालको शैलीमा बनाइएको हुन्छ । यर, प्रशान्त महासागरको उत्तरपूर्वी क्षेत्रको यस परम्परागत हलिबुट बल्छीको कुरा योभन्दा बिल्कुलै फरक कुरा हो ।
यस कलाकृतिले एकैपटक कार्यक्षमता, टिकाउपन र संरक्षणजस्ता थुप्रै उद्देश्यलाई एकीकृत गर्छ, जुन हामी आजका डिजाइनमा बिरलै पाउँछाैँ । यो यसका आदिवासी निर्माताको रचनात्मकता, कलात्मक अभिव्यक्ति, पारिस्थितिकीय (पर्या–प्रणाली) ज्ञान, आध्यात्मिक विश्वास र सांस्कृतिक विरासतसमेतको प्रतिरूप हो ।
सायद सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो बल्छीलाई केवल भाले हलिबुटलाई मात्रै समात्न सक्ने गरी आकार दिइएको हुन्छ । भाले हलिबुट पोथी हलिबुटभन्दा सानो हुन्छ । यसरी यसले भविष्यका लागि माछाका मौज्दातको संरक्षण गर्छ । माछा मार्ने यो विधिले डुंगा बनाउने, घर बनाउने, वन व्यवस्थापनजस्ता यस्तै खालका अन्य परम्परागत विधिले जसरी नै समुदायमा आधारित अभ्यासहरूको निरन्तरता सुनिश्चित गर्छ, साथै प्राकृतिक वातावरणको पनि संरक्षण गर्छ ।
सुखद खबर के भने युनेस्कोले आफ्नो अमूर्त सांस्कृतिक सम्पदा सूचीमार्फत दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने यस प्रकारका स्थानीय ज्ञान र प्रविधिको संरक्षणको प्रत्याभूति गरेको छ । आदिवासी अभ्यासहरूले हामीलाई हाम्रा मूल्य–मान्यतालाई सन्तुलित बनाउन र अन्तरनिर्भरता, सार्वजनिक वस्तु, स्थानीयकरण, अधिक वितरित अर्थव्यवस्था र जैविक विविधताको महत्वलाई बुझ्न मद्दत गर्न सक्छन् ।
यी सबै कुरा अर्थशास्त्री केट रावर्थको अद्भूत पुस्तक ‘डोनट इकोनोमिक्स’का महत्वपूर्ण पक्ष हुन् । यसमा उनी प्रभुत्वशाली आर्थिक प्रणालीको आलोचना गर्छिन् र एक्काइसौँ शताब्दी सुहाउँदो अर्थशास्त्रको प्रस्ताव गर्छिन् । यही अवधारणाअनुरूप वेलबिइङ इकोनोमी एलायन्सको एक सदस्यको रूपमा वेल्सले सबैका लागि गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न र प्राकृतिक जगत्सँग घनिष्ठता हासिल गर्न आफ्नो अर्थव्यवस्थालाई रूपान्तरण गर्ने प्रयास गरिरहेको छ । स्थानीय खाद्य उत्पादन, सेकेन्ड ह्यान्ड सामानहरूको कारोबार गर्ने स्वाप पसलहरू, काम गर्ने सहकारी स्थान (को–वर्किङ स्पेस), ‘महिलाहरूका निम्ति वुमेन्स सेड’, साना व्यवसायका लागि सुलभ कवल, सम्पत्ति–निर्माणका स्थानीय परियोजना, प्रकृतिमा आधारित कल्याणका नेतृत्व प्रशिक्षण कार्यक्रम र सर्वसाधारण जनताको नियमित संलग्नता सुनिश्चित गर्ने समूहसहितका जमिनीस्तरबाट माथितर्फ (केन्द्रीकृत, माथिबाट तलभन्दा पनि)गएका पहलकदमीमार्फत रूपान्तरणमा प्रगति गरिरहेको छ ।
विश्वव्यापी तापमानले गति बढाउँदै गएको परिप्रेक्ष्यमा नवप्रवर्तन सेयरधारकहरूलाई बढीभन्दा बढी मुनाफा प्रदान गर्ने प्रविधिगत नवीनताभन्दा बाहिर जानुपर्छ । प्यासिफिक नर्थवेस्टको हलिबुट बल्छी र वेल्सले लिएको स्थानीयकरणको पहलजस्ता उपकरणले फरक मूल्यको आवश्यकतालाई उजागर गर्छन् । वातावरण, सामाजिक इक्विटी र सांस्कृतिक परम्पराको सम्मान र समर्थन गर्ने लचिलो र पुनस्र्थापनात्मक डिजाइनलाई अँगाल्दै, सबैलाई फाइदा पुग्ने जीवन्त अर्थव्यवस्थाको निर्माण मात्रै दिगो भविष्य सिर्जना गर्ने एक्लो उपाय हो ।
– प्रोजेक्ट सिन्डिकेटबाट
(म्यानचेस्टर स्कुल अफ आर्टमा डिजाइन फर सस्टेनेबिलिटीका प्रोफेसर स्टुअर्ट वाकर ‘डिजाइन फर रेसिलेन्स : मेकिङ द फ्युचर वी लिभ बिहाइन्ड’का लेखक हुन् )