आन्तरिक परीक्षणमा ‘नेप्से ३०’ परिसूचक

शनिबार, २३ भदौ, २०८०
डिजिटल संस्करण

सञ्चालक समितिबाट कार्यविधि पारित हुन बाँकी

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सेयर कारोबारको नयाँ सूचकांक ‘नेप्से ३०’ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि आवश्यक प्राविधिक तथा नीतिगत तयारी पूरा भइसके पनि सञ्चालक समितिले कार्यविधि पारित गर्न भने बाँकी छ । 

यसका लागि तयार गरिएको कार्यविधि स्वीकृतिका लागि नेप्सेको सञ्चालक समितिमा पेस भइसकेको छ । सम्भवतः अब बस्ने बैठकले त्यसलाई स्वीकृत गर्नेछ । त्यसपछि ‘नेप्से ३०’ इन्डेक्सको कारोबार सुरु हुनेछ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले यससम्बन्धी कार्यविधि सञ्चालक समितिमा पुगेको बताए । ‘सञ्चालक समिति अब छिट्टै बस्दै छ । सोही बैठकमा यो कार्यविधिबारे छलफल हुनेछ,’ उनले भने, ‘सञ्चालक समितिले स्वीकृत गरेपछि ‘नेप्से ३०’ इन्डेक्स सञ्चालनमा आउनेछ ।’

यसका लागि नेप्सेले प्राविधिक तयारी पनि पूरा गरिसकेको छ । ‘नेप्से ३०’ इन्डेक्स सञ्चालनका लागि आवश्यक पर्ने सर्भर (आइटी प्रणाली)समेत तयार गरिएको छ । गत साउन ९ गतेबाट नै यसको आन्तरिक परीक्षण भइरहेको छ । केही नमुना कम्पनी छनोट गरेर यसको आन्तरिक परीक्षण भइरहेको हो । आन्तरिक परीक्षणले ‘नेप्से ३०’ इन्डेक्स सञ्चालन सम्भव पनि देखाएको छ । अब सञ्चालक समितिले कार्यविधि स्वीकृत गरेको अवस्थामा तत्काल यो इन्डेक्स सञ्चालन गर्न सकिने नेप्सेको भनाइ छ । सम्भवतः अब एक महिनामा यो सञ्चालनमा आउने नेप्सेले बताएको छ ।

के हो ‘नेप्से ३०’ सूचकांक ?
‘नेप्से ३०’ फ्री फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने एक सूचक हो । यसमा नेप्सेले सबै सूचीकृत कम्पनीमध्येबाट तोकिने मापदण्ड पूरा हुने उत्कृष्ट ३० कम्पनीलाई यसमा समावेश गर्नेछ । हाल नेप्सेमा सेन्सिटिभ, सबसेन्सिटिभ, समूहगत गरेर १७ वटा इन्डेक्स रहेका छन् । यो थपिएपछि १८ वटा इन्डेक्स हुनेछन् । यद्यपि, यस इन्डेक्सको पनि छुट्टै सेयर कारोबार भने नहुने प्रस्ताव गरिएको छ । मुख्य इन्डेक्समा हुने कारोबारकै आधारमा यो इन्डेक्सको गणना गरिनेछ । अहिले सर्वसाधारणले ‘नेप्से ३०’ इन्डेक्सबारे विस्तृतमा बुझिसकेका छैनन् । सर्वसाधारणले यसबारे राम्रोसँग बुझेपछि मात्र यसको छुट्टै कारोबार गराउने नेप्सेको योजना छ । 

यस्तो छ ‘नेप्से ३०’ मा सहभागी हुने मापदण्ड 
बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत्, उत्पादनमूलक र व्यापार तथा सेवा गरी ६ क्षेत्रका कम्पनीलाई यसमा समावेश गरिनेछ । त्यसमा एउटा क्षेत्रबाट अनिवार्य रूपमा न्यूनतम एक र अधिकतम आठवटा कम्पनी समावेश गरिनेछ । नेप्सेले तोकेको मापदण्डबाट यसका लागि उत्कृष्ट ३० कम्पनी छनोट गरिनेछ ।  

यसका लागि कम्पनीको प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी हुनुपर्ने मापदण्ड तोकिएको छ । साथै, पछिल्लो पाँच आवमध्ये तीन आवमा कम्पनी खुद नाफामा गएको हुनुपर्नेछ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी चुक्ता पुँजीको न्यूनतम १० प्रतिशत हुनुपर्नेछ । साथै, प्रतिसेयर आम्दानी सोही वर्षको मुद्रास्फीति दरभन्दा बढी हुनुपर्ने सर्त पनि तोकिएको छ । कम्पनीहरूले कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको वा फ्री फ्लोट पुँजीकरण १ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने बताइएको छ । साथै, कम्पनीको सेयरधनी संख्या कम्तीमा २० हजार भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । 

त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत न्यूनतम २५ लाख रुपैयाँको कारोबार भएको हुनपर्नेछ । साथै, पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम पाँच हजार कित्ताको सेयर कारोबार हुनुपर्नेछ । यसैगरी पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम ४० पटक कारोबार भएको हुनुपर्नेछ । 

त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा भएका कारोबार दिनहरूमध्ये ७५ प्रतिशतभन्दा बढी दिनहरूमा कारोबार भएको हुनुपर्ने उल्लेख गरिएको छ । यसरी छनोट हुने कम्पनीलाई ‘नेप्से ३०’ इन्डेक्समा छनोट गरिनेछ । 

यसरी गरिनेछ ‘नेप्से ३०’ इन्डेक्सको गणना 
यो इन्डेक्स गणनाका लागि पहिला छनोट भएर कम्पनीहरूको प्रारम्भिक सूची तयार गरिनेछ । त्यसपछि उनीहरूको फ्री फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरेर कुल भार गणना गरिनेछ । 

साथै, नेप्सेमा सूचीकृत कम्पनीलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत् उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरिनेछ । बढी भार अंकका आधारमा प्रत्येक समूहमा बढीमा आठवटा कम्पनी छनोट गरिनेछ । कुनै समूहमा आठभन्दा कम कम्पनी भएमा सबैलाई यसमा राखिनेछ । छनोट हुने कम्पनी ३० भन्दा बढी भएमा कम भार भएका कम्पनीलाई हटाइनेछ । यसरी कम्पनी हटाउँदा प्रत्येक समूहमा कम्तीमा एक कम्पनी भने कायम गर्नुपर्नेछ । 

छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनोट नहुने गरी सूचीकृत सबै कम्पनीको कुल भार गणना गरिनेछ । त्यसपछि उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याइनेछ । छनोट भएका कम्पनीहरूको फ्री फ्लोट (कारोबारयोग्य) सेयरको हालको बजारको पुुँजीकरणलाई आधार बजार पुँजीकरणले भाग गरी १००० ले गुणा गरेर इन्डेक्स निकालिनेछ ।  

किन ल्याइँदै छ ‘नेप्से ३०’ ?
दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरूको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले नेप्से ३० ल्याउन लागेको बताइएको छ । यसमा तत्काल कारोबारयोग्य सेयरहरूलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकका रूपमा नेप्से ३० इन्डेक्स लागू गरिनेछ । यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापनलगायतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  साथै, यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जाने नेप्सेको भनाइ छ ।

See More On

सुझावित समाचार