काठमाडौं महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघबीच क्रिकेट संरचना विकासका लागि सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र नवनियुक्त बागमती प्रदेशका अध्यक्ष पारस खड्काबीच सम्झौता भएको हो । महानगरले बागमती प्रदेशको प्राविधिक सहयोगमा वडाको विद्यालयमा नेट अभ्यास र प्रशिक्षकको स्तरवृद्धि कार्यक्रम अघि सारेको हो । महानगरले ‘आइसिसी लेभल ओ’ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सुरु गर्ने बताएको छ । जहाँ ५० भन्दा बढी प्रशिक्षकलाई तालिम दिने बताइएको छ ।
कार्यक्रम पाँच दिनको हुनेछ । ‘बागमती प्रदेशभित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो । यस खाडललाई सम्बोधन गर्न हामीले बागमती प्रादेशिक क्रिकेट संघसँगको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, ‘आइसिसी लेभल ओ’ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सुरु गर्दै छाँै,’ महानगर प्रमुख साहले लेखेका छन् ।
उनले प्रशिक्षक तालिमबाट सहरभरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीप फैलाउन सहयोग पुग्ने विश्वास लिएका छन् । ‘५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीप फैलाउन सहयोग गर्नेछ ।’ पारस उमेश पियालाई पराजित गर्दै १५ भदौमा अध्यक्ष निर्वाचित भएका थिए । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिएका पारसले २३ र उमेशले १४ मत पाएका थिए । पारस प्यानलसहित विजयी भएका हुन् ।
काठमाडौंमा नयाँ खेलाडी निस्कने विश्वास
प्रमुख साहले पारससँगै ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटापछि काठमाडौं महानगरबाट राष्ट्रियस्तरको खेलाडी ननिस्किएको बताएका छन् । उनले खेल्ने वातावरण नहुँदा खेलाडी उत्पादन नभएको बताएका छन् । ‘पारस खड्का, ज्ञानेन्द्र, पृथुपछि काठमाडौंबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने अर्काे खेलाडी नै निस्किएन । कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो,’ साहले भने, ‘स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यहीअनुरूप हामीले प्रादेशिक क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौँ,’ बालेनले भनेका छन् । उनले अन्तर्राष्ट्रियस्तरमा सम्भावित प्रतिनिधिको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने बताएका छन् । कार्यक्रममार्फत युवालाई अनुशासन, टिमवर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने प्रतिभावान् क्रिकेट प्रतिभाको संख्या बढाई, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सम्भावित प्रतिनिधिको पहिचान गरी क्षमता अभिवृद्धि गर्नेछ ।
२४ खेलाडी प्रशिक्षणमा
एसिसी पुरुष यु–१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । १२ देखि २४ अक्टोबरमा मलेसियामा हुने प्रतियोगिताका लागि क्यानले शुक्रबार २४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । प्रिमियर कपमा १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोलीले पाकिस्तानमा हुने एसिसी यू–१९ एसिया कप २०२३ मा स्थान बनाउनेछन् । नेपाली टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापामगर, दिपेश कँडेल, हेमन्त धामी, दीपक बोहोरा, दीपक डुम्ब्रे, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहोरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौड्याल, अभिनाश तिवारी, नरेन भट्ट र नीरज यादव छन् ।
प्रिमियर कपका सबै खेलहरू ५० ओभरका हुनेछन् । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । नेपाल सम्मिलित समूहमा बहराइन, साउदी अरबिया र इरान छन् । नेपालले १२ अक्टोबरमा इरानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । १५ अक्टोबरमा बहराइन र १८ अक्टोबरमा साउदी अरबियासँग खेल्ने तालिका छ ।