संघीय समाजवादी मोर्चाले कोशी प्रदेशको राजधानी विराटनगरमा चार हजार अगुवा कार्यकर्ता सहभागी गराएर सन्देश सभा आयोजना गर्ने तयारी थालेको छ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूहआबद्ध समाजवादी मोर्चाले विराटनगरमा २५ भदौमा सन्देश सभा गर्दै छ। मोर्चाले चार हजार अगुवा कार्यकर्ता सहभागी गराएर सन्देश सभा आयोजना गर्ने तयारी थालेको हो।
विराटनगरको बरगाछीस्थित होटेल मनास्लुमा आयोजना हुने उक्त सभालाई मोर्चामा आबद्ध चारवटै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा कोशी प्रदेश अध्यक्ष दीपक याक्खाले बताए।
अध्यक्ष याक्खाका अनुसार कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधन गर्नेछन्।