हालै समापन भएको जी–२० शिखर सम्मेलनमा राजकीय रात्रिभोजको निमन्त्रणा ‘इन्डिया’का राष्ट्रपतिबाट नआई अस्वाभाविक ढंगले ‘भारत’का राष्ट्रपतिबाट आएको थियो (स्मरण रहोस् भारतलाई अंग्रेजीमा इन्डिया भनेर जनाइन्छ र यसअघि भारतले आयोजना गर्ने राजकीय भोजको अंग्रेजी भाषामा दिइने निमन्त्रणामा इन्डिया लेखिन्थ्यो) । यो निमन्त्रणापछि राष्ट्रिय र अन्तर्राष्ट्रिय टिप्पणीकारले मुलुकको नाम परिवर्तन गरिने आकलन गरेका छन् । केही टिप्पणीकारले सन् ०२४ मा हुने आमनिर्वाचनका लागि बनेको विपक्षी गठबन्धनले आफ्नो संक्षिप्त नाम ‘इन्डिया’ बनाएकाले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विचलित भएको बताएका छन् । सामाजिक सञ्जालमा नाम परिवर्तनलाई लिएर गम्भीर बहस र ठट्टा चलिरहेको छ ।
भाजपा सांसदमाझ मुलुकको नाम फेर्ने पक्षमा मत बढ्दो छ, किनभने यिनका लागि मुलुकलाई अंग्रेजीमा सम्बोधन गर्दा प्रयोग हुने ‘इन्डिया’ शब्दले ‘औपनिवेशिक दासत्व’ झल्काउँछ । यसअघि सन् ०१६ र ०२० मा अदालतसामु मुलुकको नाम परिवर्तन गर्नेबारे याचिका दायर नभएका होइनन्, तर सर्वोच्च अदालतले दुवै याचिका खारेज गरेको थियो । जी–२० निमन्त्रणाको केही दिनअघि भाजपाको वैचारिक अभिभावक एवं अर्धसैन्य दक्षिणपन्थी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का अध्यक्ष मोहन भागवतले खुलेरै इन्डियाको सट्टा ‘भारत’ शब्द प्रयोग गर्न आग्रह गरेका थिए । भारत नाम ‘बाहिरका कसैले बुझून् वा नबुझून्, त्यो हाम्रो चिन्ताको विषय होइन । यदि बाहिरकालाई बुझ्न अप्ठ्यारो हुन्छ भने त्यो तिनको समस्या हो । विश्वलाई हामी चाहिएको छ न कि हामीलाई विश्व’ भागवतले भनेका थिए ।
संवैधानिक परिवर्तन : अहिले मुलुकको नाम परिवर्तन हुने आकलन भइरहँदा मुलुकको नाम के हुने हो भन्नेबारे सन् १९४९ मै संविधानसभामा भएको बहसलाई पुनः ब्युँताइएको छ । भारतको नाम र भूभाग सम्बन्धित भारतको संविधानको धारा १ मा ‘इन्डिया अर्थात् भारत’ (औपचारिक हिन्दी अनुवादमा ‘भारत, अर्थात् इन्डिया’) लेखिएको छ । त्यसयता भारत र इन्डियालाई पर्यायका रूपमा प्रयोग गरिन्छ । तसर्थ, मुलुकको नाम परिवर्तन गर्नुको अर्थ भनेको संविधान संशोधन गरेर ‘इन्डिया’ शब्द हटाउनु हो ।
दैनन्दिनका आवश्यकता र सुरक्षा खोजिरहेका आमजनताका लागि मुलुकको नाम परिवर्तन कथित महान् इतिहास ब्युँताउने झुटो वाचा मात्रै हो
त्यसैगरी १८ देखि २२ सेप्टेम्बरमा संसद्को विशेष सत्र बोलाइएको छ र यसले नाम परिवर्तन हुने अनुमानलाई थप बलियो बनाएको छ । तर, मुलुकको नाम एकैपटक औपचारिक रूपमै परिवर्तन हुने सम्भावना कम देखिन्छ । दक्षिणपन्थी हिन्दू राष्ट्रवादी भारतमा हुने अन्य परिवर्तनमा झैँ मुलुकको नाम परिवर्तनका पछाडि सामाजिक सामान्यीकरणको प्रक्रिया अवलम्बन हुन सक्छ । उदाहरणका लागि अप्रिल ०२३ मा मुसलमान जोडिने १६औँ देखि १९औँ शताब्दीसम्म मुगल साम्राज्यलाई पाठ्यपुस्तकबाट औपचारिक रूपमा हटाउन सन् २०१६ देखि नै अनौपचारिक सामाजिक सामान्यीकरण थालिएको थियो । सामाजिक सञ्जालमा सन् २०१६ मा ‘डिलिट मुगल फ्रम हिस्ट्री’ (इतिहासबाट मुगललाई नामेट पार) भन्ने ह्यासट्याग चलेको थियो । यस अर्थमा राजकीय रात्रिभोजको निमन्त्रणा सामान्यीकरणको एक प्रक्रिया हो ।
हिन्दू दक्षिणपन्थको उदय : नाम परिवर्तनका पक्षधर भारत एक मौलिक शब्द भएको र यसको साइनो उपनिवेशविरोधी इतिहाससँग जोडिएको तर्क गर्छन् । उदाहरणका लागि ‘भारत माताकी जय’ भन्ने नारालाई लिन सकिन्छ । तर, नाम परिवर्तनका पछाडि छुटाउन नहुने अन्य राजनीतिक एवं वैचारिक कारण मौजुद छन् ।
भारतको दक्षिणपन्थको मेरुदण्डका रूपमा चिनिने आरएसएसले लामो समयदेखि हिन्दू राष्ट्रको परिकल्पना गर्दै आएको छ । चुनावी राजनीतिभन्दा बाहिर रहने यो संगठनले पैरवी गर्ने रूपान्तरणमा गैरहिन्दूको अन्यकरणको अवधारणा महत्वपूर्ण रूपमा झल्किन्छ । यो अन्यकरणको अवधारणाले मुसलमान, इसाई, गैरब्राह्मण, धर्म निरपेक्षतावादी, नास्तिक, आलोचकलगायतलाई तारो बनाउँदै आएको छ । यस अर्थमा इन्डियालाई भारत मात्रै बनाउनु उपनिवेशविरोधी कदम होइन । वास्तवमा यो सब भारत र इन्डियालाई परस्परविरोधी शब्द बनाउने चाल हो, जहाँ आफूलाई ‘इन्डियन’ भनेर चिनाउने व्यक्ति राजनीतिक रूपमा ‘आदर्श’ हिन्दू अथवा हिन्दूकरण गरिएको ‘भारतीय’ नागरिकको तुलनामा ‘अन्य’ बन्नेछ ।
सन् ०१७ मा भारतको बढ्दो दक्षिणपन्थको अध्ययन गर्दा मैले भारतीय दक्षिणपन्थीले विभिन्न द्वैततालाई रणनीतिक रूपमा परस्परविरोधी बनाएर लाभ उठाउने गरेको पाएको थिएँ । यस्तै द्वैततामध्ये इन्डियाविरुद्ध भारत पनि पर्छ । आरएसएस र भाजपाले रुचाउने दक्षिणपन्थी हिन्दू विचार अर्थात् हिन्दूत्वमा भारतले इन्डिया नाम गरेको मुलुकलाई मात्रै प्रतिनिधित्व नगरी यसले शुद्ध हिन्दू नैतिकताको पनि पैरवी गर्छ । भारतका दक्षिणपन्थी भारत र इन्डियामा बसोवास गर्ने मानिसबीच फाटो ल्याउन उद्यत् छन् । यसको झल्को ब्रेक्जिट गर्दा ब्रेक्जिटमा युरोपियन युनियन (छोड्न नहुने) र (छोड्न हुने) बेलायतको निर्माणले पनि देखाउँछ । वास्तवमा शब्दको अर्थ नै फेर्ने गरी हुने विभाजनको यस्तो राजनीतिले दीर्घकालीन असर निम्त्याउँछ ।
अहिले भारतमा भारत र इन्डिया शब्द एक निश्चित राजनीतिक प्रयोजनका लागि निर्माण गरिँदै छ । आरएसएसका प्रमुख भागवतले सन् २०१३ मा ‘बलात्कार भारतमा हुँदैनन्, इन्डियामा हुन्छन्’ भनेका थिए । राजनीति प्रेरित विचारधाराका मामिलामा तथ्यको अवमूल्यन हुने गर्छ । आजको भारतमा हामी विचलनको राजनीति देख्छौँ, जहाँ नागरिकको समान अधिकार एवं स्वतन्त्रता, प्रतिस्पर्धात्मक राजनीति एवं विधिको शासनको कार्यान्वयनका सन्दर्भमा वर्तमान कमजोरीबाट ध्यान हटाई दक्षिणपन्थी शक्तिले आदर्श विगतको पुनप्र्राप्तिमा जोड दिन्छन् । दैनन्दिनका आवश्यकता र सुरक्षा खोजिरहेका आमजनताका लागि मुलुकको नाम परिवर्तन भनेको तथाकथित महान् इतिहास ब्युँताउने झुटो वाचा मात्रै हो ।
(कौल सेन्टर फर द स्टडी अफ डेमोक्रेसीकी निर्देशक एवं वेस्टमिन्स्टर विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट